Logo

कार्तिकभित्र ग्यासको कोटा परिमार्जन गर्ने सहमती

कार्तिकभित्र ग्यासको कोटा परिमार्जन गर्ने सहमती



चाडपर्वलाई अधिकतम आयात गर्ने निगमको प्रतिवद्धता

काठमाडौं । आगामी कार्तिक मसान्तभित्र एलपी ग्यास आयातको कोटा परिमार्जन गर्न नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघ सहमत भएका छन् । निगम र संघबीच आईतवार भएको वार्तामा उनहरुले यस्तो प्रारम्भिक सहमती गरेका हुन् । यद्यपी, निर्णय भने भइनसकेको बताइएको छ ।

परिमार्जनका लागि एक अध्ययन समिति गठन गर्ने सहमती भएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बिजखबरलाई जानकारी दिनुभयो । ‘एउटा अध्ययन समिति बनाउने र त्यसले कार्तिक मसान्तभित्र ग्यास कोटा आयातको सिफारिस गर्ने विषयमा सहमती जुटेको छ’ उहाँले भन्नुभयो , ‘सोही समितिको सिफारिस बमोजिम कार्तिक मसान्तसम्ममा ग्यास आयातको कोटा परिमार्जन हुने छ ।’ समितिले कोटा बढाउने, घटाउने वा यथास्थितीमा राख्नका लागि सुझाव दिने छ । समितिमा वाणिज्य तथा आपूर्ती मन्त्रालय वा निगम सञ्चालक समितिबाट एक जना, निगमबाट एक जना र उद्योग संघबाट एक जना प्रतिनिधि रहने छ । यद्यपी, निर्णय भने भइनसकेको उहाँले स्पष्ट पार्नुभयो ।

संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने आइतवारको वार्तामा छलफल मात्रै भएको र कुनै निस्कर्ष ननिस्किएको बताउनु भयो । तर, सहज आपूर्तीको ग्यारेन्ट दिलाएमा समिति बनाएर अघि बढ्न सकिने उहाँले बताउनु भयो । ‘अहिलेसम्म कुनै निर्णय भइसकेको छैन’ उहाँले भन्नुभयो ‘उपभोक्ता हितका लागि सहज आपूर्ती हुने गरी ग्यासको आयात गर्ने प्रत्याभुति नदिएसम्म हाम्रो आन्दोलन रोकिदैन ।’ संघको एकमात्र माग भनेकै आवश्यकताअनुसार कोटा बढाउनु रहेको उहाँले स्पष्ट पार्नुभयो ।

निगम र संघबीच सोमवार पनि वार्ता हुने जानकारी दिइएको छ । सोमवार हुने वार्ताले समिति बनाउन तथा चाडपर्वको लागि अधिकतम आयात गर्न सहमतिको निर्णय गर्ने प्रवक्ता घिमिरेले बताउनु भयो । तर, अध्यक्ष घिमिरेले भने सोमवारको वार्तामा निगमले संघका माग पुरा गर्ने प्रत्याभुति नदिए आपूर्ती बन्द गर्नेलगायतका आन्दोलन गर्ने बताउनु भयो ।

हाल ग्यासको कोटा मासिक २२ हजार २ सय ७७ मेट्रिक टन रहेको छ । उक्त कोटा नेपालको खपतका लागि पर्याप्त भएको निगमले बताउँदै आएको छ । कहिलेकाही कोटाअनुसारको ग्यास समेत आयात नहुने गरेको निगमका अधिकारीहरु बताउँछन् । तर, संघले भने अहिले मागको ६० प्रतिशत मात्रै ग्यास आयात हुँदै आएको बताएको छ । निगमले काठमाडौंलाई हेरेर मात्रै ग्यास पार्यप्त भएको उल्लेख गरेपनि उपत्यका बाहीर भने अभाव नै रहेको संघले बताएको छ । अहिलेको कोटाले चाडपर्व तथा जाडो याममा ग्यास अभाव हुने संघको दाबी छ ।

– बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL