Logo

आजदेखि दैनिक २ घण्टा सेयर बजार खुला, यस्ता छन् ब्रोकर र लगानीकर्ताले पालना गर्नुपर्ने नियम

आजदेखि दैनिक २ घण्टा सेयर बजार खुला, यस्ता छन् ब्रोकर र लगानीकर्ताले पालना गर्नुपर्ने नियम



काठमाडौं । लामो समयदेखि बन्द रहेको सेयर बजार मंगलबार (आज)देखि संचालनमा आएको छ । कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले उच्च सतर्कताका साथ बजार संचालनमा ल्याएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

मंगलबारदेखि दैनिक ११ बजेदेखि १ बजेसम्म दुई घण्टा संचालन हुने बजार खुल्ने छ । विशेषगरी समस्यामा परेका लगानीकर्तालाई मध्यनजर गर्दै बजार संचालनमा ल्याइएको उनले जानकारी दिए ।

नेप्सेले अघिपछिका समयभन्दा फरक मापदण्ड बनाएर बजार संचालनमा ल्याएका हो । जस अनुसार अबका दिनमा डिम्याट एकाउण्टबाट प्रमाणिकरण गरेर मात्र सेयर बिक्री गर्न पाईने छ भने राफसाफका लागि मेरो सेयर र कनेक्ट आईपीएसलाई प्रथमिकता दिईने भएको छ ।

कतिपय लगानीकर्ताले नियतबस सर्टसेलमा हुँदै नभए सेयर समेत बिक्री गरेर समस्या खडा गर्ने गरेकाले सेयर बिक्री गर्नुपूर्व सेयर भएनभएको डिम्याट खाताबाट प्रमाणिकरण गरेर मात्र बिक्री गर्न सकिने व्यवस्था गरिएको साउदले जानकारी दिए ।

यस्तै सेयर कारोबारमा सामाजिक दूरी कायम गर्न राफसाफका लागि पनि कनेक्ट आईपीएस र मेरो सेयरलाई प्रथमिकता दिइएको उनले जानकारी दिए । सेयर बिक्री वा खरिद गरे पश्चात ब्रोकर अफिसमा चेक बुझाउन जान नपरोस भन्ने उद्देश्यले कनेक्ट आईपीएस र मेरो सेयरलाई प्राथमिकता दिईएको हो । जसका लागि असार मसान्तसम्म मेरो सेयरको युजर नेम र पासवर्ड लिन निशुल्क गरिएको छ ।

यसैगरी नेपाल धितोपत्र बोर्डले पनि बजार खुलाउनका लागि ब्रोकरहरुलाई कार्यालयसम्म आउनका लागि सवारी पास वितरणकार्यलाई तीब्र बनाएको छ । हालसम्म करिव ३५० सवारीपास वितरण गरिएको बोर्डका अध्यक्ष भिष्म ढुंगानाले जानकारी दिए । ‘हामीले सम्बन्धित ब्रोकर अफिसको सिफारिसमा एक चौथाई सवारीसाधनलाई पास उपलब्ध गराउँदै आएका छौं,’ उनले भने, ‘अहिले ब्रोकरलाई मात्र दिएका छौं ।’

तर लगानीकर्ताले भने नजिकैको बैंक अथवा हिडेर सेयर खरिदबिक्रीको काम गर्नुपर्ने बोर्डले जानकारी दिएको छ । ‘धेरै लगानीकर्ताले अनलाईनमार्फत सेयर खरिदबिक्री गर्दै आएका छन् भने हालसम्म त्यस्तो सुविधा नलिएकाले पनि अब लिन पर्यो,’ उनले भने, ‘त्यसरी सेयर खरिदबिक्री गर्दा नजिकैको बैंकमार्फत भुक्तानी लगायतका काम गर्नुपर्ने हुन्छ ।’ एकदमै आवश्यकता परेको खण्डमा मात्र लगानीकर्तालाई सवारी पास दिईने बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL