Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार ३ अर्ब ७७ कराेडमा सीमित

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार ३ अर्ब ७७ कराेडमा सीमित



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक २७.२१ अंकले घटेर २०३४.८२ बिन्दुमा झरेको छ । आइतबार नेप्से सूचक १.३१ प्रतिशतले घटेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार १४.४६ अंकले घटेको थियो ।

laxmi

आइतबार गत बिहीबारको तुलनामा सेयर कारोबार रकम पनि घटेको छ । आइतबार ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत बिहीबार ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । गत बिहीबारको तुलनमा आइतबार ९ करोड रुपैयाँले सेयर कारोबार रकम घटेको हो ।

आज ३ सय १५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर ९७ हजार १०५ पटक किनबेच भएको छ । कारोबारमा आएको २१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने, बाँकी २ सय २५ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन दुई कम्पनीको सेयर कारोबार यथावत रहेको छ । कारोबारमा आएको दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज बोटलर्स नेपाल (बालाजु) कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको हो ।

त्यसैगरी, यस दिन किसान लघुवित्तको सेयरमूल्य ८.२२ प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावरको शेयरमूल्य ६.६५ प्रतिशत बढेको छ। कारोबारमा आएको सामलिङ्ग पावर कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ८.२१ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि–इन्स्योरेन्स नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४० करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन एनआईसी एशिया बैंकको साढे १३ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने जोशी हाइड्रोपावरको कारोबार रकम १० करोड नाघेको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.७० प्रतिशत घटेको छ । त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL