Logo

भोट दिने साथीहरुलाई पछुतो नरहने गरी काम गर्नेछु : हेमराज ढकालसँगको अन्तरवार्ता

भोट दिने साथीहरुलाई पछुतो नरहने गरी काम गर्नेछु : हेमराज ढकालसँगको अन्तरवार्ता



चिया, कृषि, कार्पेटजस्ता उद्योग व्यवसायलाई अंगालेर सफलता हात पारेका व्यक्तिहुन हेमराज ढकाल । लामो समयदेखि उद्योग व्यवसायमा संलग्न रहेका ढकालले नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगततर्फकै केन्द्रिय सस्दय भई नेपाल कृषि उद्यम केन्द्रको सहसभापति भएर सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरिसकेका छन् । महासंघभित्र आफ्नो कार्यकालमा कृषि क्षेत्रको विकासका लागि उल्लेखनीय काम गरेको र अझै थुप्रै सुधारका काम गर्नुपर्ने बताउँछन् । यसपटक पनि महासंघमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल तथा वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार उशेलाल श्रेष्ठको टीममा रहेर बस्तुगत केन्द्रिय सदस्यमा उम्मेदवार दिएका उनै ढकालसँग बिजखबरले गरेको कुराकानीको सार :

laxmi

अघिल्लो कार्यकालमा सदस्य भएको व्यक्ति पुनः उम्मेदवारी दिनुभएको छ । महासङ्घमा पहिले के योगदान गर्नुभयो र अब के गर्न बाँकी छ ?

महासङ्घमा मैले कृषि उद्यम केन्द्रको सह सभापतिको जिम्मेवारीमा रहेर काम गरिसकेको छु । अहिले कृषि क्षेत्रको महत्व पहिलेभन्दा धेरै बढेको छ । कोरोना कहरका कारण बढेको खपत र हामीसँग भएको आपूर्तिको सन्तुलन बनाउन कृषि क्षेत्र अत्यावश्यक मानिन्छ । हालसम्म नेपालमा आवश्यक कृषि उपज विभिन्न देशहरुबाट आयात हुने गरेको थियो । तर अब भने यसको महत्व नेपालका विभिन्न सरोकारवालाहरुले बुझेपछि झन् बढेको जस्तो देखिएको छ ।

त्यसैले हामीले कोरोना महामारी फैलिएर लकडाउन भएपछि रोजगारी सिर्जना गर्ने र खानाको आपूर्ति गर्ने प्रमुख माध्यम नै कृषि क्षेत्र भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै पहल गरेका थियौं । जसको फलस्वरुप मौद्रिक नीति, आर्थिक ऐन तथा बजेटमा पनि कृषिलाई महत्व दिनेगरी सुनुवाई भएको छ ।

कृषि सहुलियत कर्जा दिने, भण्डारण क्षमता विस्तार गर्ने, शितभण्डार निर्माण गर्ने लगायतका कुराहरु नीतिगत तहबाटै अघि बढेका छन् । कृषि क्षेत्रको बजारीकरण गर्न र यसको बजार विस्तार गर्न स्थानीय तहहरुमा पनि बजेट विनियोजन गरिएको छ । नेपालमा गणतन्त्र आएपछि मासु, चिनीलगायतका विभिन्न वस्तुहरुमा आत्मनिर्भरसमेत भईसकेका छौं । चियाकै कुरा गर्ने हो भनेपनि पछिल्लो केही बर्षयता यसको बजार विस्तारदेखि उत्पादनमा समेत उल्लेख्य वृद्धि भएको छ । केही बर्षअघि हामीले चिया आयात गर्नुपर्ने अवस्था थियो । तर अहिले हामीले ५० देखि ६० प्रतिशतसम्म चिया निर्यात गरिरहेका छौं । यसको अझै प्रवद्र्धन गर्न र मौलिक उत्पादनलाई निर्यात गरी फाईदा लिन आवश्यक छ ।

मैले यसअघि पनि नेतृत्वले पत्याएर कृषि उद्यम केन्द्रमा सहसभापतिको जिम्मेवारी पाएँ । जसमार्फत प्रत्येक जिल्ला जिल्लामा एक जिल्ला एक उत्पादनसँगै विभिन्न परियोजनामा समेत काम गरें । यस्तै म आफै कृषि क्षेत्रमा लागेकाले पनि कृषि क्षेत्रको उत्थान र प्रवद्र्धनमै बढी ध्यानमग्न भएको मान्छे । कृषिको मान्छे भएर उद्योग वाणिज्य महासङ्घमा आई महासङ्घसँग सम्बन्धित भएर काम गर्न पाएको छु । त्यसैले निजी क्षेत्रका लागि व्यापार प्रवद्र्धन, कृषि क्षेत्रको उद्धारलगायतका कुराहरुको पहल गर्न सकिने विश्वासका साथ मैले पूनः चिया उद्योग संघको तर्फबाट उम्मेदवारी दिएको हुँ ।

यो कार्यकालभर तपाईंको योगदानबाट भएका मुख्य उपलब्धी के हुन् ?

तीन बर्षमा मैले मुख्य दुई ओटा काम गरें । कृषि उद्यम केन्द्रमा बसेर नेपालको कृषिलाई बुझ्ने, कृषिसम्बन्धी सेवा दिने, त्यसको तथ्यांक संकलन गरी विश्लेषण गर्ने, डाटा सेन्टरलाई व्यवस्थित गर्ने र विभिन्न ३० ओटा जिल्लामा रहेका महासङ्घका कार्यालयहरुलाई व्यवस्थित गर्नेलगायतका कामहरु हामीले गर्याैं ।

यस्तै यसअघि विभिन्न क्षेत्रको अडिटिङ हुने गरेको थिएन । अब हामीले विभिन्न संघसंस्थाको पनि अडिटिङ गर्न सकिनेगरी नीति नियम बनाउन पहल गरेपछि यो लागुसमेत भएको छ । यसमार्फत धेरै कामहरु पनि भएका छन् । कार्यालयको कार्यविधि, कर्मचारीको व्यवस्थापनलगायतका विभिन्न कामहरु भएका छन् ।

यस्तै उक्त कार्यालयहरुमा पुर्वाधार विकाससँगै कृषि उपजको बजार विस्तारसँगै यसको व्यापार चेनलाई बढाउन ठूलो र महत्वपुर्ण कामहरु गरेका छौं । कृषि क्षेत्रका लागि प्रवद्र्धनको जग बसालेका छौं । सोही अनुसार चालु आवको बजेटमा कृषि क्षेत्रका लागि मात्रै धेरै भन्दा धेरै बजेट विनियोजन गराउन सफल भएका छौं ।

यस्तै अब देश संघीय संरचनामा जाँदै गर्दा निजी क्षेत्रलाई थप प्रबल र सुदृढ गर्ने कार्यहरु त बाँकी नै छन् । यसमार्फत हामीले कृषि, पर्यटन, सेवालगायत क्षेत्रलाई प्रवद्र्धन गरी अन्तररािष्ट्रय स्तरमा पुर्याउनु अबको प्रमख लक्ष्य हुनेछ । जसका लागि मैले विभिन्न जिल्लाका साथीहरुसँगको सहकार्यमा विभिन्न छलफल, समारोह, गोष्ठिलगायतका कार्यक्रमहरु सञ्चालन गरेको छु । गएको तीन बर्षमा यति गर्नु पनि ठुलो हो भन्ने मलाई विश्वास छ ।

मतदाताले तपाईँलाई यसपटक फेरि किन भोट हाल्ने ?

म आफैले ५ देखि ७ ओटा उद्योगधन्दा र कृषि क्षेत्रलाई नेतृत्वसहित अघि बढाएको र महासङ्घले दिएको नेतृत्वलाई सुदृढ तरिकाले अघि बढाएकाले म मा नेतृत्व क्षमता छ भन्ने झल्किन्छ । यस्तै निजी क्षेत्रसँग देशको आर्थिक उन्नतिका लािग अघि बढ्नुपर्छ र यसपछि देश समृद्ध भई देशमा रोजगारीको सिर्जना भई आर्थिक वृद्धि हासिल गर्न सकिन्छ भन्ने मान्यता मेरो हो । सोही अनुसार मैले नेतृत्व गर्न सक्छु र सबै क्षेत्रलाई सँगै समेटेर लैजान सकिन्छ भन्ने मेरो मान्यता हो । अघिल्लो कार्यकालमा कृषि क्षेत्रमा भएकाले बस्तुगततर्फका सबै साथीहरुलाई समेट्न सकिएको थिएन । अघिल्लो कार्यकाललाई सच्याउँदै आगामी कार्यकालमा सबै साथीहरुको आवाजलाई सुनुवाई गरी सम्बन्धित निकायसम्म पुर्याउन लागिपर्नेछौं । अब सबै तरिकाले अघिल्ला कार्यकालका गल्तीहरु सच्याउँदै जानेछु भन्ने विश्वास गरेर मतदाता साथीहरुले मलाई भोट दिनुहुन्छ भन्ने विश्वास छ । मलाई भोट दिने साथीहरुलाई आगामी दिनमा पछुतो नरहने गरी काम गर्नेछु भन्ने विश्वाससमेत दिलाउन चाहान्छु ।

चुनाव अन्तिम अवस्थामा आईपुगेको छ, तपाईँको र तपाईँको टिमको चुनावी तयारी कस्तो छ ?

हामीले तयारी गरिरहेका छौं । हामी पदाधिकारीहसँग छलफलमै छौं । हालसम्म जिम्मेवारीमा रहेका साथीहरुले चुनावी तयारीकै लागि भनेर विभिन्न कार्यक्रमहरुको आयोजनासमेत गर्नुभएको छ । वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठज्युले पनि बस्तुगत तर्फको छुट्टै भवन बनाउन विभिन्न प्रयासहरु गरिरहनु भएको छ । हामीले हालसम्म गरेका काम र गल्तीहरु सच्याउँदै र राम्रा कामको प्रचार गर्दै गएका छौं । सोही अनुसार साथीहरुले पनि हामीलाई विश्वास गरेको अनुभव सुनाउनु पनि भएको छ ।

त्यसैले हामीले निजी क्षेत्रमा आमुल परिवर्तन गर्ने जमर्काे गरेका छौं । साथै कतिपय साथीहरु यसको संचारबाट अलग भएकाले हाल कम्युनिकेट गर्ने कार्य पनि प्रचारप्रसार स्वरुप गरिरहेका छौं ।
हामीले नेपालको आर्थिक विकास, वस्तुको निर्यात, निजी क्षेत्रको उत्थानलगायतका विषयवस्तुलाई समेटेर निजी क्षेत्रबाट प्रतिनिधित्व गरेका हौं । अघिल्ला तीन बर्षमा केही अनुभव समेटेको र आगाी कार्यकालमा उक्त अनुभवको कार्यान्वयन गर्ने जमर्काे हामीले गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस्
MBL