Logo

साढे ४ प्रतिशतसम्म घट्यो गाडीभाडा, कहाँ पुग्न कति ?

साढे ४ प्रतिशतसम्म घट्यो गाडीभाडा, कहाँ पुग्न कति ?



काठमाडौं । यातायात व्यवस्था विभागले लामो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडा घटाएको छ । विभागले डिजेलको मूल्य ५ प्रतिशतले बढेमा वा घटेमा गाडीभाडा पनि घटबढ हुने नीति अनुसार सार्वजनिक यातायातको भाडा ३.२० प्रतिशतदेखि ४.६५ प्रतिशतसम्म घटाएको हो ।

नेपाल आयल निगमले मंगलबार राती डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएर १ सय ५५ रुपैयाँ कायम गरेको थियो । भारतीय आयल निगमले नेपाल आयल निगममा घटेको पेट्रोलियम पदार्थको मूल्य पठाएसँगै नेपाल आयल निगमले पनि डिजेलको मूल्य घटाउँदा यसको असर सार्वजनिक यातायातको शुल्कमा परेको हो ।

यसअघि यातायात व्यवस्था विभागले गत बर्ष असारमा मात्रै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको थियो । त्यसबेला डिजेको मूल्य नेपालमा प्रतिलिटर १ सय ७२ रुपैयाँ थियो । त्यसयता हालसम्म डिजेलको मूल्य प्रतिलिटर १७ रुपैयाँ अर्थात ९.८८ प्रतिशतले घटेपछि सार्वजनिक सवारीसाधनको भाडाघर घटाईएको हो ।

यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायातको भाडा अब साविकको तुलनामा घटेको छ । जसमा यात्रुवाहक सवारीसाधनको भाडादर साविकको तुलनामा ३.२० प्रतिशतले घटाईएको छ । यता पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर ४.१९ र तराईको बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडादर ४.६५ प्रतिशतले समायोजन गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL