Logo

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि सकुशल भेटिए चार बालबालिका

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि सकुशल भेटिए चार बालबालिका



काठमाडौँ । कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि चार जना बालबालिका जीवितै भेटिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार कोलम्बियाको दक्षिणी भेगमा विमान दुर्घटनाको झण्डै पाँच हप्तापछि बालबालिका भेटिएका हुन् ।

laxmi

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले कोलम्बियाको जंगलमा उनीहरूलाई सेनाको टोलीले शुक्रबार उद्धार गरेको जानकारी दिएका छन् । दुर्घटनाको समयमा जहाजमा यी चार दाजुबहिनी, आमा र एक-एक जना पाइलट र को–पाइलट रहेका थिए । विमानका पाइलटद्वय र यी बालबालिकाको आमाको भने मृत्यु भएको थियो । यी बालबालिकाको उमेर १३, ९, ४ र एक वर्ष रहेको रोयटर्सले उल्लेख गरेको छ ।

राष्ट्रपति पेट्रोले हप्तौंको खोजीपछि बालबालिकालाई सकुशल भेट्नु पूरै मुलुकका लागि खुशीको क्षण भएको बताएका छन् । सिंगल इन्जिनको सेसना–२०६ विमान अमाजोनस प्रान्तको अरारकुआराबाट ग्वावियारे प्रान्तको सान होजे डेल ग्वावियारे जाँदै गर्दा इन्जिन फेल भएर गत मे १ मा दुर्घटनाग्रस्त भएको थियो ।

तीन बालिका र एक बालकका हजुरबुवा नारसिजो मुकुटुवीले उद्धारको समाचार थाहा पाएलगत्तै आफू निकै खुसी भएको रोयटर्सलाई बताएका छन् । कोलम्बियाली सेनाले सार्वजनिक गरेको तस्बिरमा सैनिकको समूहले घना जंगलको बीचमा ती बालबालिकालाई भेटेको देखिएको छ ।

यसअघि राष्ट्रपति पेट्रोले मे १७ मै बालबालिका भेटिएको ट्विटरबाट जानकारी दिएका थिए । तर पछि उक्त पोस्ट डिलिट गरेका थिए । शुक्रबार उनीहरूको उद्धारपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै राष्ट्रपति पेट्रोले भने, ’उनीहरू एकै ठाउँमा भेटिए । उनीहरू कमजोर देखिन्छन् । अब डाक्टरहरूले उनीहरूलाई हेर्नेछन् । सैनिकको टोलीले उनीहरूलाई भेट्टायो । म निकै खुशी छु ।’

बालबालिकाले जंगलमा आफैंले आफ्नो प्रतिरक्षा गर्दै यतिका दिनसम्म बसेको पनि राष्ट्रपति पेट्रोले जानकारी दिए । उद्धार टोलीले कुकुरको सहायतमा बालबालिकालाई भेटेको हो । उनीहरूले बालबालिकाले खाएर फालेको फलफूलका टुक्राहरू बाटोमा भेटेका समेत थिए । उद्धारका लागि कोलम्बियाले सेना र वायु सेनाले हेलिकप्टर र जहाजको समेत सहयोग लिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL