Logo

अगष्ट २९ मा जापान उडान हुन्छ या हुँदैन, त्यो भन्न सक्दिन

अगष्ट २९ मा जापान उडान हुन्छ या हुँदैन, त्यो भन्न सक्दिन


बिजखबर संवाददाता
5.5k
Shares

नेपाल बायुसेवा निगमले लामो र नयाँ गन्तव्यमा उडान भर्न सरकारको जमानीमा २४ अर्ब ऋण लिएर २ वटा एयरबस खरिद गरेको थियो । निगमले एयरबस खरिद गरेपनि सोही अनुरुप उडाउन नसक्दा निगम अहिले घाटामा छ भने कर्जा लिएको कर्मचारी संचय कोष र नागरिक लगानीकोषलाई किस्ता समेत तिर्न नसक्ने अवस्थामा पुगेको छ । सरकारले पनि अहिलेकै अवस्थामा निगमलाई थप ऋण नदिने बताईसकेको छ । यसैबीचमा निगमले आफ्नो लामो र आकर्षक गन्तब्यको रुपमा जापान उडान भर्न अनुमति पाईसकेको छ । जापान उडानको लागि मिति तोकिएपनि २ पटकसम्म समय सर्दा हालसम्म अन्योलको अवस्थामा छ । केही समय अघि निगमले जापानको आफ्नो तत्कालिन प्रतिनिधि देबमान हिराचनलाई हटाएको थियो । तर, सर्वोच्च अदालतले पुनः हिराचनकै नाममा अन्तरिम आदेश दिई उनैलाई निरन्तरता दिन आदेश दिएको छ । यसै विषयमा केन्द्रित रहेर निगमको यहि अगष्ट २९ मा हुने भनिएको जापान उडान तथा हाल भइरहेको तयारीको विषयमा निगमको जापान प्रतिनिधि देवमान हिराचनसँग बिजखबरका रामराजा श्रेष्ठ र राङडोल लामाले गरेको कुराकानीको सार  :


नेपाल वायुसेवा निगमको जापान प्रतिनिधिको रुपमा पहिला तपाईलाईं नियुक्ति गरेर पछि हटाइयो । यो विषयमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश समेत जारी गरिसकेको छ । खासमा विवादको परिस्थिति किन निर्माण भएको थियो ?

मेरो तर्फबाट भन्ने हो भने विवाद केही पनि होईन । नेपाल एयरलाइन्सले जापान उडान गर्नु पर्छ भन्ने मेरो धारणा हो । यो आधारमा हेर्ने हो भने कुनै विवाद छैन । तर निगम व्यवस्थापनबाट कसरी मलाई हटाईयो भन्ने विषय उहाँहरुलाई नै सोध्नुपर्छ । आजसम्म मेरो तर्फबाट भने कुनै विवाद छैन । निगम भनेको नेपाली जनताहरुको पैसाबाट चलेको संस्था हो । हामीले तिरेको कर पसिनाले खरिद गरेको जहाज हो त्यसको उडान गर्नुपर्छ, सफल बनाउनुपर्छ त्यसमा मेरो कुनै पनि विवाद छैन । मैले त निगमको जहाजलाई जापान उडान गर्न ११ बर्षदेखि प्रतिनिधिको रुपमा काम गर्दै आएको छु र अहिले पनि गर्दै छु ।

जहाज जापान उडान गर्न अनुमति ल्याउनु पर्यो भनेर निगम व्यवस्थापनले भनेपछि मैले जापान सरकारसँग हाम्रो फाईरिङ कम्पनीबाट आवेदन दिएर अनुमति लिएको हो । हामीले अप्रिलको ९ तारिखमा सबै कागजपत्र तयार गरेर बुझायौं र अप्रिल २५ मा अनुमति पाउन सफल भयौं । वास्तवमा त्यतिबेला जापान सरकारले नेपाली जहाजलाई जापान उडानको लागि विशेष स्वीकृति दिएको थियो । सामान्यतया अनुमति लिन ४५ दिन लाग्ने गरेकोमा हामीले १६ दिनमै पायौं । नेपाल एयरलाईन्सले पहिले उडान गरिसकेकोले अहिले पनि सहज रुपमा उडान अनुमति दियो ।
उदाहरणका लागि चीन, दुबईलगायत अन्य देशले अडिटको कुरा गर्दै अनुमति दिएको छैन तर जापान सरकारले त्यो अडिटको कुरा नगरी हामीलाई अनुमति दिएको छ । अन्य मुलुकले जस्तै जापान सरकारले पनि युरोपियन युनियनले राखेको कालो सुचीको कुरा गर्दै नेपाललाई जापान उडान नदिन पनि सक्थ्यो होला । तर उनीहरुले त्यसलाई बेवास्ता गर्दै हामीलाई सहजै अनुमति दिए ।

जापानको उडान अनुमति ल्याउनुमा तपाई आफ्नो भूमिका दाबी गर्नुहुन्छ । निगमसँग सहकार्य नगरी त त्यो सम्भव भएन होला नि ?

मेरो जापान सरकार तथा त्यहाँका राजनीतिज्ञहरुसँग राम्रो सम्बन्ध छ । म धेरैलाई राम्रोसँग चिन्छु पनि म जापान बसेको पनि ४६ बर्ष भई सक्यो । जसले गर्दा मलाई त्यहाँको सरकारसँग लबिङ गरेर उडान अनुमति लिन सहज भयो । नेपाल एयरलाईन्सलाई जापान उडानका लािग मैले आफ्नो दायित्व बहन गरेको छु ।

तपाईं जापान बसेको भएपनि त्यहाँको आफ्नो प्रतिनिधि नियुक्त गर्ने अधिकार त निगमकै हुन्छ नि ?

पहिले मलाई जापान उडानको लागि अनुमति लिएर आउनुस भन्ने अनि अनुमति ल्याएको भोलिपल्टै मलाई जापान प्रतिनिधिबाट हटाएर अरुलाई दिँदा यहाँ भित्र के खेल भइरहेको छ म आफैंले पनि बुझन सकेको छैन । मैले ११ बर्षदेखि निगमको तर्फबाट जापानमा प्रतिनिधि भएर काम गर्दै आएको छु । पहिला निगमको उडान आउने बेलामा पनि मैले नै पिएसए गरेको थिए । जापान सरकारबाट अनुमति ल्याएर सबै उडानको लागि व्यवस्था मैले गरे । निगमकै लागि भनेर अहोरात्र खटे । अब मैले निगमको लागि घाँटी मात्रै काटेर दिन बाँकी छ । निगम नेपालीहरुको सम्पत्ती हो यसलाई सबैले माया गर्नुपर्छ भनेर मैले पनि आफ्नो तर्फबाट सक्दो काम गरे त्यहि अनसार दुःख पनि । यसलाई हामीले कसरी सफल गर्छ भनेर लागिपरेको छु । तर, निगम व्यवस्थापनले मलाई किन हटायो भन्ने बुझनलाई उहाँहरुलाईनै सोध्नु पर्ने हुन्छ ।

लामो समय एकै व्यक्ति प्रतिनिधि रहिरहँदा झन् बढी हाबी हुने सम्भावना पनि त हुन्छ ?

होईन, मोनोपोली हुनु पर्ने कारण नै छैन । यो ग्लास जस्तो छर्लङ्गै छ । हामीले अहिलेसम्म जापान उडान गर्न लागेको हो तर जिन्दगी भर मलाई नै चाहिन्छ भनेको होईन । मैले दुख गरेपछि निगम व्यवस्थापनले त्यसको मर्म बुझिदिनु पर्यो मात्रै भनेको हुँ । जिन्दगीभर नेपाल एयरलाईन्स चलाउँछु भनेर मेरो सोच पनि छैन । तर उडान त हुन दिनु पर्यो नि ? उडान नै नभई निकाले पछि तपाई आफैं सोच्नुहोस न मलाई पनि कस्तो होला । एउटा मात्रै उडान भए पनि उडान गर्न त दिनु पर्यो नि ।

