Logo

औद्योगिक क्षेत्रमा जाने कर्जा सुस्ताउँदा सेयर धितो कर्जा बढ्यो, १ करोड माथि लिने धेरै

औद्योगिक क्षेत्रमा जाने कर्जा सुस्ताउँदा सेयर धितो कर्जा बढ्यो, १ करोड माथि लिने धेरै



काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याका कारण औद्योगिकलगायत अन्य क्षेत्रमा जाने कर्जा बढ्न नसक्दा सेयर धितो (मार्जिन) कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांक अनुसार सेयर धितो कर्जा ६.४ प्रतिशतले बढेको हो ।

laxmi

गत आर्थिक वर्षबाट सुस्ताएको कर्जा लगानी अन्य क्षेत्रमा अहिले पनि बढ्न सकेको छैन । कर्जा लगानी नबढ्दा बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले हप्ता ४ पटकसम्म निक्षेप प्रशोचन गरिरहेको छ । तर, यस अवधीमा सेयर धितोमा जाने कर्जा भने बढेको देखिन्छ ।

मंसिर महिनासम्म सेयर धितो राखेर लगानीकर्ताले ८१ अर्ब १९ करोड रुपैयाँ कर्जा लिएका छन । गत असार मसान्तसम्म यस्तो कर्जा ७६ अर्ब ३० करोड ८० लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षसम्म सेयर धितो राखेर कर्जा लिने लगानीकर्ताको संख्या पनि बढ्न सकेको थिएन । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा वितरण सहजीकरण गर्याे । जसका कारण सेयर धितोमा जाने कर्जा बढेको सम्बद्ध जानकारहरु बताउँछन ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा १ करोड रुपैयाँभन्दा माथिको सेयर धितोकर्जा ७ प्रतिशतले बढेको छ । असार मसान्तसम्म ४४ अर्ब ७१ करोड ६० लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा लगानी भएकोमा मंसिर मसान्तसम्म आउँदा बढेर ४७ अर्ब ८४ करोड ५० लाख रुपैयाँको हाराहारीमा पुगेको छ ।

यसैगरी, १ करोडभन्दा कम ५० लाख भन्दा माथिको सेयर धितो कर्जा मंसिर मसान्तसम्म ११ अर्ब ८४ करोड ५० लाख रुपैयाँको हाराहारीमा पुगेको छ । असार मसान्तको तुलनामा यस्तो कर्जा ०.६ प्रतिशतले मात्र बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत असार मसान्तसम्म यस्तो कर्जा ११ अर्ब ७७ करोढ ४० लाख रुपैयाँ बराबर लगानी भएको थियो ।

यसैगरी, २५ लाख देखी ५० लाखसम्मको सेयर धितो कर्जा गत असार मसान्तको तुलनामा ९.६ प्रतिशत बढेको छ । मंसिर मसान्तसम्म यस्तो कर्जा १४ अर्ब १ करोड रुपैयाँ लगानी भएको छ । गत असार मसान्तसम्म यस्तो कर्जा १२ अर्ब ७८ करोड १० लाख रुपैयाँ बराबर रहेको थियो ।

यसैगरी, यस अवधिमा २५ लाखभन्दा कमको सेयर धितो कर्जा ७ अर्ब ४८ करोड ९० लाख रुपैयाँ लगानी भएको छ । यस्तो कर्जा गत असार मसान्तको तुलनमा ६.४ प्रतिशतले बढेको हो । गत असार मसान्तसम्म यस्तो कर्जा ७ अर्ब ३ करोड ५० लाख रुपैयाँ बराबरको लगानी भएको थियो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ५० लाखसम्मको सेयर धितो कर्जामा जोखिमभार १ सय प्रतिशतमात्र गरिएको थियो । मौद्रिक नीति अगाडी ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिमभार क्षमता १ सय ५० प्रतिशत रहेको थियो । जोखिमभार घटेपछि सेयर धितो राखेर कर्जा लिने लगानी कर्ताको संख्या बढेको हो ।

यसैगरी, राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० करोड पुर्याइएको थियो । जसको कारण सेयर धितो कर्जा बढेको लगानीकर्ताको बुझाई छ ।

यसैगरी, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा पनि राष्ट्र बैंकले ५० लाखमाथिको सेयर धितो कर्जामा पनि केही सहज नीति लिइएको छ । जसको कारण ५० लाख देखि १ करोडसम्म सेयर धितो कर्ता लिनेको संख्यामा वृद्धि भएको छ समीक्षामार्फत ५० लाखभन्दा बढीको कर्जाको जोखिमभार १५० बाट घटाएर १२५ प्रतिशतमा झारिएको हो ।

मौद्रिक नीतिको व्यवस्था पछि सेयर धितोमा कर्जा बढेको भएता पनि घरजग्गामा जाने कर्जा भने घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पाँच महिनामा घरजग्गा कारोबारमा जाने कर्जा २.१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL