Logo

मलाई प्यानलको मतलब छैन, एजेण्डा मिल्नेलाई भोट दिन्छु : ज्ञानेन्द्रलाल प्रधानको अन्तर्वाता

मलाई प्यानलको मतलब छैन, एजेण्डा मिल्नेलाई भोट दिन्छु : ज्ञानेन्द्रलाल प्रधानको अन्तर्वाता



नेपाल उद्योग वाणिज्य महासंघभित्र विकृति र विसंगती विरुद्ध लडेर कोषाध्यक्ष पदबाटै राजीनामा दिएर निस्किएका व्यक्ति हुन ज्ञानेन्द्रलाल प्रधान । लामो समयदेखि टीममा रहेर एशोसिएट्सतर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएर नेतृत्वमा रहेर काम गर्दै आएका प्रधान अहिले टीमभन्दा बाहिर रहेर निर्वाचनलाई नियालिरहेका छन् । नेपाल उद्योग परिसंघको ऊर्जा विकास समितिको संयोजकको भुमिकामा रहेर काम गर्दै प्रधान अहिले पनि आफुसँग एशोसिएट्सतर्फ ६२ मत रहेको बताउँछन् । महासंघको आसन्न निर्वाचनमा उनको भूमिका र महासंघमा आउनुपर्ने नेतृत्वको विषयमा केन्द्रित रहेर उनै प्रधानसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार :

तपाई सधैं महासङ्घको निर्वाचनमा एउटा प्यानलमा रहेर चुनावी प्रतिस्पर्धामा उत्रिनु हुन्थ्यो । तर यसपटक प्यानलमा पनि हुनुहुन्न । किन यस्तो अवस्था आयो ?

राज्य राजनीतिमा केन्द्रित भैरहेको छ । राजनीतिक गुटबन्दीले नै राज्य सञ्चालन भैरहेको छ । यस्तो अवस्थामा राजनीतिक बुद्धिमा आर्थिक बुद्धि हुँदैन । यो नेपालमा मात्रै होइन विश्वभर नै यस्तै छ । राजनीतिमा अन्तरराष्ट्रिय डिग्री हासिल गरेका, पीएचडी गरेका ठूला ठूला कुरा गर्ने मानिस हुन्छन् । तर देशको वास्तविक आर्थिक समस्या के हो भनेर महासङ्घजस्तो संस्थाले पहिचान गर्न सक्छ । उदाहरणका लागि सन् १९९६ मा नेपाल भारतबीच खुला व्यापार सम्झौता महासङ्घकै पहलमा भएको हो । जसले गर्दा देशबाट ७० अर्ब रुपैयाँको निर्यात भैरहेको छ । तर त्यसयता महासङ्घले त्यस्ता खालका काम गर्न सकेन ।

महासङ्घ सरकारको आर्थिक थिङ्कट्याङ्क हुनुभन्दा पनि आफ्नो स्वार्थका लागि गुटबन्दीमा लाग्यो । त्यसै अनुसार व्यक्तिगत स्वार्थ केन्द्रित काममा अघि बढ्यो । तर म त्योभन्दा अलग विचारको व्यक्ति हँु । महासङ्घले व्यक्तिगत एजेण्डा नभई समग्र व्यवसायीको साझा एजेण्डालाई उजागर गर्दै देशको आर्थिक विकासमा ध्यान दिनुपर्छ । त्यसो हुन नसक्दा म गुटभन्दा बाहिर निस्किएँ ।

यसको मतलब यसपटक तपाई कुनै पनि गुटमा नरहेर स्वतन्त्र रुपमा आफ्नो मताधिकार गर्ने पक्षमा हुनुहुन्छ ?

उदाहरणका लागि आजभन्दा ५० वर्ष अघि कुनै व्यक्तिले बदमासी गरेर पैसा कमायो भने समाजले घृणा गर्दथ्यो । अहिले कुनै व्यक्ति गैर कानुनी कमाई हुने ठाउँमा पुग्यो र नमाईकन बाहिरियो यहि समाजले गिज्याउँछ । तसर्थ हाम्रो समाज सत्यतिर नलागी विकृतितिर लागेको छ र महासङ्घपनि त्यहिं बाटोमा छ । उदाहरणका लागि म महासङ्घको कोषाध्यक्ष हुँदा ११ करोड रुपैयाँको बेरुजु फस्र्यौट गरें । यससँगै शुद्धीकरणमा लागे । तर म एक्लै परें । मेरा साथमा कोही पनि भएनन् । महासङ्घ भित्र हुने साथीहरुको मनमुटु चलाख छ तर भोट काटिने नाममा मुख खोल्दैनन् । यदि म पनि त्यस्तै स्वार्थी भैदिएको भए किन अध्यक्ष भवानी राणाले गरेको विकृतिको विरुद्ध बोलेर राजीनामा दिएर बाहिरिनु पर्दथ्यो । विकृतिकै पक्षमा लागेको भए म पनि महासङ्घमा उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बन्न सक्थें । महासङ्घ अहिले विकृतिको दलदलमा गुज्रिएको अवस्था छ । संस्थालाई विकृतिको दलदलबाट बाहिर निकाल्नु पर्छ भनेरै गुटबाट बाहिरिएको हुँ ।

विकृतिको दलदल भन्नाले ?

वेश्यावृत्ति भन्ने पेशामा न सिद्धान्त हुन्छ न को मान्छे कस्को भन्ने थाहा हुन्छ । उदाहरणका लागि महिलाको स्वार्थ पैसा होला, पुरुषको स्वार्थ मनोरन्जन हुन सक्ला । तर अन्य पेशा व्यवसायमा आफ्नो सिद्धान्त हुन्छ र त्यो परिवर्तन पनि हुँदैन । सो लक्ष्य प्राप्तिका लागि मान्छे निरन्तर लागिरहन्छ । तर महासङ्घमा वेश्यावृत्तिको भन्दा पनि बढी स्वार्थ देखियो । चुनाव जित्ने नाममा जो जतापनि लागेको देखियो । उदाहरणका लागि मैले नै नेपाल कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भयो यसलाई शुद्धिकरण गर्नुपर्छ भन्दा विरोधमा लागेका व्यक्ति अहिले एउटै समुहमा एकमुख भएर हिडेका छन् । कुनै वेला एकअर्कामा मुख समेत हेर्न नचाहने व्यक्तिहरु अहिले एकज्यान भएर हिडेका छन् । मैले संस्थामा रहेर अध्यक्ष भवानी राणाले ठूलो रकम भ्रष्टाचार गरेको छ भनेर सप्रमाण देखाईदिएको थिए । त्यतिबेला भ्रष्टाचारको विरुद्धमा कति जना मान्छे बोले त ? हामीजस्तो हुने खाने व्यक्ति पनि आफ्नो स्वार्थका लागि गलतको पछि लाग्यो भने कोसँग के आशा गर्ने ? यदि मानिस विवेकशिल प्राणाी हो भने गलत र सहि त छुट्याउन सक्नुपर्यो नि । सबैको आफ्नो सिद्धान्त हुनु पर्छ । जसको सुरुवात आफैबाट गर्नुपर्छ ।

तपाईको नजरमा महासङ्घभित्र पनि थिङकट्याङ्को रुपमा रहेको एसोसिएट्समा कस्ता व्यक्तिहरु आउनुपर्छ ?

महासङ्घ अध्यक्षमुखी संस्था हो । जहाँ अध्यक्ष कुद्यो भने सबै कुद्छन नत्र सबै चुप बस्छन् । अहिलेको तीन बर्षे कार्यकालको समिक्षा गर्ने हो भने महासङ्घले के काम गर्यो त ? कसैले मलाई बताईदिन सक्छ ? न व्यवसायीक हकहितका लागि काम गर्यो न त राज्यलाई नै कुनै योगदान दियो । म भवानी राणाको कार्यकाललाई चुनौती नै दिन्छु यो जस्तो गएजुग्रेको कार्यकाल महासङ्घ इतिहासमै छैन । यसैगरी गुटबन्दी मात्रै गर्दै जाने हो भने महासङ्घ झन् बिग्रने भयो । तसर्थ महासङ्घमा अब सहि र गलत छुट्याउन सक्ने व्यक्ति आउनु पर्छ र जसले शुद्धिकरण गर्न सकोस । यसो हुन सकेमा मात्रै महासङ्घले राज्यका लागि चाहिने थिङकट्याङको रुपमा काम गर्न सक्छ ।

‘महासङ्घले चुनावको बहानामा होटल बुकिङ गरेर कमाउ धन्दामा लाग्नु एकदमै दुःखद पक्ष हो । महासङ्घले ग्रामिण कृषि अर्थात गरिब किसानको नाममा सरकारसँग लिएको पैसा चुनावको नाममा पाँचतारे होटल बुक गरेर खर्च गर्न मिल्दैन ।’

अहिले जो महासङ्घभित्र हुनुहुन्छ उहाँहरु हुनेखाने नै छन् । राज्यका हरेक निकायमा आफ्नो पहुँच स्थापित गर्न सक्छन् । त्यस्ता मान्छेलाई महासङ्घ किन चाहियो ? उहारणका लागि म महासङ्घमा नहुँदैमा मेरो पहुँच कमजोर भएको छ र ? यो भन्दा अघि विभिन्न समितिलाई सक्रिय बनाएर व्यक्तिलाई पनि कामको टीओआर दिइन्थ्यो । गएको तीन बर्षमा न अध्यक्षले काम गरे न त कुनै समितिले काम गर्न सके । कसरी हुन्छ महासङ्घभित्र भएको भ्रष्टाचारलाई ढाकछोप गर्ने र आफ्नो स्वार्थमा लगाउने काम मात्रै भयो । उदाहरणका लागि अहिले पनि अध्यक्ष राणाले चुनावको नाममा होटल बुकिङ गर्दै आर्थिक हिनामिना गर्न खोजे भन्ने समाचारहरु बाहिर आएको छ । यदि यो समाचार सहि हो भने महासङ्घ नेतृत्वले एकदमै गलत काम गर्दैछ । र यसलाई महासङ्घमा रहेका साथीहरुले गलत भन्न सक्नुपर्छ । गलतलाई गलत भन्ने सक्ने साथीहरुलाई मेरो समर्थन रहन्छ ।

तपाई महासङ्घको कोषाध्यक्ष भैसकेको व्यक्ति । महासङ्घ भित्रैबाट भ्रष्टाचार भयो भन्ने आरोप पनि धेरै आइरहेको छ । यो आरोप पुष्टि गर्ने आधार चाहीं के ?

महासङ्घले चुनावको बहानामा होटल बुकिङ गरेर कमाउ धन्दामा लाग्नु एकदमै दुःखद पक्ष हो । महासङ्घले ग्रामिण कृषि अर्थात गरिब किसानको नाममा सरकारसँग लिएको पैसा चुनावको नाममा पाँचतारे होटल बुक गरेर खर्च गर्न मिल्दैन । सबै उद्योगी व्यापारी सक्षम छन् । अर्को कुरा अध्यक्षले कृषि उद्यम केन्द्रको नाममा भ्रष्टाचार गरेको कुरा त मैले प्रमाण सहित नै देखाईदिएको थिए । जसका कारण अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धानको दायरामा ल्याएको छ ।

यसपटकको एशोसिएट्सतर्फको निर्वाचनको गेम चेञ्जर ज्ञानेन्द्रलाल प्रधान हो भनेर भन्दै आएका छन् । यसपटकको निर्वाचनमा तपाईको भुमिका चाहिँ कस्तो रहन्छ ?

मलाई धेरै साथीभाईहरुले विश्वास गरेर प्रोक्सी (मताधिकार) दिएका छन् । मसँग ६२ भोट छ, त्यो सबै त मेरो होइन न नि । धेरै साथीभाईले ज्ञानेन्द्रले महासङ्घको शुद्धिकरणको एजेण्डा लिएको छ, त्यसलाई सहयोग गर्नुपर्छ भनेर विश्वास गरेर प्रोक्सी दिएका हुन् । मैले जहाँभन्दा त्यहिं भोट दिनुपर्छ भनेर मलाई नै मताधिकार दिएका छन् । यसैले पनि छर्लङ्ग हुन्छ कि म महासङ्घभित्र नहुँदा पनि मेरो एजेण्डालाई धेरै साथीभाईले विश्वास गरेका रैछन । मैले महासङ्घभित्र शुद्धिकरणको विषय निकाल्दा महासङ्घभित्रकै मेरा साथीहरु बोलेनन् तर बाहिरका साथीहरुले त मलाई प्रोक्सीकै जिम्मा लगाए नि । महासङ्घ शुद्धिकरणका लागि आवश्यक व्यक्ति ल्याउनका लागि मलाई प्रोक्सी दिइएको छ । तसर्थ म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने यदि तपाई विकृतिको विरुद्ध लड्न चाहानुहुन्छ भने मेरो भोटबाट माईनस हुनुहुन्न । अहिले पनि मलाई चुनावमा उठेका साथीदेखि माथिल्लो निकायबाट दैनिक झण्डै २ सय ओटा फोन आउँछ । मैले चुनावमा उठ्ने साथीहरुलाई पनि भनेको छु तपाईको महासङ्घ शुद्धिकरणको एजेण्डा के हो ? यदि उहाँहरुको एजेण्डा मसँग मेल खायो भने कहाँ, कुन गुट केही पनि नसोधी भोट हाल्ने छु । मलाई प्यानलको मतलब छैन ।

