Logo

आइजिन निर्देशिकामा छलफल भइरहेको छ, सीडीएससीमा फिर्ता पठाएका छैनौं : बोर्ड प्रवक्ता घिमिरे

आइजिन निर्देशिकामा छलफल भइरहेको छ, सीडीएससीमा फिर्ता पठाएका छैनौं : बोर्ड प्रवक्ता घिमिरे

कानूनत निर्देशिका बोर्डले फिर्ता पठाउन मिल्दैन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजिन)को मस्यौदालाई छलफलका लागि अगाडि बढाएको छ । पछिल्लो समय एकल वा डबल आइजिन भन्ने विषयमा विवाद चलिरहँदा सेबोनले उक्त निर्देशिका कार्यान्यवनका लागि छलफल अघि बढाएको हो ।

हाल सो विषयमा छलफल भइरहेको र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा फिर्ता नगरेको बोर्डले स्पष्ट पारेको छ । आजैमात्र बोर्डमा आइजिनको विषयमा छलफल भएको र सीडीएससीले बनाएर पठाएको निर्देशिका पुनः सीडीएसीमै नपठाइएको बोर्डको प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । ‘बोर्डले निर्देशिकाको विषयमा थप अध्ययन तथा छलफल गर्छ र के ठीक के बेठीक सो सम्बन्धमा थपघट गरेर आफ्नो निर्णयमा पुग्छ,’ प्रवक्ता घिमिरेले भने, ‘हाल बोर्डले सीडीएससीले स्वीकृत गरेर पठाएको आइजिनसम्बन्धी निर्देशिका फिर्ता पठाएको छैन र आगामी दिनमा पनि फिर्ता पठाउने छैन ।’ साथै अहिले आइजिनको विषयमा बजारमा अनावश्यक हल्ला फैल्याइएको भन्दै त्यस्ता हल्लाको पछि नलाग्न समेत प्रवक्ता घिमिरेले आग्रह गरेका छन् ।

सीडीएससी बोर्डले आइजिनसम्बन्धी निर्देशिकालाई सर्वसम्मत रुपमा पास गरेर स्वीकृतिका लागि बोर्डमा पठाएको छ । सीडीएसी बोर्डले नै सर्वसम्मत रुपमा पास गरेर पठाएपछि धितोपत्र बोर्डले त्यसलाई स्वीकृत गर्नुपर्ने हुन्छ । तर बोर्डसँग उक्त निर्देशिकामा थपघट गर्ने अधिकार भने रहन्छ । बोर्डसँग निर्देशका उल्लेखित विषयमा थपघट गर्ने अधिकार रहेपनि फिर्ता भने पठाउन नमिल्ने सम्बद्ध कानूनविद्हरु बताउँछन् । ‘सीडीएससीले सर्वसम्मत रुपमा पास गरेर पठाएको निर्देशिकालाई बोर्डले पुनः सीडीएससीमा फिर्ता पठाउन मिल्दैन,’ ती कानूनविदले भने, ‘तर बोर्ड नियामक निकाय भएकाले उक्त मस्यौदामा थपघट गर्ने वा आइजिन कार्यान्वयन सम्बन्धमा छुट्टै निर्देशन भने दिन सक्छ ।’

हाल सीडीएससीले तयार पारेको आइजिनसम्बन्धी मस्यौदाले सेयर बजारमा देखिएको विकृतिलाई रोक्ने भन्दै लगानीकर्ताहरु त्यसलाई यथासक्दो छिटो कार्यान्यमा ल्याउन अर्थ मन्त्रालयदेखि धितोपत्र बोर्डसम्म धर्ना दिन पुगेका छन् । लगानीकर्ताहरुले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटी सीडीएससी बोर्डले पास गरेर पठाएको आइजिन सम्बन्धी निर्देशिका तत्काल कार्यान्यवनमा ल्याउन ज्ञापनपत्र बुझाएका थिए भने बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठको पनि ध्यानाकर्षण गराएका थिए ।

साथै उनीहरुले सीडीएससीका प्रबन्ध निर्देशक प्रविण पन्दाकलाई नै भेटी उक्त निर्देशिका कार्यान्यवनका लागि सम्बद्ध निकायमा पहल गर्न आग्रह गरेका थिए । उक्त निर्देशिका कार्यान्वयनमा आएमा सेयरको दोस्रो बजारमा लकइन नखुल्दै संस्थापकहरुले सेयर बिक्री गरी बाहिरिने गैरकानूनी क्रियाकलाप रोकिनुका साथै नेपालको पुँजी बजार थप शुद्धीकरणका साथै दिगो विकासमा सहयोग पुग्ने लगानीकर्ताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्