Logo

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया रोक्न अख्तियारमा उजुरी, भ्रष्टाचार भएको आरोप

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया रोक्न अख्तियारमा उजुरी, भ्रष्टाचार भएको आरोप



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया अघिबढेसँगै त्यसलाई रोक्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बोर्ड अध्यक्ष नियुक्तिमा ठूलो रकमको चलखेल भएको र समिति बनाउँदा योग्यता नपुगेको व्यक्तिलाई सदस्य बनाएको भन्दै सो विषयमा छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको हो ।

‘नेपाल सरकारले बोर्डमा ध्यक्ष नियुक्तीका लागि गठन गरेको छनौट समितिमा योग्यता नपुगेका व्यक्तिलाई व्यवसायीक स्वार्थसहित समावेश गरिएको छ भने विज्ञ सदस्यका रुपमा बोर्ड अध्यक्ष नियुक्ती सम्बधी छनोट समितिमा रहेका उदय निरौलाको विज्ञता र क्षमतामै गम्भिर प्रश्न छन्,’ भ्रष्टाचार विरोधी र सुशासनका पक्षमा उभिएको एक नेपाली नागरिकको नाममा अख्तियारमा दर्ता भएको उजुरीमा भनिएको छ, ‘उनी सामान्य सेयर कारोबारी मात्रै हुन् उनको प्रत्यक्ष सम्बन्ध विद्यमान स्टक एक्सचेन्जका लागि आवेदन दिएको समुहसँग रहेको देखिन्छ भने उनको क्षमता र योग्यता माथि नै गम्भिर प्रश्न चिन्ह खडा गरेको छ ।’

साथै बोर्ड अध्यक्ष नियुक्ती या स्टक एक्चेन्जको लाइसेन्स प्रकरणमा ५ अर्ब रुपैयाँको भ्रष्टाचार हुन लागेको समेत उक्त निवेदनमा उल्लेख छ । अहिले नयाँ स्टक एक्सचेन्जका लागि पनि प्रतिकित्ता ५ सय रुपैयासम्म गैर कानूनी रुपमा सेयर कारोबार भैरहेको भन्दै सो विषयमा समेत छानविन गर्न माग गरिएको छ ।

अहिले अन्तिम ५ को सूचिमा परेका कुनै न कुनै हिसावले अयोग्य र स्वार्थ समुहसँग जोडिएको आएको समेत उक्त पत्रमा उल्लेख छ । अध्यक्षको दौडमा रहेका सन्तोष नारायण श्रेष्ठ दीपक भट्टको साझेदार रहेको र उनको शैक्षिक योग्यता र बोर्ड अध्यक्ष बन्न आवश्यक पर्ने अनुभवकै पनि अभाव रहेको उक्त निवेदनमा उल्लेख छ ।

यसैगरी डा. नवराज अधिकारीले आफुलाई प्रधानमन्त्रीको आफन्तका रुपमा चिनाउँदै अध्यक्ष बन्न बार्गेनिङ गरिरहेका छन् भने अर्का प्रतिस्पर्धी मुक्तिनाथ श्रेष्ठमाथि तत्कालिन अध्यक्ष रमेश हमालसँग मिलेर प्रिमियमका आईपीओहरुमा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले नै छानविन गरिरहेको छ ।

‘तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई आफै लाइसेन्स वितरणको मामिलामा माहिर मानिन्छन् । उनले तत्कालिन बीमा समितिमा अध्यक्ष रहँदा जीवन र निर्जीवन गरि झण्डै एक दर्जन कम्पनीलाई लाइसेन्स बाडेर नीतिगत भ्रष्टाचार गरेका थिए भने कोरोना बीमा पोलिसी अघि सारेर बीमा बजार विगार्ने व्यक्तिमा उनी पर्छन्,’ उक्त निवेदनमा भनिएको छ, ‘कृष्ण बहादूर कार्कीको नेतृत्व क्षमतामै प्रश्न छ, हाल नेपाल स्टक एक्सचेञ्जको सीईओ रहेका उनले त्यहाँ कुनै सुधारको प्रयास गरेका छैनन् ।’

साथै अहिलेको भ्रष्टाचार काण्डबाट देशलाई जोगाई ६३ लाख लगानीकर्ताको साढे ३३ खर्ब रुपैयाँ सम्पतिको सुरक्षाका लागि पनि अख्तियारले तत्कालै अग्रसरता लिएर अहिलेका सम्पूर्ण प्रक्रियाहरु रोकि अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्