Logo

विकटमा महंगो गाडीभाडा, १५ किलोमिटरकै ५५० रूपैयाँ

विकटमा महंगो गाडीभाडा, १५ किलोमिटरकै ५५० रूपैयाँ



काठमाडौं । खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो ।

कालुखेतीबाट पैदल हिँड्दा साढे २ घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ । त्यो दूरीमा जीप व्यवसायीले भने ३ सय ५० रुपैयाँ असुल गर्दै आएका छन् । ‘सानोतिनो सामान ल्याउन तमैल बजार पुग्नैपर्छ’, उनले भने, ‘तमैल पुग्न बाटोमै झण्डै १ हजार रुपैयाँ सकिन्छ । हामीजस्तो सानो व्यवसायीलाई छोटो बाटोमै बढी खर्च भए पनि केको व्यवसाय गर्नु ?ल

खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाका कुलप्रसाद जोशी पनि सदरमुकामबाट घर जान भाडाकै चिन्ता लाग्ने बताउँछन् । ‘घरतिर हरेक हप्ता जानुपर्छ । बाटोमै धेरै खर्च हुन्छ । जीप सञ्चालकले मनोमानी तरिकाले गाडी भाडा लिन्छन् । प्रतिवाद कसैले गर्दैैनन् ।’ उनका अनुसार छान्नामा जीप सञ्चालक कम यात्रु भए नजाने तर क्षमताभन्दा बढी भए पनि थपिहाल्छन् । ‘कति दिन तमैल बजारमै थुप्रो जीप भएर पनि हिँडेर गइयो’, उनले भने, ‘जीप नभरिञ्जेल कुनै ठाउँबाट पनि हिँड्दैनन् तर जीप भरिए जुन ठाउँबाट चढे पनि १ सय रुपैयाँभन्दा तल लिँदैनन् ।’

खप्तडछान्नामा अघिल्लो सरकारको पालामा एक पटक मूल्य निर्धारण गरिएको थियो । ‘प्रतिकिलोमिटर १२ रुपैयाँ तोकेर तमैल–कालुखेती–गडराय–थामलेकको भाडा निर्धारण गरिएको थियो’, खप्तडछान्ना–५ का राजेश कार्कीले भने, ‘त्यो बेलामा कालुखेतीबाट १ सय २० रुपैयाँमै तमैल पुग्थ्यौँ । पछि सडक बिग्रेको, डिजेलको मूल्य बढेको भन्दै व्यापारीले मूल्य बढाइरहे । पालिकाले कुनै सुनुवाइ गरेन ।’

उनका अनुसार भाडाको विषयलाई लिएर पटकपटक कुरा उठ्दा पनि पालिकाले चासो दिएको छैन । ‘कालुखेतीबाट गडरायसम्म करिब ५ किलोमिटर दूरी छ । त्यसमा पनि व्यवसायीले २ सय रुपैयाँ असुल्दै आएका छन्,’ उनले भने । गडरायका ध्रुव रोकाया दसैँ बिदामा घर आएको बेला सम्झिँदै भन्छन्, ‘घर आएको बेला गाडी चालकसँग झगडा नै भयो । रुट पर्मिट पाएका सडकमा पनि तेब्बर भाडा लिएको भन्दै झगडा भयो । पछि ठूलो लफडा हुनसक्ने भन्दै बोलेनौँ ।’

उनी पनि पालिकाले भाडा यकिन गरी बढी पैसा असुल्ने जीप व्यवसायीलाई कारबाही गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘जीप व्यवसायीलाई जसले जति भाडा लिए पनि हुन्छ भन्ने भएको छ । १० मिनेटको बाटोमा गाडी चढे पनि १ सय रुपैयाँभन्दा बढी असुल्छन् ।’ यता जीप व्यवसायी हेमराज थापा जीप भाडा अलि बढी नै भएको स्वीकार्छन् । उनी भन्छन्, ‘जीपको भाडा अलि बढी नै हो तर सडकको अवस्थाअनुसार त्यो भाडा केही पनि होइनजस्तो लाग्छ ।’ सरकारले सडक अलि गतिलो बनाइदिएको भए भाडा निकै सस्तो हुने उनी बताउँछन् ।
‘गाडी भाडाको विषयमा हामी जीप व्यवसायी आफैँले सल्लाह गरेर एक मूल्य तोकेका हौँ । गाडी छान्नामा दुई÷तीन ठाउँमै खोलामा हाल्नुपर्छ । खोलामा हाल्दा हप्तामै ८ देखि १० हजार रुपैयाँको टायर फेर्नुपर्छ । त्यो हेर्न हो भने व्यवसायीलाई पनि निकै मर्का छ,’ उनले भने । थापाका अनुसार सरकारले सडक बलियो बनाइदिए जीप भाडा अन्य ठाउँको जस्तै हुन्थ्यो । ‘सबैले हामीलाई मात्रै दोष दिन्छन् । यहाँ हिउँदकै महिनामा पहिरो आएर सडक अवरुद्ध हुँदासमेत व्यवसायीले पहिरो पन्छाएर यात्रुको सुविधाका लागि जीप गुडाउनुपर्छ,’ उनले भने ।

अब नयाँ भाडा निर्धारण हुन्छ : पालिका

खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशी भने गाउँपालिकाले प्रतिकिलोमिटर २० रुपैयाँ लिने निर्णय गरेर प्रशासनलाई पठाएको बताउँछन् । ‘हामीले पालिकामा निर्णय गरेर नयाँ मूल्यदर प्रशासनलाई पठाएका छौँ । उताबाट पत्र आएको छैन । त्यसपछि जीप भाडामा एकरूपता हुन्छ,’ उनले भने ।

प्रवक्ता जोशीका अनुसार छान्नामा धेरै ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध हुने गरेको छ । ‘गत वर्षको बाढीले सडक पूरै तहसनहस गरेको हुँदा बाटो निकै अवरुद्ध हुने भएपछि जीप भाडा निर्धारण गर्न सकिएको थिएन । अब तुरुन्तै नयाँ भाडादर लागू हुन्छ ।’ सडकलाई दिगोरूपमा टिकाउन तथा बाह्रै महिना सञ्चालन गर्नका लागि पनि पालिकाले सबै निकायसँग छलफल गरिरहेको उनले बताए । अहिले छान्नामा मात्रै डेढ दर्जन जीप सञ्चालनमा छन् । गाडी भाडा बढी भएकै कारण व्यवसायीले जीप थप्दै गरेको स्थानीयको बुझाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL