Logo

सेयर बजारमा क्लबहाउस वितण्डा, रोक लगाउने तयारीमा धितोपत्र बोर्ड

सेयर बजारमा क्लबहाउस वितण्डा, रोक लगाउने तयारीमा धितोपत्र बोर्ड



काठमाडौं । केही समय अघि नेपाल धितोपत्र बोर्डले सामाजिक संजालमार्फत सेयर बजारमा प्रत्यक्ष असर गर्ने खालका अभिव्यक्ति तथा विश्लेषणहरु आउन थालेको भन्दै फेसबुक, ट्वीटरजस्ता सामाजिक संजालमा त्यस्ता कार्य गर्न रोक लगाएको थियो । सामाजिक संजालमा सिमित स्वार्थ समुहले आफु अनुकुलमा विषय सामाजिक संजालमा पोष्ट गर्ने र जसका कारण नयाँ तथा सोझा लगानीकर्ताहरु फसेको गुनासो बढेपछि बोर्डले त्यसलाई रोक लगाएको थियो ।

तर पछिल्लो समय उक्त रोग सामाजिक संजाल ‘क्लब हाउस’ मा देखिएको छ । पछिल्लो समय सिमित समुहले लगानीकर्तालाई सिकाउने नाममा आफ्नो स्वार्थ अनुकुल विषयबस्तुमा प्रवचन दिने तथा कम्पनीको नामनै तोकेर कुन सेयर किन्ने, कुन बेच्नेसम्मका कुराहरु बोल्न थालेपछि क्लव हाउसले सेयर बजारमा विकृति ल्याएको हो । ‘धितोपत्र ऐन अनुसार नेप्से इन्डेक्स कति बढ्छ, कति घट्छ, कुन सेयर किन्ने, कुन सेयर बिक्री गर्नेजस्ता विषयहरु भन्न बन्देज छ,’ एक लगानीकर्ताले भने, ‘तर अहिले क्लब हाउसमा कपिपय व्यक्तिहरुलाई आफुलाई सेयर बजार सम्बन्धी स्वाधोषित अभियान्ता बताउँदै बजारलाई म्यानुपुलेसन गर्ने काम गरिरहेका छन् जुन सरासर गैरकानूनी कार्य हो ।’

विशेषत सेयर बजार आफ्नै गतिमा चल्नुपर्दछ । जहाँ बजारको घटवढ स्वभाविक हो । तर क्लब हाउसमा सेयर किनेपछि आफुले किनेको सेयर वा बजार बढ्छ र बिक्रीगरेपछि बजार घट्छ भन्ने खालको विषयबस्तु उठान हुने गरेको छ । साथै पछिल्लो समय बजारमा ठूलो मात्रामा नयाँ लगानीकर्ता भित्रिएको र उनीहरुलाई सेयर बजारसम्बन्धी जानकारी नभएको खण्डमा सिमित स्वार्थ समुहबाट परिचालित स्वघोषित विश्लेषकहरुले बजार बढ्छ मात्रै भन्ने खालको सूचना प्रबाह गरेर समेत नवप्रवेशी र सोझा लगानीकर्ता फसाउने काम गर्दै आएको समेत सम्बद्ध लगानीकर्ताहरुनै बताउँछन् । साथै कतिपय लगानीकर्ताले सेयर बजारलाई बढाउने सम्बन्धमा नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई नै आफुले भेटेर भनेको र सोही अनुरुप मन्त्रीले काम गर्न थालेको हवला दिँदै अबका दिनमा बजार उच्च रुपमा बढ्ने भन्दै नयाँ लगानीकर्तालाई बजारमा प्रवेश गर्न क्लब हाउसमार्फत उक्साउँदै आएका छन् ।

क्लव हाउसका स्वाघोषित अभियन्ता तथा विश्लेषकका कारण भोलीका दिनका लाखौ लगानीकर्ता फस्ने जोखिम उच्च रहेको भन्दै पछिल्लो समय नियामक निकाय धितोपत्र बोर्डले सो सम्बन्धमा अनुसन्धान थालेको छ । कतिपय बैंकका उच्च ओहोदामा बसेका जिम्मेवार व्यक्ति, मर्चेन्ट बैंकका सीईओ, ब्रोकर, नेप्सेमा सूचिकृत कम्पनीका संचालक तथा स्वार्थ बाझिएका लगानीकर्ताले बजारमा आफु अनुकुलका सूचना फाल्न थालेपछि बोर्डले सो विषयमा छानविन अघि बढाएको जानकारी दिएको छ । ‘पछिल्लो समय क्लब हाउसमा बजारलाई म्यानुपुलेसन गर्ने खालका गतिविधि उच्च भएको भन्दै गुनासो आएका छन्,’ बोर्ड स्रोतले भन्यो, ‘यस विषयमा हामीले सुक्ष्म रुपमा निगरानी बढाएको छौं सायद केही दिनभित्रै क्लबहाउसमा सेयर बजार सम्बन्धी कार्यक्रमनै संचालन गर्न रोक लगाउने तयारी गरेका छौं ।’ पछिल्लो समय धितोपत्र ऐनले बर्जित गरेका विषयहरुनै क्लब हाउसमा खुलेआम उठान भैरहेको र जसका कारण लाखौं लगानीकर्ता फस्नुका साथै कानूनको समेत उल्लंघन भएको बोर्डको तर्क छ ।

बोर्डले सामाजिक संजालमार्फत सेयर बजारमा म्यानुपुलेसन हुने गतिविधि रोक्न सूचनानै प्रकाशित गरेपछि फेसबुक म्यासेन्जर, भाईबर, ह्वाट्स एपजस्ता सामाजिक संजालमार्फत आफु अनुकुलका सूचना प्रकशित गर्दै आएका छन् । एउटै ग्रूपका मार्केटिङ गरेरै भएपनि हजारौं लगानीकर्तालाई उक्त ग्रूपका जोड्ने र आफु अनुकुलका सूचना प्रबाह गरेर लगानीकर्ता फसाउने काम गर्दै आएका छन् भने कतिपयले सेयर बजारको बारेमा जान्ने मन लागेमा वा कुन सेयर किन्ने कुन बिक्री गर्ने विषयमा जानकारी लिन आआफ्ना ग्रूपका जोडिन नियमविपरित खुलेआम बताउँदै आएका छन् । साथै त्यस्ता ग्रूप संचालन गर्नेबाट धेरै लगानीकर्ता पीडित हुन पुगेको र सो सम्बन्धमा समेत बोर्डको सुपरिवेक्षण विभागले अनुसन्धान गरिरहेको बोर्डको उच्च स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय क्लब हाउसमै पनि स्वघोषित अभियन्ताहरुले लगानीकर्ता फसाउन आफु अनुकुलका सूचना प्रबाह गरेको भन्दै विरोध सुरु भएको छ । त्यसरी हाउस चलाउने स्वघोषित अभियन्ताहरुले सिमित लगानीकर्ता समुहको प्रभावमा परी उनीहरुलाई लाभ हुने गरी क्लब हाउसबाट सूचना प्रबाह गरेको भन्दै विरोध सुरु भएको सम्बद्ध लगानीकर्ताहरुले बताउँछन् । ‘अहिले क्लव हाउसमा आफु अनुकुल वा सिमिति स्वार्थ समुहलाई मात्रै बजारको बारेमा बोल्न लगाउने र त्यसरी बोल्ने व्यक्तिहरुले पनि समग्र बजारको हित भन्दा पनि तिनै लगानीकर्तालाई फाईदा हुने गरी बजारको विश्लेषण तथा सेयरको नामनै तोकेर कुन किन्ने कुन बेच्ने जस्ता कुरा बताउँदै आएका छन्,’ एक लगानीकर्ताले भने, ‘यस विषयमा नियामक निकायले समयमै ध्यान नपुर्याउने हो भने लाखौ लगानीकर्ताको उठिबास लाग्ने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL