काठमाडाैं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति ९सीएनआई०का सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलबीच भेटवार्ता भएको छ।
उक्त भेटमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन आवश्यक रणनीतिबारे छलफल भएको थियो। साथै, उत्पादनशील क्षेत्रहरूमा रेमिट्यान्सलाई लगानी गर्न प्रविधि स्थानान्तरणसहित औपचारिक नेटवर्क निर्माणको आवश्यकता, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रीटहरूलाई प्रवर्द्धन गरी नेपाललाई शीर्ष गन्तव्यका रूपमा उभ्याउने विषयमा समेत विस्तृत कुराकानी भएको थियो।
भेटका क्रममा राजदूत पौडेलले पोर्चुगलमा रहेका नेपाली आप्रवासीका समस्या समाधान तथा उनीहरूको कल्याण र अधिकार सुनिश्चित गर्न दूतावास सक्रिय रूपमा लागेको जानकारी गराएका थिए। साथै, नेपाली उत्पादनहरूलाई पोर्चुगलमा प्रवर्द्धन गर्ने प्रभावकारी योजनाहरू पनि तयार भइरहेका जानकारी दिएका थिए।
सीएनआई र पोर्चुगलस्थित नेपाली मिसनबीचको संस्थागत सहकार्यलाई सुदृढ गर्दै प्रवासी नेपालीहरूको सीप, पूँजी र ज्ञानलाई नेपालको आर्थिक विकासमा उपयोग गर्न मिल्ने सम्भावनाबारे समेत छलफल गरिएको थियो।