छोटो समय नाफामा सङ्कुचन आउदैंमा आत्तिनुपर्दैनः सन्तोष कोइरालासँगको अन्तर्वार्ता


बिजखबर संवाददाता
28 August, 2020 9:11 am

santosh_koirala_machhepurche_bizkhabar

कोभिड १९ पछिको लकडाउन तथा निषेधाज्ञाका कारण सम्पूर्ण जनजीनव प्रवाभिव भएको छ भने उद्योग धन्दा ठप्पजस्तै छन् । केही समय नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा कोभिड १९ को असरबारे प्रकाशित गरेको रिपोर्टले पनि अर्थतन्त्र तत्काल लयमा नफर्कने देखाएको छ । उद्योग व्यवसाय ठप्प भैरहँदा त्यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाको आम्दानीमा देखिएको छ । जसका कारण गत आर्थिक बर्षमा सबैजसो बैंकहरुको नाफामै गिरावट आएको छ । कोरोनाका कारण आगामी दिनमा बैंक वित्तीय संस्थामा पर्नसक्ने असर, सोका लागि बैंकहरु गर्नुपर्ने पूर्व तयारीजस्ता विषयमा केन्द्रित रहेर माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालासँग बिजखबरले गरेको कुराकानीको सार :

Tansen-Webbanner-(200x200)-pxl
bajaj

लामो समयको कोभिड–१९ महामाहारीको अवस्थामा अबको बैंकिङ् क्षेत्रमा कस्तो चुनौती देख्नुभएको छ ?

कोभिड–१९ ले समग्र देशको अर्थतन्त्रमै नकारात्मक असर गरेको छ । धेरै व्यवसायहरु थला परेका छन् । यसले बैंकलाई पनि प्रत्यक्ष असर गर्ने नै भयो । विश्वव्यापी रुपमा फैलिएको कोभिडको हालसम्म कुनै पनि तत्काल समाधान नदेखिएका कारण कुन क्षेत्रमा कति असर पर्छ अहिले नै आँकलन गर्न अवस्था देखिदैन । त्यो नै सबै भन्दा ठुलो चुनौती हो जस्तो लाग्छ, मलाई । कोभिडको नकारात्मक असर त छदैंछ, यसले केही अवसरहरु पनि लिएर आएको छ । मुख्यरुपमा बैंक तथा ग्राहकहरुलाई डिजिटाइजेसन र डिजिटल कारोबार गर्न प्रेरित गरेको छ ।

अहिले राष्ट्र बैंकले २०७६ पुससम्म उठेको तर असार मसान्तसम्म असुल नभएका कर्जालाई असल कर्जाको सूचीमा राखेर ५ प्रतिशत प्रोभिजन गर्ने भनेको छ । अब असोज मसान्तसम्म असुली नहुँदा २५ प्रतिशत प्रोभिजन गर्नुपर्ने होला । कोरोना प्रभावका कारण ऋण असुली नहुने तर प्रोभिजन भने गर्दै जानुपर्ने कारण बैंकहरु धराशायी हुँदैनन ?

हाल रहेको विषम परिस्थितिमा सबै क्षेत्र उत्तिकै प्रभावित भएका देखिन्छन् । यस्तो भयावह स्थितिमा बैकिङ् क्षेत्रमात्र सबल रहने कुरै भएन । राष्ट्र बैंकले जारी गरेका निर्देशनहरुको अधिनमा रहेर धेरै प्रोभिजन गर्दैमा बैंकहरु धराशायी हुने भने पक्कै होइनन् । अबका केही वर्षको नाफामा केहि संकुचन भने आउला तर दिर्घकालीन व्यवसाय गर्ने बैंकहरु जस्ता संस्थाले छोटो समयका लागि नाफामा संकुचन आउदैमा आत्तिनै हाल्नुपर्छ, जस्तो भने मलाइ लाग्दैन । समयसापेक्ष यस्ता नीति र नियमले बैकिङ् क्षेत्र अझै सुदृढ र सक्षम नै बन्छ जस्तो लाग्छ ।

मौद्रिक नीति र निर्देशनले अहिले नै असारसम्मको बाँकी रकम असोजसम्म असुली गर्न समय दिएको छ । यस्तो अवस्थामा चालू आवको पहिलो त्रैमासको ब्याज र किस्ता कसरी असुली होला ? कि यसका लागि समय थप गर्नुपर्छ भन्ने हो ?

कोभिड –१९ का कारण चैत महिनादेखि रहेको बन्दाबन्दी हेर्दा मौद्रिक नीति र निर्देशनले असारसम्मको बाँकी रकम असोजसम्म असुली गर्न दिएको समय हालको परिस्थिती अनुसार सान्दर्भिक थियो । संक्रमण समुदायमा फैलिने जोखिम र दिनानुदिन बढ्दै गएको संक्रमितको संख्याले गर्दा स्थानिय निकायले फेरी जारी गरेको निषेधाज्ञाका कारण पहिलो त्रैमासको ब्याज र किस्ता समयमै असुली गर्न सहज नहोला । यस परिस्थितीमा समय थपमात्र समस्याको समाधान नहुन सक्छ । अब केन्द्रिय बैंकले नयाँ विकल्प खोजी गर्छ जस्तो मलाई लागेको छ ।

विदेशमा रहेका नेपालीहरुले आफ्नो घरपरिवारमा सजिलै पैसा पठाउन सकुन् भन्ने उद्देश्यले छिट्टै नै रेमिट वालेट लिएर आउदैछौँ । टेक्नोलोजीको सेक्टरमा बैंकलाई अब्बल बनाउने योजना छ । अर्को कुरा सुशासन र कम्प्लायन्समा शून्य सहनशीलताको नीति अपनाएर बैंकलाई बलियो बैंकको रुपमा स्थापित गरेका छौं भने ईन्नोभेसन र ग्राहक सेवामा विशेष ध्यान दिदै जानेछौं ।

मौद्रिक नीतिले निर्देशित कर्जाको सिमा ४० प्रतिशत पुर्याएको छ । यस्तो अवस्थामा बैंकहरुले धान्न सक्छन् ?

हाल नेपाली अर्थतन्त्रको प्राथमिकता भनेको उर्जामा आत्मनिर्भर हुँदै , उत्पादनमुलक क्षेत्रको विकास गरी स्थानिय स्तरमा नै नयाँ रोजगारी सिर्जना गर्नु साथै नयाँ उद्यामीलाई लगानीलाई प्रोत्साहित गर्नु हो । यी सबै विषयवस्तु मौद्रिक नीतिले समेटेको छ जस्तो लाग्छ । बैंकहरुलाई समय सीमा त दिएको छ तर केही क्षेत्रमा तोकिए बमोजिम कर्जा प्रवाह गर्न चाहिं कठीन नै देखिन्छ ।

अहिले बैंकहरुमा तरलता थुप्रिएर कर्जा लगानी तथा कर्जा स्वापमा अस्वस्थ प्रतिपर्धा बढेको छ भन्ने सुुनिन्छ । परिस्थिति त्यस्तै हो ?

कोभिड –१९ र यसका कारणले सिर्जना भएको लकडाउनले गर्दा बैंकिङ् क्षेत्रमा धेरै तरलता देखिएता पनि तत्काल लगानी योग्य वातावरण सिर्जना हुनसक्ने देखिदैन र तरलता पनि ‘सर्टटर्म’ को लागि मात्र हो कि जस्तो देखिन्छ । तरलता थुप्रिएका कारण आक्रामकरुपमा व्यापार विस्तार गर्दा केही बैंकहरुले ओभर फाइनान्सिङ साथै स्वाप गर्दा अन्य बैंकका कमसल कर्जामा पनि लगानी गरेका हुन सक्छन । यसले गर्दा समग्र बैकिङ् क्षेत्रभन्दा पनि ती केही बैंकहरुलाई मात्र असर पर्ने देखिन्छ ।

अहिले माछापुच्छे बैंकको कमाण्ड सम्हाल्दै हुनुहुन्छ । तपाईको कार्यकालमा यस बैंकलाई कस्तो बैंकको रुपमा अघि बढाउने लक्ष्य र योजना लिनु भएको छ ?

प्रतिस्पर्धाको अहिलेको समयमा आफूलाई अग्रपंक्तिमा राख्नको लागि कुनै न कुनै रुपमा फरकपन हुन जरुरी छ नै । त्यसैले हामीले हाम्रो अधिकांश कामहरुलाई काजगविहिन प्रविधिमा आधारित बनाउन काम गरिरहेका छौं । माच्छापुच्छ्रे बैंकका ग्राहकहरुले अहिले पनि घरमै बसेर क्षणभरमा नै मोबाइलबाट मुद्धति खाता खोलेर बचत गर्नेदेखि ऋणको लागि आवेदन दिनेसम्मको प्रविधिको विस्तार हामीले गरिसकेका छौं । त्यस्तै विदेशमा रहेका नेपालीहरुले आफ्नो घरपरिवारमा सजिलै पैसा पठाउन सकुन् भन्ने उद्देश्यले छिट्टै नै रेमिट वालेट लिएर आउदैछौँ । टेक्नोलोजीको सेक्टरमा बैंकलाई अब्बल बनाउने योजना छ ।

सुशासन र कम्प्लायन्समा शून्य सहनशीलताको नीति अपनाएर बैंकलाई बलियो बैंकको रुपमा स्थापित गरेका छौं । यसलाई हामी निरन्तरता दिन्छौं । यससँगै बिजनेस ग्रोथको हिसाबमा पनि हामीले राम्रो गरिरहेका छौं । ईन्नोभेसन र ग्राहक सेवामा विशेष ध्यान दिदै जानेछौं । समग्रमा, बैंकलाई एक अब्बल बैंकको रुपमा स्थापित गर्ने योजनामा छौं ।

प्रमुख कार्यकारी अधिकृतको हैसियलते ग्राहकहरुलाई सेवा सुविधाको साथमा बैंकमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा र व्यक्तित्व विकासमा पनि उत्तिकै महत्व दिनु जरुरी कुरा हो जस्तो मलाई लाग्छ । अहिले जटिल परिस्थितीमा बैंकमा कार्यरत कर्मचारीको स्वास्थ्य विशेष प्राथमिकताको विषय हो । त्यसैले हामीले सुरक्षा सावधानीका कुराहरुदेखि लिएर कर्मचारीको कोरोना बिमा तथा समयमै तलबभत्ताका कुराहरुमा कुनैपनि प्रकारको सम्झौता गरेका छैनौं । कार्यालय काम गर्ने थलोभन्दा पनि परिवार जस्तो हुनुपर्दछ भन्ने मान्यता राख्ने मान्छे भएको हुनाले पनि मलाई मानव संसाधान र सही व्यक्तिको सही स्थानमा सदुपयोग हुनुपर्दछ भन्ने लाग्छ । जुन् कुरा माच्छापुच्छ्रे बैंकको सबल पक्ष हो । यहि पक्षको कारण आज हामी हाम्रा कर्मचारी साथिहरु संगै ग्राहकको विश्वास जित्दै अरु भन्दा पृथक तरिकाले अगाडी बढिरहेको छौं जस्तो मलाई लाग्दछ ।

मौद्रिक नीतिले मर्जर तथा एक्विजिशनलाई प्राथमिकता साथ उठान गरेको छ । मर्जरमा जानका लागि केकस्तो तयारी गर्दै हुनुहुन्छ ?

सर्वप्रथम मर्जर के का लागि भन्ने बुझ्न जरुरी छ । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई प्रोत्साहित गर्न खोजिएको जस्तो देखिएको छ । हामी पनि मर्जरका लागि खुल्ला छौं र उपयुक्त साथी र समयको पखाईमा छौं ।

कोभिडका कारण गत बर्ष बैंकको वितरणयोग्य नाफा घटेको देखिन्छ । यस्तो अवस्थामा सेयरधनीलाई प्रतिफल दिने केकस्ता योजना छन् ?

कोभिडले विश्वव्यापी रुपमा अर्थतन्त्रमा पारेको असर कसैसँग पनि लुकेको छैन । हालको परिस्थितिमा लाखौ बेरोजगार भएका छन, धेरैको व्यापार बन्द हुने अवश्थामा पुगेको छ , र सबै भन्दा डरलाग्दो कुरा त के छ भने कोभिडको रोकथाम चाडै होला जस्तो पनि छैन । यस्तो अवस्थामा सेयरधनीहरुले वितरणयोग्य नाफामा देखिएको संकुचन बुझि धेरै प्रतिफलमा जोड दिनुहुन्छ जस्तो मलाई लाग्दैन । तर पनि कोभिडको प्रतिकुल असरको बाबजुद पनि हामी हाम्रा सेयरधनीहरुलाई उचित लाभांश बाड्न सफल हुने छौ जस्तो देखिन्छ त्यो हालको परिस्थितिमा धेरै राम्रो हो जस्तो लाग्छ मलाई ।

प्रतिक्रिया दिनुहोस्