Logo

नयाँ वर्षमा पनि सेयर बजार पुरानै प्रवृत्तिमा : घट्ने क्रम जारी, कारोबार रकम पनि खुम्चियो

नयाँ वर्षमा पनि सेयर बजार पुरानै प्रवृत्तिमा : घट्ने क्रम जारी, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार दिन वैशाख २ गते, आइतबार सेयर बजार घटेको छ । गत वर्ष भरि बियरिस ट्रेनमा नै रहेको सेयर बजारमा यस वर्षको सुरुवाती दिनमा पनि बियरिस ट्रेन कै प्रवृत्ति देखिएको हो ।

laxmi

वैशाख २ गते सेयर बजार मापक नेप्से सूचक २.३५ अंकले घटेर २०२३.३५ बिन्दुमा आइपुगेको छ । यस अधिको कारोबार दिन सेयर बजार १० अंकभनदा धेरैले घटेको थियो । यसैगरी, २०८० सालको अन्तिम कारोबारको तुलनमा आज कारोबार रकम पनि घटेको छ ।

वैशाख २ गते ३ अर्ब ६ करोेड ३७ लाख ७२ हजार रुपैयाँको मात्र कारोबार भएको छ । चैत २८ गते ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । चैतका केहि दिनहरुमा सेयर कारोबार रकम ४ अर्ब माथिसम्म पनि पुगेको थियो । तर, पछिल्लो केहि दिन यता कारोबार रकममा पनि दैनिक जसो गिरावट आएको छ ।

आइतबार कारोबारमा आएको ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस दिन श्रीजनशील लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, आज एनआईसी एशिया लघुवित्त, दोल्ती पावर र राप्ती हाइड्रो एण्ड जनसल कन्स्ट्रक्सनको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २१ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज पोखरा फाइनान्सको ११ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम १० करोड नाघेको छ । आज कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ ।

यस दिन लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा १.९१ प्रतिशत बढेको छ । यसैगरी, वित्त उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको छ । कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०३ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL