Logo

बजारमा एक दिनपनि टिकेन स्वार्थ केन्द्रित लगानीकर्ताको खेल, अघिल्लो दिन ६ प्रतिशतले बढेको नेप्से भोलिपल्टै घट्यो

बजारमा एक दिनपनि टिकेन स्वार्थ केन्द्रित लगानीकर्ताको खेल, अघिल्लो दिन ६ प्रतिशतले बढेको नेप्से भोलिपल्टै घट्यो



काठमाडौं । मंगलबार साढे २ घण्टामै ६ प्रतिशतले बढेर सर्किट लाग्दै बन्द भएको बजार बुधबार नै घट्न पुगेको छ । अघिल्लो दिन छोटो समयमा ६ प्रतिशतले बढेको बजारमा भोलिपल्टै घट्नुले बजारमा सिमित स्वार्थकेन्द्रित लगानीकर्ताको खेल सुरु भएको सम्बद्ध लगानीकर्ताहरुले बताएका छन् । ‘यदि अब बजारले लय समातेको भए न हिजो त्यसरी छोटो समयमै ह्वात्तै बढ्थ्यो न त हिजो सर्किट लागेर बन्द भएको बजार आज यसरी घट्न पुग्दथ्यो,’ एक लगानीकर्ताले भने, ‘अहिले बजारमा सिमित स्वार्थ केन्द्रित लगानीकर्ताले आफुसँग भएको सेयर बिक्री गर्न मंगलबार छोटो समयमा बजार बढाएका थिए तर आज टिक्न सकेन ।’

laxmi

बुधबार दिनभर उच्च अंकको उतारचढाव आएको सेयर बजार अन्तमा ४ अंकले घट्न पुगेको छ । बुधबार पनि ६० अंकभन्दा बढीले उकालो लागेको नेप्से परिसुचकको वृद्धि अन्तिमसम्म टिक्न सकेन । हाल सेयर बजारमा डिम्याट खाता संख्यालाई देखाउँदै साढे ४७ लाख लगानीकर्ता भनिएपनि अझै सेयर बजार सिमित व्यक्तिको स्वार्थमा चल्ने गरेको अर्का एक लगानीकर्ताले जानकारी दिए । ‘अहिले राष्ट्र बैंकले ल्याएको अधिकतम १२ करोड रुपैयाँको सेयर धितो कर्जाको सीमाले गर्दा बजार घट्यो भनिरहेका छन,’ अर्का एक लगानीकर्ताले भने, ‘१२ करोड रुपैयाँभन्दा बढी कर्जा लिने लगानीकर्ता कति नै छन् र ? अहिले यहाँ डिम्याट खाताको आधारमा धेरै लगानीकर्ता देखाएर सिमित व्यक्तिले खेल्ने काम भइरहेको छ ।’

एक दिन पनि ६ प्रतिशतको वृद्धि टिक्न नसकेको बजारमा बुधबार बैंक, होटल, माईक्रोफाइनान्स, जीवन बीमालगायत समुहका परिसुचक घट्न पुगेका छन् । तर बुधबार नेप्से परिसुचक घटेपनि कारोबार रकम भने बढ्न पुगेको छ । दिनभर नेप्सेमा ४ अर्ब ५८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २२८ कम्पनीको ९८ लाख ७९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL