Logo

डब्लुएचओको निष्कर्ष, विश्व नै खोप विभेदको जोखिममा

डब्लुएचओको निष्कर्ष, विश्व नै खोप विभेदको जोखिममा



पेरिस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन् । उनले पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा तिब्र विभेद देखिएको बताएका हुन् ।

laxmi

पेरिस पिस फोरममा सम्बोधन गर्दै महासचिव घेब्रेससले भने, ‘मेरो विचारमा विश्व नै खोप विभेदको जोखिममा छ, र यो रङ्गभेदी छ । तपाईंलाई थाहै छ, उच्च आय भएका मुलुकहरुको जनसंख्या विश्व जनसंख्याको करिब १५ प्रतिशत छन् तर विश्वमा उत्पादित खोपको झण्डै ४५ प्रतिशत त्यहीँ छ । न्यून र न्यून–मध्यम आय भएका मुलुकहरुमा विश्वको झण्डै आधा जनसंख्या छ, तर खोप भने १७ प्रतिशत मात्र उपलब्ध छ । खोप वितरणमा ज्यादै ठूलो अन्तर प्रष्टै देखिएको छ ।’

उनका अनुुसार विश्वका १२४ वटा देशमा करिब ६३ लाख डोज खोप पठाइएको छ, तर यो खोप ती देशको कूल जनसंख्याको ०.५ प्रतिशत मात्र हो । खोप वितरणमा देखिएको यस किसिमको असमता हटाउन लगानी बढाउनुपर्ने, कोभाक्समा खोप उपलब्ध हुनुपर्ने तथा खोपको उत्पादन बढाउन प्रविधि हस्तान्तरण गर्नुपर्नेमा उनको जोड थियो ।

‘कतिपय उच्च आय भएका मुलुकहरुले आफ्ना बालबालिका र किशोर किशोरीलाई खोप दिन थालिसकेका छन्,’ महासचिव घेब्रेससले भने, ‘जबकी विश्वका धेरै देशमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र अन्य जोखिम समूहमा रहेका व्यक्तिले खोप लगाउनै पाएका छैनन् ।’

यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आगामी छ हप्ताभित्रै आफूसँग रहेको आठ करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

राष्ट्रपति बाइडेनले भने, ‘आज, विश्वलाई नै मद्दत गर्न हामी नयाँ उपाय अवलम्बन गर्दैछौं । विश्वभर कोरोनाभाइरस नियन्त्रणमा नआउँदासम्म हामी महामारीबाट सुरक्षित भइहाल्ने अवस्था छैन । जतिसुकै अग्लो पर्खाल बनाए पनि वा जतिसुकै फराकिलो समुद्रले पनि हामीलाई सुरक्षित राख्न सक्दैन ।’ (रासस–एएनआई)

प्रतिक्रिया दिनुहोस्
MBL