उडान भर्ने बेलामा तपाई प्रतिनिधि होईन भनेर भनेपछि कति चित्त दुखाईको विषय होला मलाई पनि भएको त्यही हो । जापानमा बस्ने मेरा आफन्त साथीभाइहरुले भन्छन् तपाईलाई प्रतिनिधिबाट हटाउँदा हामीलाई धेरै चित्त दुख्यो भनेर । साथीभाईलाई त त्यति चोट परेको छ भने मलाई कस्तो हुन्छ होला । तपाईले हुर्कायो बढायो फलायो यहाँसम्म ल्यायो बल्ल फल खाने बेलामा हटायो । मैले मेरो स्वार्थको लागि गरेको होईन म निगममा नै बसेर सबै गर्छु भनेको पनि होईन । यसलाई संचानल गरौं, व्यवस्थित गरौं अनि त्यस पछि सोचे हुन्छ नि यो कुरा होईन र ? हतार हतार गरेर यो गर्नु पर्ने कारण किन ? तर मेरो एउटा मात्रै माग के छ भने निगमको जहाजलाई हामी सबैले सफल गरौं भन्ने त्यतिमात्रै चाहना हो ।

यसलाई राम्रो बनाउनु पर्यो किनभने भोली जापान उडान हुने भए पछि जापानी पर्यटक आउने हो । भ्रमण बर्ष २०२० भन्दैमा त्यतिकै कोही आउँदैन । नेपाल जापान सिधा उडान गरेर जापानीहरुलाई त हामीले विश्वास दिलाउनु पर्यो नि । हामीले नेपालीसँगसँगै बिदेशी (जापानी) पर्यटकलाई तार्गेट गर्नु पर्छ । जस्ले गर्दा नेपालको पर्यटनमा सहयोग पुग्ने छ । जापान यति गाह्रो देश हो तपाईहरुलाई पनि थाहा नै होला । एउटा लाईन मात्रै नभए पनि उनीहरुले एसेप्ट नगर्ने देश हो । तर पनि जापान सरकारले नेपाललाई तपाईहरु आउनुहोस भनेर जहाज उडान अनुमति दिएको छ । हामीसँग जहाज छ हामीसँग पाईलट छ, सबै व्यवस्थित छ किन उडान हुन सकेन भन्ने कुरा म आफैं पनि अचम्ममा परेको छु ।

अहिले पछिल्लो समय ओसाका उडानको लागि टिकट विक्रीलगायत प्रक्रिया अगाडी बढाइसकेको छ । यसमा तपाईंको संलग्नताको स्थिति के छ ?

सर्वोच्च अदालतबाट जुन निर्णय आएको छ त्यस विषयमा निगमले अहिलेसम्म मलाई कुनै पनि जवाफ दिएको छैन । उहाँहरुले मलाई किन जानकारी नदिनु भएको हो थाहा भएन । रह्यो कुरा टिकटको । जापानमा टिकट बिक्रीका लागि सिस्टम समेत विकास भएको छैन । जापानमा टिकट बिक्री गर्ने कुनै व्यवस्था नै छैन । अहिले पिएसपी भन्ने एक ठाउँबाट केही टिकटहरु बिक्री भएको भन्ने सुनेको छु तर जापानको ओसाका कार्यालयबाट कुनै पनि टिकट बिक्री भएको छैन । हालसम्म कति टिकट बिक्री भयो वा भएन त्यो त निगम हेड अफिसलाईनै जानकारी होला । अहिलेसम्म मेरो तर्फबाट कुनै पनि टिकट बिक्री भएको छैन । सम्मानित सर्बोच्च अदालतले मेरो पक्षमा फैसला गरेपछि नेपाल एयरलाईन्सले हालसम्म मलाई बोलाएको छैन । सर्वोच्च अदालतको आदेश आएपछि निगमले मसँग छलफल गर्नुपर्छ नि । तर अहिलेसम्म पनि सर्वोच्च अदालतबाट जुन निर्णय भएको छ त्यसको निगमबाट मलाई कुनै पनि जानकारी आएको छैन । म अहिले पनि निगमको जवाफको पर्खाइमै छु ।

तपाईंले भनेजस्तै अन्तरिम आदेशपछि पनि निगमले समन्वय नगरेको अवस्थामा जापान उडानमा कुनै प्रभाव त पर्दैन नि ?

त्यो कुरा नेपाल एयरलाईन्सलाई नै सोधनु पर्ने हुन्छ । उहाँहरुले सर्वोच्चको अन्तरिम आदेश आईसके पछि तुरुन्तै मसँग सम्पर्क गरेर जहाज उडान गर्न के के गर्नु पर्छ तपाईले गर्दिनुपर्यो भनेर आउनु पर्ने हो । अहिलेसम्म केही पनि नआएकाले म पर्ख र हेरको अवस्थामा छु । तर पनि हामी आफ्नो तरिकाबाट अगाडी बढिरहेका छौं ।

जापान तर्फको तयारी कस्तो छ त ?

जापानको कुरा गर्ने हो भने कार्यालय स्थापनादेखि लिएर सबै तयारी भईसकेको छ । अहिले पनि कुन किसिमबाट अगाडि बढेको छ भन्ने कुरा मलाई त्यति ज्ञान भएन । यस विषयमा हेड अफिलाई सोध्नुपर्छ । तर मेरो तर्फबाट गर्नुपर्ने काम म गरिरहेको छु । मैले सबैसँग सम्पर्क गरिरहेको छु । विमानस्थलमा के के गर्नुपर्छ त्यो तयारी पनि भईरहेको छ । तर अगष्टको २९ तारिखको जुन लक्ष्य छ, त्यस विषयमा म केही भन्न नसक्ने अवस्थामा छु । जब निगम व्यवस्थापनसँग मेरो कुरा हुन्छ त्यसपछि मात्रै मैले निर्णय गर्न सक्छु । हुन त २९ को लागि भनेर हामीले पहिले नै निर्णय गरिसकेको अवस्था हो । त्यो बेलामा मैले नै गएर फाईलिङ कम्पनी (जेक्याप)सँग गएर मिति तय गरेको हो । तर पनि अहिले विभिन्न किसिमको कुरा सुन्दा कसरी अगाडी गईरहेको छ त्यो हेड अफिससँग जानकारी लिदाँ राम्रो होला । सर्वोच्चको अन्तरिम आदेश आईसकेपछि उहाँहरुले म सँग तुरुन्त सम्पर्क राखेर छिटोभन्दा छिटो त्यसलाई व्यवस्थित गर्नु पर्ने हो तर अहिलेसम्म हुन सकेको छैन ।

यात्रुको हिसाबले ओसाका आकर्षक गन्तव्य हैन, निगमलाई सन्चालन खर्च पनि उठाउन समस्या पर्छ भन्ने सुनिन्छ नि ?

यो हल्ला गलत हो । किन गलत हो भने ओसाका भनेको जापानको मध्य विन्दु हो । जस्तो नारिता सहर भनेको टोकियोबाट एक घण्टा ट्रेन चढेर जानु पर्छ । नारिता भनेको चिवा भन्ने एउटा ठाउँ हो । तर त्यहाँ पुरै नेपालीहरु छन भन्छन । तर त्यो चिवा भन्ने ठाउँमा त्यती नेपालीहरु पनि छैन । मुख्य कुरा के हो भने जापानको मुख्य विन्दु कहाँ हो भन्ने कुरा महत्वपूर्ण हो । हामी नेपाली मात्रै ओसार्ने होईन जापानी पर्यटक पनि ल्याउनु पर्यो । त्यसको लागि हामीले के सोच्नु पर्छ भने ओसाकामा हामीले फ्लाइट रिज्यूम गर्नुपर्यो भने पहिले हामीले ११ बर्ष अगाडी उडान गरिसकेको थियो । उडान आएको स्थानलाई अनुमति लिनलाई सजिलो हुन्छ । फेरी ओसाका भनेको मुख्य केन्द्र हो । जस्तो क्युस्युफोको जुन दक्षिण भेगबाट आउने हो उहाँहरु त्यहाँ आउनलाई धेरै सजिलो हुन्छ ।
ओसाकाको उडान सफल भए पछि नारिता जाने भन्ने हाम्रो सोच हो । नारिता हामी जान्न भन्न खोजेको होईन । तर मान्छेमा के भ्रम भयो भने नेपालीहरु त नारितामा छ । नेपालीहरु नारितामा मात्रै होईन सबै क्षेत्रमा छ । सञ्चालनको हिसाबले पनि ओसाका उपयुक्त गन्तव्य हो । नेपालबाट ओसाका र ओसाकाबाट ५ सय किलोमिटरको दुरीमा पर्छ नारिता सहर । उडानको हिसाबले खर्च त त्यहाँ बढी हुन्छ । त्यसो भएको हुनाले नारिता जान ओसाका ५ सय किलोमिटरको दुरी पार गर्दै नारिता जानु पर्ने हुन्छ ।

नारिताको कुरा धेरै आएको छ । यो तपाईंकै पहलमा वा उडान सहजरुपमा लिन सकिने कारणले पहिले ओसाका उडान रोजेको हो ?

होईन ओसाका भनेको पहिले पनि उडान भईसकेको हुनाले । फेरी त्यो उडान आईसकेको भएकाले उडान अनुमति लिनलाई सजिलो भएकाले पनि हो । अब नारितामा उडान अनुमति लिनलाई समय लाग्ने भयो त्यही भएर ओसाका चाहिँ महत्वपूर्ण स्थान भयो नि । नारितामा सम्भावना हुँदाहुँदै हाम्रै पहलमा ओशाकामा उडान सुरु गर्ने भन्ने कुरा विल्कुलै गलत हो । हामी नारिता पनि जाने हो । तर किन भने हामीसँग कतिओटा जहाज छ र जम्मा २ ओटा मात्रै त हो । नारिता पनि उडान गर्ने र ओसाका पनि उडान गर्न सम्भव हुँदैन किन भने क्युस्युयो क्षेत्रको मान्छे दक्षिणको मान्छे नेपाल आउनु पर्यो भने एक दिन नारितामा बस्नु पर्ने हुन्छ । हामीले मान चित्रनै हेर्ने हो भने पनि ओसाका केन्द्र भागमा देख्न सकिन्छ ।

अब निगमले सेप्टेम्बर देखी नारितामा चार्टर उडान गर्ने भनेको छ । यसले ओसाका उडानलाई कतिको प्रभाव पर्छ ? के यो सम्भव देख्नुहुन्छ ?

अव यो विषय मलाई खासै जानकारी नभएकाले यसलाई निगमसँगनै बुझदा राम्रो हुन्छ भन्ने मेरो कुरा हो । मैले बुझेको चार्टर भन्ने वित्तिकै महंगो हुन्छ । तर अरु कुरा मलाई थाहा भएन । तर विमान रिजर्भ गरेर उडाउनु पर्छ ।

ओसाका र नारितामा उडानको हिसाबले कुन राम्रो ?

ओसाका १०० प्रतिशत राम्रो हो । डेटा हेर्नुस तपाईले । एक दुई जना व्यक्तिसँग कुरा गर्ने हैन कि सबै डेटा लिने हो र हेर्ने भने ओसाका जस्तो राम्रो काहीँ पनि छैन । किनभने मलाई ढाँटेर कुनै स्वार्थ लुट्नु छैन । नेपाली जहाजलाई सफल बनाउनु छ । ओसाकाबाट मैले ८० प्रतिशत अकुपेन्सी भर्छु भनेर लेखेरै दिएको छु हाम्रो सम्झौतामै छ त्यो । त्योभन्दा बढी मैले के कमिटमेन्ट गर्ने आफैं भन्नुहोस । वास्तवमा नारिता र ओसाकाको ईस्यु होईन कि नारिता भनेको पछि जाने हो । ओसाका त पहिले पनि आइसकेको हुनाले अनमति लिन पनि सजिलो त्यहाँ व्यवस्था गर्न सजिलो हुन्छ सेन्टरमा पर्छ । नारिता भनेको एउटा गाउँ हो । हानिदा भयो भने अर्कै थियो । नारिता भनेको धेरै टाढा हो ।

११ बर्षपछि जापान उडान गर्दा त्यो कति लामो समयसम्म टिक्छ जस्तो लाग्छ ?

अब निगममा नयाँ जहाजहरु आएको छ, त्यो हिसाबले टिकाउ हुनुपर्छ । अब व्यवस्थापनले यो निर्णय गर्नुपर्छ किनभने उहाँहरुले हामी निरन्तर उडान गर्छु भनेर हेड अफिसबाटै भयो भने यो सम्भव छ । हामीसँग ग्राहक छ, यात्रु छ, उडानको लागि व्यवस्थित छौं, सबै छ हामीसँग भने त्यसमा कुनै पनि रोक्नु पर्ने अवस्था छ जस्तो त लाग्दैन । बिचमा छोड्नु पर्ने कारण पनि छैन । पहिले हामी ११ बर्ष किन रोकेको भने एउटै मात्र कारण छ । हामीसँग ७५७ बोईङ मात्रै थियो । त्यसबाट साङ्घाई हुँदै ओसाका आउन पर्ने अवस्था थियो किनभने सिधा उडान गर्न सकिँदैन थियो बोईङले ।

तर अब त हामी सिधा उडान गर्न सक्ने जहाज हामीसँग यात्रु पनि राम्रै आउँछ । लागत पनि कम हुन आउँछ र आयश्रोत बढी हुन जान्छ । जसले गर्दा अहिले सजिलो छ पहिलेको जस्तो ट्रान्जिट भएर जानु पर्ने अवस्था छैन हाम्रो जहाज नपुगेर पनि हो हामीले निरन्तरता दिन नसकेको । घरी बिग्रने त कहिले के भए पछि निरन्तरता दिन नसकेको हो । त्यसको लागि कुनै समस्या छ जस्तो लाग्दैन तर व्यवस्थापनले निरन्तर लैजान्छु भनेर निर्णय गर्न सक्नु पर्यो मैले निर्णय गर्ने कुरा भएन ।

भ्रमण बर्षको अवसर पारेर निगमले जापान उडान गर्न लागेको चर्चा भइरहँदा त्यहाँबाट पर्यटक नेपाल ल्याउन सक्ने अवस्था छ ?

एउटा चाहिँ के छ भने पहिले नेपाल एयरलाईन्स आउँछ भन्ने जुन हामीले प्रेस रिलिज गर्यौं, सबै जापानीले नेपाल मन पराउँछन्, उनीहरु नेपाल आउन आत्तुर छ । एक हिसावले पनि प्रचार प्रसार त त्यही भईसकेको छ । दोस्रो कुरा के छ भने २०२० मात्रै होईन यो अगष्ट देखिनै मान्छेहरु आउन सुरु गर्छ । जसले गर्दा २०२० मा त्यसलाई समग्रमा समायोजन गर्दै जान सकिने कुरा देखि रहेको छु । हामीले जुन लक्ष्य राखेका छौं, त्यो पुरा हुन्छ किनभने अहिले म जापानबाट नेपाल आउनु पर्यो भने १७ घण्टा लाग्छ मलाई । अहिलेसम्म सिधा उडान छैन हामी जापान देखी आउन होस या जापान नै जान किन नहोस हामी कि त हङकङ भएर आउनु जानु पर्छ कि त अर्को दोस्रो देश भएर आउ जाउ गर्नु पर्ने हुन्छ ।

तर निगमको जहाजबाट सिधा उडान मा आयो भने जापानबाट साढे ६ घण्टामा नेपाल आईपुग्छ । मान्छे त त्यसै बढ्छ नि बाहिरबाट घुमेर आउजाउ गर्नु नपरे पछि त्यसैले मैले के भन्न खोजेको हो भने जसरी हुन्छ हामीले यो उडानलाई सफल बनाउनु पर्छ । सबै एक जुट भएर लाग्नु पर्ने हुन्छ । एउटाले अर्काको खुट्टा तान्ने प्रवृत्ति त्याग्नु पर्छ । जबसम्म एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति रहन्छ, तबसम्म कुनै पनि काम सफल हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्
MBL