Logo

एक अर्ब २१ करोडमा पृथ्वी राजमार्गको मादी नदीमा ‘आर्क डिजाइन’ को पुल निर्माण हुने

एक अर्ब २१ करोडमा पृथ्वी राजमार्गको मादी नदीमा ‘आर्क डिजाइन’ को पुल निर्माण हुने



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्डको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा आर्क डिजाइनको पुल निर्माण हुन लागेको हो ।

laxmi

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत उक्त ठाउँमा हाल रहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण गर्न लागिएको हो । मादी नदीमा निर्माण गरिने पुलको डिजाइन तयार भइसकेको छ । सडक विभागका अनुसार मादी नदीमा निर्माण गरिने उक्त नेटवर्क आर्क पुलको डिजाइन केही दिन अगाडि स्वीकृत भएको हो ।

उक्त पुल निर्माणको तयारी सुरु भइसकेको र दसैँ सकिनेबित्तिकै काम थालनी हुने मुग्लिन–पोखरा सडक आयोजना ९पूर्वी खण्ड०का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनले भने, ‘पुलको डिजाइन स्वीकृत भएको छ । दसैँ सकिएलगत्तै निर्माणको चरणमा जान्छ ।’

उक्त पुल निर्माणका लागि १ अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको पाण्डेले जानकारी दिए । उनका अनुसार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । ‘आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा काम सन्तोषजक भए पनि जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा काम सुस्त छ’, उनले भने, ‘सरकारले पश्चिम खण्डमा ठेक्का तोड्नेबारे छलफलसमेत गरिरहेको छ ।’

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमीको यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । यस खण्डको काम सक्नुपर्ने अन्तिम म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको इन्जिनियर पाण्डेले बताए । उनका अनुसार पूर्वी खण्डको ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ७ अर्ब ४० करोड ४६ लाखमा ठेक्का भएको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५र२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL