काठमाडौं । सामान्यतया प्रविधिको विकास र विस्तार कसैले रोकेर रोकिने कुरा होईन । यही भनाई पछिल्लो समय नेपालको सन्दर्भमा मेल खान गएको छ । गएको भदौ ११ गतेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयअनुरुप भदौ १९ देखि क्रमशः नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्रतिवन्धित हुँदै गएका छन् । सरकारको निर्देशनमा हालसम्म सबैजसो इन्टरनेट सेवाप्रदायकहरुले आफुमातहतका आइपी एड्रेसहरुमा फेसबुकलगायतका २६ सामाजिक सञ्जाल प्लेटफर्मका एप तथा वेबसाइटहरु संचालन हुन नसकिने बनाइसकेका छन् ।
तर, सामाजिक सञ्जाल बन्दपछ नेपालमा भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन)को प्रयोग भने अत्याधिक बढेको पाइएको छ । खासगरी नेपालमा पछिल्लो समय धेरै डाउनलोड भएका एपहरुको सूचीमा भाइबरपछि सबैभन्दा ठूलो संख्या नै भिपिएनको छ । चर्चित ‘एप फिगर’का अनुसार पछिल्लो २ दिनमा मात्रै नेपालमा २५ लाखबढी पटक भाइबर डाउनलोड भएको देखिन्छ । पछिल्लो २४ घण्टाको विवरणलाई आधार मान्दा पनि भाइबर १० लाख बढीपटक डाउनलोड भएको छ । जसका कारण यो नेपालमा सबैभन्दा बढी डाउनलोड हुने एपहरुको शीर्ष स्थानमा छ । त्यसपछि भने क्रमशः पहिलो, दोस्रो, तेस्रोदेखि नवौं स्थानसम्म विभिन्न भिपिएन एपहरु डाउनलोड भएको देखिन्छ । यो विवरण एन्ड्रोइड स्मार्टफोनहरुको मात्रै हो । यता आइओएसतर्फ पनि भाईबरपछि लगातार सातौं स्थानसम्म भिपिएन डाउनलोड भएको विवरणमा देखिन्छ ।
खासगरी सरकारले नेपालमा सूचीकरण नभएका २६ सामाजिक सञ्जाल प्लेटफर्महरुलाई ब्लक गर्न निर्देशन दिएपछि हाल नेपालका इन्टरनेट सेवाप्रदायकले डोमेन नेम सिस्टम (डीएनएस) ब्लक र आइपी एड्रेस ब्लक गरेर कन्टेन्ट फिल्टरिङको काम गरिरहेका छन् । इन्टरनेट एक्सचेन्ज नेपालका प्रतिनिधि समित जन थिङका अनुसार अहिले नेपालमा कन्टेन्ट फिल्टरिङका लागि सबैभन्दा सामान्य तरिका डीएनएस (डोमेन नेम सिस्टम) ब्लकिङको प्रयोग भईरहेको छ । यो विधिमा प्रयोगकर्ताले कुनै वेबसाइट खोल्दा त्यसको नामसँग जोडिएको आईपी ठेगाना डीएनएस प्रणालीमार्फत पत्ता लगाइन्छ । तर आईएसपीले उक्त ठेगाना ब्लक गरिदिएपछि सो साइट प्रयोगकर्ताले हेर्न र चलाउन सक्दैनन् ।
यस्तै आईपी एड्रेस ब्लकिङमार्फत पनि कुनै सर्भर वा वेबसाइटलाई पूर्णरूपमा रोक्न सकिने उनी बताउँछन् । प्रायः युट्युब वा सामाजिक सञ्जालजस्ता प्लेटफर्म ब्लक गर्न यसैको प्रयोग गरिन्छ । आइटी विज्ञहरुका अनुसार नेपालमा प्रायः डीएनएस र आईपी ब्लकिङ विधि बढी प्रचलित छन् । यसअघि नेपालमा टिकटक ब्यान्ड हुँदा र विभिन्न पोर्न साइटहरु ब्याण्ड हुँदा पनि यीनै विधिमार्फत तिनिहरुलाई नेपालको नेटवर्कमा चल्न नसकिने बनाईएको थियो । तर प्रयोगकर्ताले भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गरेमा यस्ता अवरोध सजिलै पार गर्न सकिने भएकाले कन्टेन्ट ब्लकिङलाई दीर्घकालीन रूपमा नियन्त्रणमा राख्न भने चुनौती देखिएको थिङ बताउँछन् ।
प्रयोगकर्तालाई के फाईदा ?
सामान्यतया भिपिएनलाई नकारात्मक दृष्टिभन्दा पनि सकारात्मक दृष्टिले हेर्नुपर्ने विज्ञहरु बताउँछन् । खासगरी भिपिएनको प्रयोग गरी इन्टरनेटमा सामग्री हेर्दा होस या कुनै वेबसाइट या एपमा प्रवेश गर्दा प्रयोगकर्ताको गोपनीयताको भरपुर सुरक्षा हुन्छ । भिपिएनले सबै इन्टरनेट ट्राफिकलाई गोप्य टनेलमार्फत पठाउँछ, जसले गर्दा इन्टरनेट सेवाप्रदायक वा फिल्टरिङ प्रणालीले कुन वेबसाइट वा एप प्रयोग भइरहेको छ भन्ने पत्ता लगाउन सक्दैन ।
भिपिएनले प्रयोगकर्ताको वास्तविक आईपी ठेगाना लुकाएर छनौट गरिएको भिपिएन सर्भरको ठेगाना देखाउँछ । यसले गर्दा प्रयोगकर्ता आफ्नो नेटवर्क क्षेत्र वा देशमा नभएको देखिन्छ । साथै भिपिएनले आफ्नै डीएनएस सर्भर प्रयोग गर्ने भएकाले आइएसपीको ब्लकिङ डीएनएसलाई प्रभाव पार्दैन । नेपालको सन्दर्भमा हाल धेरैजसोले भिपिएनको प्रयोग गर्नुको कारण नै यही हो । आइएसपीहरुले २६ सामाजिक सञ्जाल प्लेटफर्महरु संचालन हुने डीएनएस ब्लक गरेपनि भिपिएनमार्फत अन्यत्रै देशका सर्भरमा कनेक्ट भई डिएनएस नै बाईपास हुनेभएपछि यस्ता एप र वेबसाइटहरु नेपालमै चल्न थाल्छन् । तर, अन्यत्रै देशका सर्भरमा कनेक्ट हुनेभएपछि इन्टरनेट स्लो चलेको भने अनुभव हुन्छ ।
यद्यपि पछिल्लो समय नेपालमा धेरै डाउनलोड भएका भिपिएन एपहरुमध्ये धेरैजसो एपहरु सुरक्षाका हिसावले चूनौतिपूर्ण देखिन्छन् । केहि सीमित भिपिएन एपहरु ह्याकरद्वारा निर्माण गरिएका हुन्छन् । यस्ता एपहरु प्रयोगकर्ताले डाउनलोड गरी प्रयोगमा ल्याएमा प्रयोगकर्ताको डाटा चोरी हुने, बैंकहरुको पासवर्डलगायतका विवरणहरु चोरी भई आर्थिक फ्रड बढ्ने सम्भावना पनि उत्तिकै रहने विज्ञहरु बताउँछन् । यस्तै धेरैजसो एपहरु निशुल्क एप नै डाउनलोड भएको देखिएकाले यस्ता निशुल्क र कम गुणस्तरका भिपिएनबाट डाटो चोरी भई बेचिने सम्भावना पनि उत्तिकै रहने देखिन्छ । यसर्थ भिपिएनको प्रयोग पूर्णरुपमा गलत नभएपनि गहन खोजी वा जानकारी नभई जुनसुकै भिपिएन एप प्रयोग गर्दा पनि यसले सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी पार्ने विज्ञहरु बताउँछन् । नेपालको सन्दर्भमा नर्ड भिपिएन, एक्सप्रेस भिपिएन, सर्फसार्क, पियोर भिपिएन, प्रोटोन भिपिएनलगायतका एपहरु विश्वसनीय हुने विज्ञहरु बताउँछन् ।