Logo

थाइल्याण्डमा नयाँ प्रधानमन्त्रीको पदभार ग्रहण, जापानका प्रधानमन्त्रीद्धारा राजीनामा घोषणा

थाइल्याण्डमा नयाँ प्रधानमन्त्रीको पदभार ग्रहण, जापानका प्रधानमन्त्रीद्धारा राजीनामा घोषणा



काठमाडौं । थाई टाइकुन अनुतिन चार्नविराकुलले आइतबार प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । राजाको अनुमोदनसँगै उनी देशका नयाँ नेता बनेका हुन् । यससँगै कन्जरभेटिभ कार्यकालको नयाँ चरण सुरु भएको छ । “महामहिम राजाले अबदेखि श्री अनुतिन चार्नविराकुललाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्नुभएको छ”, थाइल्यान्डको संसद्को तल्लो सदनका महासचिव अर्पथ सुखानुन्थले बैङ्ककस्थित अनुतिनको भुमजाइथाई पार्टीको मुख्यालयमा आयोजित समारोहमा शाही आदेश वाचन गर्दै घोषणा गरे ।

अन्ठाउन्न वर्षीय अनुतिनले यसअघि उपप्रधानमन्त्री, गृह मन्त्री र स्वास्थ्य मन्त्रीका रूपमा सेवा गरिसकेका छन् । तर उन विशेषगरी थाइल्यान्डमा सन् २०२२ मा भएको गाजा आपराधीकरण प्रक्रियाका प्रमुख योजनाकारका रूपमा चर्चित छन् । उनी दुई वर्षको अवधिमा देशका तेस्रो प्रधानमन्त्री बनेका हुन् । तर उनले गठबन्धनको समर्थन त्यतिबेला मात्रै प्राप्त गरेका छन् जतिबेला उनले चार महिनाभित्र संसद् विघटन गरी नयाँ चुनाव गराउने सर्त स्वीकृत गरेका छन्।

अनुतिनले लोकप्रिय सिनावात्रा परिवारको फेउ थाई पार्टीलाई सत्ताबाट हटाएका छन् । सो पार्टीले सन् २०२३ को चुनावदेखि नै कार्यकारी सत्तामा पकड जमाइरहेको थियो । तर यसको वंशानुगत नेत्री पेटोङटार्न सिनावात्रालाई गत महिना अदालतको आदेशमार्फत प्रधानमन्त्री पदबाट बर्खास्त गरिएको थियो ।

विपक्षी दबाबपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाको राजीनामा गर्ने निर्णय

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा गर्ने निर्णय गरेको स्थानीय मिडियाले आइतबार जानकारी दिएका छन् ।

सत्तारूढ पार्टीका सदस्यहरूले माथिल्लो सदनमा भएको विनाशकारी चुनावी हारपछि नयाँ नेतृत्व खोज्दै गरेको अवस्थामा इशिबाले यस्तो निर्णय गरेका हुन् ।

लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व सम्हालेको एक वर्ष पनि नपुग्दै ६८ वर्षीय इशिबाले यस्तो कदम चालेका हुन् । त्यसयता उनले संसद्का दुवै सदनमा बहुमत गुमाएका छन्

सार्वजनिक प्रसारणकर्ता एनएचकेले इशिबाले पार्टीलाई विभाजनबाट जोगाउन राजीनामा गर्न निर्णय गरेको जनाएको छ भने दैनिक आसाही सिम्बुनले उनलाई राजीनामा गर्न दबाब बढिरहेको उल्लेख गरेको छ ।

शनिबार राति कृषिमन्त्री र एकजना पूर्व प्रधानमन्त्रीले इशिबालाई भेटी स्वेच्छिक रूपमा पद छोड्न आग्रह गरेका थिए । गत हप्तामात्रै पार्टीका नम्बर दुई नेता हिरोशी मोरियामासहित एलडिपीका चार वरिष्ठ अधिकारीले पनि राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए ।

जुलाईमा सम्पन्न माथिल्लो सदनको निर्वाचनपछि इशिबाका विपक्षीहरूले चुनावी हारको जिम्मेवारी लिई पदत्याग गर्न निरन्तर दबाब दिँदै आएका थिए ।

अब नयाँ नेतृत्वको चुनावका लागि जापानभरका एलडिपी सांसद र क्षेत्रीय अधिकारीहरूले सोमबार आधिकारिक अनुरोध पेस गर्नेछन् । आवश्यक बहुमत प्राप्त भएमा पार्टीमा नेतृत्व प्रतिस्पर्धा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्