Logo

सिकिस्त काठमाडौंलाई ‘ईश्वर’को वरदान

सिकिस्त काठमाडौंलाई ‘ईश्वर’को वरदान


बिजखबर संवाददाता
0
Shares

वैशाख ३१ गते पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुँदै गर्दा सबैभन्दा धेरै चर्चामा छ काठमाडौं । देशकै राजधानी भएकोले पनि स्वभाविक चासो काठमाडौंमा बढेको छ । त्यसमाथि काठमाडौंको मेयरका उम्मेदवार र उनीहरुको ‘फ्युचर प्लान’ले राजधानीबासीमा सपना तयार गरेको छ । राजनीतिक दलका स्थापित नेताजस्तै काठमाडौंका मेयरका उम्मेदवारसँग जोडिएका समाचार दिनहुँ प्रकाशन प्रसारण भइरहेका छन् ।

सडक पखाल्दै महानगरका कर्मचारी

नहोस पनि किन । काठमाडौं महानगरको बार्षिक बजेटमात्रै पनि केहि खुद्रे मन्त्रालयको भन्दा निकै बढी छ । त्यसो त देशकै राजधानीको रुपमा यहाँको विकासको अवस्थाले समग्र देशलाई प्रतिनिधित्व गर्ने भएकोले काठमाडौंका हरेक कामले सबै नागरिकको ध्यान आकर्षित गरिरहेको हुन्छ । तर, केहि समयअघि मात्रै राजधानी यस्तो अवस्थामा थियो, जसमाथि नागरिकको चासो त थियो तर आकर्षण भने थिएन । अझ भनौं न बाध्यता बाहेक यहाँ बस्ने मोह सर्वसाधारणमा थिएन ।

धुलोले स्वास्थ्य बिगार्नेमात्र हैन केहि परको दृश्य हेर्न पनि हम्मे पारेको थियो । जताततै गल्फको ‘होल’ जस्ता खाल्डाखुल्डीमा हिंड्न राजधानीबासी अभिशप्त थिए । सवारीको कर्कश आवाजले राजधानी नछाडेसम्म शान्तिको प्रतिति हुन दिदैंन्थ्यो ।

राजधानी पछिल्ला केहि दिनयता केहि फेरिएको छ । धुलाम्य वायुमण्डलले बेरिएको यो सहरमा धुलो त बाँकी नै छ तर सासै फेर्न मुस्किल हुने जस्तो छैन ।

काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक ईश्वरराज पौडेलले राजधानीलाई फेर्न केहि प्रयास अघि बढाएका छन् ।

गत चैत १८ गते ३० बुँदे सार्वजनिक योजना घोषणा गरेका पौडेलको कामको केहि प्रभाव पछिल्ला दिनमा देखिन थालेका छन् ।

 

के गरे पौडेलले ?

बैशाख एक गतेदेखि काठमाडौंसहित उपत्यकाभर ‘नो हर्न’ अभियान लागु गरेर पौडेलले महानगरमा आफ्नो फरक ‘इण्ट्री’ गरे । उपत्यकामा तुलनात्मक रुपमा सफल देखिएपछि यो अभियान यसबाहिर पनि लागु हुने भएको छ । उपत्यका केहि शान्त भएको छ । पौडेलकै दाबी मान्ने हो भने यो अभियान लागुभएपछि ९५ प्रतिशतले हर्न बजाउन छाडेका छन् । अनावश्यक हर्न बजाउन अभ्यस्तहरुलाई महानगरको यो अभियान केहि समय ‘वाहियात’ नै लाग्यो । तर यसको असर विस्तारै सकारात्मक देखिन थालेको छ ।

धुलोका सदाबहार पीडित हुन काठमाडौंबासी । न यहाँ कहिलै सडक निर्माण रोकिन्छ न त पुरा नै हुन्छ । खानेपानीले सडक खोलेको केहिं दिनपछि तार बिछ्याउने नाममा अर्को निकायले फेरि त्यहिं सडक खन्छ । अर्थात नियमित सडक खन्ने काम काठमाडौंमा आश्चर्यके विषय रहेन ।

पछिल्लो समय मेलम्ची खानेपानी आयोजना घरघरमा पुर्याउन सडक खन्न थालेपछि राजधानी आफ्नो ‘कुरुपता’को उच्चतम तहमा पुगेको थियो । धुलो यति बढदै थियो कि मास्क लगाएर मात्र समाधान हुने अवस्था थिएन । यो बाध्यतालाई केहि हद भएपनि क मगर्न पौडेलले नयाँ जुक्ति फुराए अनि सुरु गरे रातीमा सडक सफा गर्ने काम ।

ब्रुमरले सडक सफा गर्ने योजनालाई थाती राखेर उनले राती राती सडक पखाल्ने कामलाई तिव्रता दिएका छन् । यो क्रम अहिले पनि जारी छ । ‘धुलौ पुरै हटाउन त सम्भव देखिएन’ उनले भने ‘तर हटाउन भन्दा घटाउने काम भने सुरु गरेका छौं’ । पाँच ओटा ट्याङ्कर सहित २५ जना कर्मचारी हरेक रात अहिले यहिं कामका लागि सडकमा खटिन्छन् । त्यति मात्र हैन महानगरले आफ्नै प्रयासमा मेलम्चीका लागि खनिएका सडक पुर्नलाई बारम्बार दबाब सिर्जना गरिरहेको छ । त्यसैकै परिणाम सडक कम्तीमा टाल्ने काम भएपनि अघि बढेको छ । त्यसो त राजधानीमा रहेका खाल्डाखुल्डी टालटुल गर्ने, पेटी बनाउने कामलाई पनि पौडेलले प्राथमिकतामा राखेर अघि बढाएका छन् ।

यस्ता छन् नयाँ योजना

ब्रुमर खरिद

धुलोलाई घटाउन उच्च क्षमताका ब्रुमर किन्ने प्रक्रिया महानगरले शुरु गरिसकेको छ । अर्थमन्त्रालयले उपलब्ध गराएको ९ करोड र महानगरपालिका आफैले ९ करोड नै थपेर १८ करोडको बजेट छुट्याएको छ । भारतबाट आगामी चार महिनाभित्र १० ओटा ब्रमुर ल्याउने योजना अघि बढेको पौडेल बताउँछन् ।

सिंगारिएको काठमाडौं

काठमाडौंलाई सिंगार्ने काम महानगरपालिकाले तीनकुनेबाट सुरु गर्दैछ । स्थानीय जग्गाधनीले लिन बाँकी मुआब्जा दिएर तत्काल त्यहाँ पार्क बनाइने भएको छ ।

नक्सापासमै सबै काम

घर निर्माण गर्दा नक्सा निर्माणका लागि बारेस आउने प्रचलन छ । त्यसलाई हटाउन सूचना जारी गरेको छ । जग्गा वा घरधनी स्वंयम आएमा मात्र नक्सा पास हुने भएको छ । घरको निर्माण स्थलमा साइनबोर्ड रहन्छ । निर्माण शुरु हुने मितीदेखि सबै जानकारी त्यसमा समेट्नुपर्नेछ । त्यस्तै घरधनीलाई नक्सापासकै क्रममा सडकमा फोहोर राख्न नपाउने प्रतिबद्धता पनि जनाउनु पर्नेछ ।

सडकमा राखिएको सामान जफत

महानगरले घर निर्माणका क्रममा सडक वरपर राखिएको निर्माण सामग्री जफत गर्ने भएको छ । कतै सडकमा राखेको पाइएमा २४ घण्टाभित्र हठाउन निर्देशन दिने र त्यती गर्दा पनि राखेमा डोजर, ट्रिपर, प्रहरीको भ्यान लगेर समान जफत गरी लिलामी गर्ने भएको छ ।

पर्यटक घुमाउन स्काई बस

उपत्यकामा पर्यटकलाई घुमाउन स्काई बस ल्याउने तयारी महानगरको छ । यस विषयमा ठमेल क्षेत्रका पर्यटन व्यवसायीसँग एक चरणको छलफल भइसकेको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा उपत्यकामा पर्यटकहरुलाई भ्रमणमा सहज होस भनेर यस्ता बस संचालन गर्न लागेको हो ।

उपत्यकका विभिन्न पर्यटकीय स्थलहरुमा अवलोकन गराउनका लागि डेडिकेटेड बस संचालन हुने छ । यी बसहरु आकर्षक र आकासतिर खुल्ला हुनेछन् ।

बाँकी काम
कार्ययोजना अनुसार तत्काल सुनुवाई– नागरिकको गुनासो र समस्याको सुनुवाई गर्न एक महिनाभित्र ३ सदस्यीय टोली गठन गर्नेछ । कार्यकारी अधिकृतसहित सबै कर्मचारीले तीन सिफ्टमा काम गर्नेछन् । विहान ७ बजेदेखि ११, दिउँसो, १२ देखि ५ र ६ देखि १० बजेसम्म काम गर्ने घोषणा गरेको छ । कार्यालय समयबाहेक अरू बेला अधिकतम् फिल्डमा खटिनेछ । एक महिनाभित्र यो प्रक्रियाको थालनी हुनेछ ।

कम्तिमा ४ वटा वडालाई नमुना सेवा प्रवाहको केन्द्रका रुपमा ‘सेन्टर अफ एक्सिलेस’ बनाउने योजना रहेको छ । यी कार्यालयहरूलाई नागरिक र प्रविधिमैत्री बनाउने पनि पौडेल बताउँछन् ।

महानगरले नदी किनारमा ठूला रुख रोप्न ६ महिनाभित्र ५ वटा ‘ट्री ट्रन्सप्लानर’ खरिद गर्ने योजना पनि बनाएको छ ।महानगरभित्रका घरहरूको छतबाट बत्ति जडान गर्ने र अग्रभागलाई उज्यालो बनाउने योजनासमेत रहेको छ । एउटै गल्ली वा सडकमा बनेका घरहरूमा एउटै रङ रोगन लगाउन प्रोत्साहित गर्नेलगायत कार्ययोजनामा छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL