Logo

समाचार टिप्पणी : यसकारण सेयरका धेरै लगानीकर्ताहरु डुब्न सक्छन् !

समाचार टिप्पणी : यसकारण सेयरका धेरै लगानीकर्ताहरु डुब्न सक्छन् !



काठमाडौं । राजनीतिक अस्थिरता र कोभिडको महामारी खतरनाक बन्दै गएपछि सेयरका धेरै लगानीकर्ताहरुको रुवाबासी हुने स्थिति उत्पन्न भएको छ । राजनीतिक अन्योलका कारण बजेट अलपत्र पर्ने भएको छ भने गत बर्षको भन्दा यसबर्षको कोभिडको नयाँ भेरियन्ट खतरनाक भएकोले बैंक तथा वित्तीय संस्थाहरुका साथै अन्य सूचीकृत कम्पनीहरुको हालत पनि बेहाल हुने देखिएको छ । आगामी भदौ असोजपछि कोभिडको तेस्रो लहर आउने र त्यो अझ खतरनाक हुने विज्ञहरुले बताइरहेका छन् । त्यसअघि सम्म दोस्रो भेरियन्ट नियन्त्रणमा आउन कठिन हुने स्थिति स्पष्टै देखिएको छ । आगामी असारसम्म निषेधाज्ञा नै हुने संभावना बढ्दै गएकोले बैंक तथा वित्तीय संस्थाहरुको असूली प्रभावित बन्न थालेको छ । निषेधाज्ञा र लाखौंको संख्यामा इन्फेक्सन बढ्दै गएकोले मानिसहरुमा काम गर्ने मनोबल पूरै गिरेको छ ।

laxmi

अस्पतालहरुमा बेडहरु सकिएका छन् भने अक्सिजनको अभावमा विरामीहरु अस्पतालमा छटपटाइरहेका छन् । भ्याक्सिन आयात गर्न नसकिएकोले त्यसलाई लगाउन नसकिएको र स्वास्थ्य पूर्वाधार केही नभएकाले देशब्यापीरुपमा समस्याले विकराल रुप लिने खतरा बढेको छ ।

अहिलेसम्मका प्रतिकूलताहरु धान्दै आएका नेपालको बैंक तथा वित्तीय क्षेत्र सर्वाधिक अप्ठ्यारोमा परेका छन् । यसले गर्दा सेयर बजार ध्वस्त हुने, ऋणीहरुले कर्जाको सावाँ ब्याज तिर्न नसक्ने र समग्र अर्थतन्त्रलाई धराशायी बनाउने गम्भीर संकेतहरु देखिएका छन् । सेयर बजार अलि तल झर्नासाथ मार्जिन कल भएमा अझ तल झर्नेछ र यसले बजार क्र्यास हुने खतरा निम्त्याउँछ । अन्यत्र लगानी गर्ने ठाउँ नहुँदा पैसा यतै थुप्रिनेछ भन्ने लगानीकर्ताहको गतवर्षको विश्लेषण र अनुमान यसपटक गलत सावित हुने संभावना देखिन थालिसकेको छ । बजारमा तरलताको सहज स्थिति नभएकोले यसलाई पूष्टि गर्छ ।

निरन्तरको लकडाउनका कारण गत बर्ष ऋणात्मक बन्न पुगेको नेपालको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर निषेधाज्ञाको अवधि बढ्ने संभावनासँगै यसपटक पनि ऋणात्मक बन्ने देखिएको छ भने यसको सबैभन्दा ठूलो असर बैंक तथा वित्तीय क्षेत्रमा पर्ने देखिएको छ । अहिलेसम्म जस्तोसुकै प्रतिकूल अवस्थामा टिकेको अर्थतन्त्र बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असूली भएन भने धराशायी हुने खतरा बढ्दै गएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले गत चैतसम्म झण्डै ४० खर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन् । नयाँ धितो राखेर थप कर्जा लिई ब्याज भुक्तानी र उक्त कर्जालाई असल बनाउँदै आएका ऋणीहरु यसपटक झन मारमा परेका छन् । मालपोत कार्यालयहरु बन्द हुँदा रोक्का राख्न नमिल्ने र खातालाई असल बनाउन नसक्ने देखिएको छ । आर्थिक गतिविधिहरु ठप्प भएकोले आम्दानी नहुने भएकाले कर्जाको उपभोक्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुको ऋण तिर्न नसक्ने स्थिति उत्पन्न भएको छ ।

यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुको ब्यालेन्स सीट नाफामा नदेखिन सक्छ । अहिले नै बैंक तथा वित्तीय संस्थाहरुबाट निक्षेप झिक्ने प्रवृत्ति बढी देखिएकोमा ब्यालेन्स सीट विग्रियो भने जनताले निक्षेप झिक्नेछन् र बैंक वित्तीय तथा संस्थाहरु धराशायी बन्ने सक्छन् । यसको सबैंभन्दा ठूलो मार सेयर बजारमा पर्नेछ ।

सेयर बजारलाई प्रतिकूल असर पार्ने अर्को पक्ष हो, राजनीतिक अस्थिरता । केपी ओलीले विश्वासको मत लिन नसकेपछि शुरु भएको राजनीति अव चुनावतिर सोझिएको छ । दुई वा त्यो भन्दा बढी दलको सरकार गठनको संभावना कमजोर बन्दै गएको छ । त्यसो भएमा फेरि ओलीको सरकार बन्ने संभावना बढेको छ । यस सरकारले पनि महिना दिनभित्र विश्वासको मत लिनुपर्ने तर यसअघि नै विश्वासको मत प्राप्त नभएकोले फेरि पनि त्यही स्थिति दोहोरिने र मुलुक चुनावतिर जाने प्रवल संभावना बढेको छ । जगजाहेर नै छ, कोभिडको यस्तो महामारीका बीच चुनाव हुने परिस्थिति नै छैन । ६ महिनाभित्र चुनाव हुने संभावना नभएकोले मुलुक दिशाहीन राजनीतिको बाटोमा जाने देखिएको छ ।

त्यसपछिको राजनीतिक अस्थिरता, जनताको विद्रोह, आर्थिक संकटले बर्तमान संविधानले पनि काम गर्न नसकेर कल्पनाबाहिरको परिस्थिति उत्पन्न हुने विश्लेषण हुन थालेको छ । कुनै चमत्कारिक ढंगले रोग नियन्त्रण हुनसक्यो र राजनीति पनि सही विन्दूमा आउन सक्यो भने पनि सेयर बजारमा सूचीकृत कम्पनीहरुको अवस्थामा सुधार आउन केही बर्ष कुर्नैपर्ने हुन सक्छ । यस्तो अवस्थामा बजारको यो मूल्य र कारोबार रकम धानिने देखिदैन । गत बर्ष उकालोतिर लागेका विश्वका सेयर बजारहरु पनि अहिले ओरालोतिर लाग्ने कारण पनि रोगको अनियन्त्रण र अर्थतन्त्रको रिभाइबल हुन नसक्ने आशंका नै हो भन्ने धेरैको विश्लेषण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL