Logo

बैंकिङ क्षेत्रमा कर्जा प्रवाह बन्यो मुख्य चुनौती, अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकको भर

बैंकिङ क्षेत्रमा कर्जा प्रवाह बन्यो मुख्य चुनौती, अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकको भर



काठमाडौं । बैंकिङ क्षेत्रमा पछिल्लो समय कर्जा प्रवाह मुख्य चुनौतीका रुपमा देखिएको छ । विगत केही समयदेखि बैंकहरुले प्रवाह गर्ने कर्जाको गति सुस्त छ । कर्जा प्रवाहमा सुस्तता छाएसँगै वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ ।

यसैक्रममा दुई हप्ताअघि भएको जेनजी प्रदर्शन र सोबाट उत्पाँ परिस्थितिका कारण अधिक तरलताको समस्या झनै चुलिएको छ । योसँगै बैंक तथा वित्तीय संस्थाले एकै दिन राष्ट्र बैंकमा करिब साढे ५ अर्ब रुपैयाँ राखेका छन् ।

कर्जा लगानी नहुँदा बैंकहरुले राष्ट्र बैंकमा धमाधम पैसा राखिरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आइतबारमात्रै नेपाल राष्ट्र बैंकमा सवा ५ खर्ब ४९ अर्ब रुपैयाँ जम्मा गरेका छन् । जसमध्ये ५ खर्ब २९ अर्ब २५ स्थायी निक्षेप सुविधा (एसडीएफ) उपयोग गरेका छन् । त्यस्तै, निक्षेप संकलन उपकरणमार्फत २० अर्ब ४५ करोड राष्ट्र बैंकमा बुझाएका हुन् ।

वित्तीय प्रणालीमा पैसा धेरै भएपछि राष्ट्र बैंकले आइतबार निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट झिक्न चाहेको थियो । बैंक तथा वित्तीय संस्थाले २० अर्ब ४५ करोड रुपैयाँका लागि मात्रै आवेदन दिएका थिए । निक्षेप संकलन उपकरणको ब्याजदर घटेको कारण बैंकहरुले यस औजारको सट्टा एसडीएफमा रकम राखेका हुन् । आइतबार निक्षेप संकलन उपकरणको औसत ब्याजदर २.७५ प्रतिशत निर्धारण भएको छ ।

वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर निकै तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले केही दिनको अन्तरमा बजारबाट पैसा झिक्दै आइरहेको छ । एसडीएफमा लगानी गर्दा बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउने गरेका छन् । प्रणालीमा अधिक तरलताको अवस्था बढ्दै गएपछि बैंकहरुले पनि अल्पकालीन उपकरणहरुमा लगानी बढाउँदै लगेका छन् ।

पछिल्लो घटनाले केही समय कर्जा प्रवाहमा समस्या देखिएपनि विस्तारै अर्थतन्त्र चलायमान भएर कर्जा प्रवाह बढ्ने अपेक्षा बैंकिङ क्षेत्रको छ । ‘जेनजी प्रदर्शनको असर आगामी दिन पर्नसक्छ’ एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, ‘निजी क्षेत्रहरुले यसलाई तत्काल पुनः निर्माण गरेर अगाडि बढ्ने उद्घोष गर्नुभएको छ, यसले अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा छ ।’ ‘अर्थमन्त्रीमा अर्थतन्त्र बुझेका व्यक्ति आउनुभएको छ’ उनले भने, ‘उहाँले अर्थतन्त्रलाई चलायमान बनाउने नीति लिनुहुन्छ भन्ने अपेक्षा छ ।’

बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जाको अवस्था कस्तो ?

केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले ७३ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५६ खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७६.०४ प्रतिशत छ ।

आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग अझै बढ्न सकेको छैन । बैंकमा पैसा थुप्रिएपछि बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर समेत घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको आधारदर समेत घटेको छ । यसले कर्जाको ब्याजदर केही सस्तो भए पनि कर्जा लगानी बढ्न भने सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्