महासङ्घको सोचाईं भनेको राज्यको सोचाई हो । यदि महासङ्घनै गुटबन्दीमा फसेर निकास दिन सकेन भने राज्यको आर्थिक अवस्था कस्तो होला ? हामीजस्तो बुद्धि भएका व्यक्ति बसेको महासङ्घले राज्यलाई योगदान दिन नसक्दा देशको आर्थिक अवस्था दयनीय बन्दै गएको छ । अबका दिनमा पनि शुद्धिकरणलाई अघि बढाएन भने महासङ्घको भविष्य मात्रै होइन देशकै भविष्य रहँदैन । तसर्थ महासङ्घको नेतृत्वमा जाने व्यक्तिहरुमा सोचनको परिवर्तन हुनु जरुरी छ ।

तपाई पनि महासङ्घमा लामो समयसम्म बस्नुभयो । चुनाव आउँदा सबैले शुद्धिकरण, सुदृढिकरण, सचिवालय मजबुत बनाउने जस्ता विषय उठान गर्छन । तर चुनाव जितेर गएपछि ३ बर्षसम्म यी विषय छायाँमा पर्छन, किन ?

विगतका धेरै अध्यक्षहरुले नसोचेका राम्रो काम गरेका छन् । विना हातहतियार महासङ्घले राज्यसँग लडेको थियो । जसले गर्दा महासङ्घप्रति सबैको चासो बढेको हो । त्यसका लागि धेरै पूर्व अध्यक्षहरुलाई धन्यवाद पनि दिनुपर्छ । तर भवानी राणाको कार्यकालको जस्तो विकृति, व्यवसायीक हकहितका लागि काम नगर्ने, यो अवधिकोजस्तो आर्थिक हिनामिना मैले महासङ्घमा कहिल्यै पनि पाईन । तसर्थ अब हुने अध्यक्ष शेखर गोल्छालाई महासङ्घलाई पुरानै साखमा कसरी फर्काउने भन्ने चुनौती थपिएको छ । पहिले राज्यका निकायहरु महासङ्घका पदाधिकारीसँग समय लिएर भेट्थे । तर अहिले म महासङ्घको व्यक्ति हुँ भन्दा नाक खुम्च्याउँछन् ।

तपाई महासङ्घ निर्वाचनमा गेम नै चेञ्ज गर्न सक्ने व्यक्ति अहिले किन महासंघको राजनीतिबाट बाहिरिनु भयो ?

उदाहरणका लागि यसपटक म एसोसिएट्सतर्फको उपाध्यक्षमा उठ्छु भनेको भए कसैले पनि रोक्न सक्दैन्थ्यो । मलाई चन्द्र ढकाल, पशुपति मुरारका, शेखर गोल्छाले हुन्न भनेका थिएनन् । सबैको समर्थन रहन्थ्यो । तर महासङ्घ भित्र रहँदा सधै गुटमै रमाउनुपर्ने अवस्था देखियो । मजस्तो स्वार्थ रहित सोच राख्ने व्यक्तिहरुको गुट बनाउने हो भने त भित्रभन्दा बाहिर नै बलियो हुने रहेछ । जुन कुरा मसँग भएको प्रोक्सीले नै देखाएको छ । मैले नमाग्दा पनि धेरै साथीहरुले मलाई विश्वास गरेर प्रोक्सी दिनुभएको छ । तर ती भोट गुटबन्दीका लागि दिएका होइनन् । महासङ्घ गुटबन्दी र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ भनेर महासङ्घभन्दा बाहिर बसेर सहयोग गर्दैछु ।

कोरोनाको कारण देशको आर्थिक अवस्था नाजुक भैरहेको छ । यो अवस्थामा पनि महासङ्घमा नयाँ नेतृत्व आउन लागिरहेको छ । यो अवस्थामा एसोसिएट्सतर्फबाट चुनावमा प्रतिस्पर्धा गर्ने व्यक्तिहरुलाई कस्तो सुझाव दिन चाहानुहुन्छ ?

कोरोनाका कारण महासङ्घमा मात्रै नभई समग्र देशलाई नै चुनौती थपिएको छ । उद्योगी व्यवसायीदेखि बैंक वित्तीय संस्था सबै क्षेत्रमा चुनौती बढेको छ । अब पनि आफ्नो कार्यशैलीमा रुपान्तरण गर्न सकिएन भने देशको भविष्य राम्रो हुनेछैन । राजनीतिमा हामी झगडा गरिरहेका छौं भने आर्थिक क्रान्तिमा निक्कै पछि परेका हुन्छौं । उत्पादन घटिरहेको छ । नेपालजस्तो मुलुकले भारतबाट २५० मेगावाट बिजुली आयात गर्नेभन्दा खुशी हुनु परेको छ । महासङ्घमा सबै अनुभवी र पुराना खेलाडी छन् । सबैलाई हरेक समस्याको बारेमा जानकारी छ । तसर्थ अब मेरो सोच मेरा लागि नभई राज्यका लागि हुनुपर्यो ।

प्रतिक्रिया दिनुहोस्
MBL