काठमाडौँ । रुसको पूर्वी तटमा रहेको कामचट्का प्रायद्वीप नजिकै शक्तिशाली भूकम्प गएको छ । यसको तीव्रता रिक्टर स्केलमा ८.८ मा रेकर्ड गरिएको छ ।
अमेरिकी भूगर्भीय सर्वेक्षणले समुद्रमुनि रहेको उथले क्षेत्रमा भूकम्प गएको बताएको छ । यसका कारण रुस, जापान, गुआम, हवाई र अलास्कामा सुनामीको चेतावनी जारी गरिएको छ । चेतावनीमा यसका कारण प्रशान्त तटमा समुद्रमा १ देखि ३ मिटर अग्ला छालहरू उठ्न सक्ने बताइएको छ ।
जापानको एनएचले टेलिभिजनका अनुसार, भूकम्प जापानका चार ठूला टापुहरूको उत्तरी टापु होक्काइडोबाट लगभग २५० किलोमिटर टाढा थियो । साथै, भूकम्पको केन्द्रबिन्दु रूसको कामचट्का प्रायद्वीपको पेट्रोपाभ्लोभस्क-कामचट्स्कीबाट १३३ किलोमिटर दक्षिणपूर्वमा ७४ किलोमिटरको गहिराइमा रहेको बताएको छ । सुरुमा यसले भूकम्पको तीव्रता ८.० रहेको रिपोर्ट गरेको थियो ।
साथै, अलास्काको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले अलास्का अलेउटियन टापुका केही भागहरूको लागि सुनामी चेतावनी जारी गरेको छ । साथै, क्यालिफोर्निया, ओरेगन, वाशिंगटन र हवाई लगायत पश्चिमी तटका केही भागहरूलाई सतर्क रहन निर्देशन दिइएको छ । त्यस्तै भूकम्पपछि रूसको सुदूर पूर्वमा धेरै मानिसहरू घाइते भएको राज्यको तास समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।
जापानका केही भागमा देखियो सुनामी
रुसको पूर्वी तटमा आएको शक्तिशालि भूकम्पपछि जापानका केही भागमा सुनामी देखिएको छ । जापानको प्रशान्त तटीय क्षेत्रका केही भागमा सुनामी छालहरू पुगेका छन् । स्थानीय समय अनुसार बिहान १०:४६ बजे तोकाची बन्दरगाहमा ४० सेन्टिमिटर सुनामी र होक्काइडोको दक्षिणपूर्वी भागमा रहेको एरिमो शहरमा ३० सेन्टिमिटर छाल रेकर्ड गरिएको जापानी मिडिया एनएचकेले उल्लेख गरेको छ । त्यस्तै तोहोकु र कान्तो क्षेत्रहरूमा पनि ती छालहरू देखिएको छ । छालहरू लगभग २० देखि ४० सेन्टिमिटर अग्ला रहेका छन् र अहिलेसम्म ठूलो क्षतिको कुनै रिपोर्ट छैन ।
यसैबीच जापानको उत्तरपूर्वी भागमा रहेको सेन्दाई विमानस्थलको धावनमार्ग बन्द गरिएको छ । यातायात मन्त्रालयले धावनमार्ग बन्द भएको र प्रमुख तटीय केन्द्रका लागि उडान गरिएका केही उडानहरूको रुट परिवर्तन गरिएको बताएको छ भने एयरलाइन्सहरूले ग्राहकहरूलाई आफ्नो वेबसाइटहरू जाँच गरेर अद्यावधिक रहन आग्रह गरिरहेका छन् ।
जापान मौसम विज्ञान एजेन्सीले सुनामी लामो समयसम्म बारम्बार आउन सक्ने चेतावनी दिएको छ भने अहिले देखिएका छाल भन्दा अझै ठुला छाल आउन सक्ने बताएको छ ।