Logo

लगानीकर्ताको विश्वास गुम्दा ओरालो यात्रामा सेयर बजार, सेलिङ प्रेसर थेग्न नसक्दा ६ अंकले घट्यो नेप्से

लगानीकर्ताको विश्वास गुम्दा ओरालो यात्रामा सेयर बजार, सेलिङ प्रेसर थेग्न नसक्दा ६ अंकले घट्यो नेप्से



काठमाडौं । सेयर बजार प्रति लगानीकर्ताको विश्वास गुम्दा नेप्से सूचक ओरालो यात्रामा देखिएको छ । तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य घटेर बन्द भएको छ । यस अघिका केहि कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार भने केहि बढेको थियो । मंगलबार सेलिङ प्रेसर थेग्न नसक्दा सेयर बजार मापक नेप्से सूचक ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा झरेको छ । सोमबार सेयर बजार ३ अंकले बढेको थियो ।

laxmi

नयाँ सरकार गठन भएर विश्वासको मत पाएसँगै सेयर बजार निरन्तर रुपमा घटेको छ । सरकारले विश्वासको मत पाएर पुँजी बजारका साथै समग्र अर्थतन्त्रको सुधारका लागि दिगोरुपमा काम गर्ने अवसर पाएपनि अर्थमन्त्री पुन र सरकारप्रति भने लगानीकर्ताको अविश्वास बढ्दो रहेको कारण सेयर बजार घटेको सम्बद्ध जानकारहरु बताउँछन । अहिले अर्थमन्त्रीले हरेक कार्यक्रममा सेयर बजार सुधारका विषय बोलेका छन् तर, व्यवहारमा कुन बेला के हुने हो भन्ने त्रासका कारण लगानीकर्ताहरु ढुक्क भएर बजार प्रवेश गर्न सक्ने अवस्था छैन ।

अहिले बजारमा पर्याप्त मात्रमा तरलता रहेको छ । बैंकहरुले सेयर धितोमा दिने कर्जाको ब्याजदर पनि घट्दो अवस्था रहेको छ । सो कारण पनि बजार बढ्ने सम्भावना छ । तर, राजनीतिकमा देखिएको खटपटको कारण सेयर बजार उकालो जान नसकेको सम्बद्ध जानकारहरुको बुझाई छ । सरकारले विश्वासको मत पाएसँगै नेप्से परिसुचक ५ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको हो ।

पछिल्लो समयको नेप्से परिसुचकको घटाईले लगानीकर्ताले सरकारको कार्यशैली र अर्थमन्त्री पुनको बोलीप्रति विश्वास नगरेको सम्बद्ध जानकारहरु बताउँछन् । मंगलबार ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज ३०७ कम्पनीको ९४ हजार ७८ लाख ९३३ कित्ता सेयर ६३ हजार ८०१ पटक किनबेच भएको छ । कारोबारमा आएको ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी, कारोबारमा आएको १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने, १२८ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.१० प्रतिशत बढेको हो । आज लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.३८ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज दिन सोनापुर मिनरल्स एण्ड आयलको करिब १९ करोडको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको करिब १६ करोडको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL