Logo

४८ बर्षदेखि बालेन पर्खिरहेको तीनकुने पार्क, के गर्दै छ महानगर ?

४८ बर्षदेखि बालेन पर्खिरहेको तीनकुने पार्क, के गर्दै छ महानगर ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पछिल्लो समय बढी नै सक्रिय भएका छन् । अन्डरग्राउन्ड पार्किङ खुलाउने, हडपिएको सार्वजनिक जग्गा महानगरको नाममा ल्याउनेलगायतका कामहरुमार्फत उनले चर्चा बटुलिरहेका छन् । महानगरभित्र रहिआएको भद्रगोल र अव्यवस्थीत प्रणालीलाई व्यवस्थित गर्ने प्रणका साथ मेयरको चुनाव जितेका उनले भनेअनुसार काम पनि गरिरहेका छन् । फोहर व्यवस्थापनदेखि सार्वजनिक शौचालयको व्यवस्था र स्वास्थ्य शिक्षामा गरिरहेको पहलले उनलाई झन उचाई दिएको छ । यस्तो बेलामा बालेनप्रति एउटा प्रश्न खडा भएको छ त्यो हो ४८ बर्षदेखि अलपत्र तीनकुनेको खाली जग्गालाई महानगरपालिकाले कसरी उपयोग गर्छ ।

laxmi

हुन त हरेकपल्ट नयाँ मेयर आउँदा यो खाली ठाउँलाई विभिन्न नयाँ नामाकरण गरेर त्यहि अनुसारको पार्क बनाउने बताउँदै आएका छन् । केशव स्थापितले यसलाइ मन्जुश्री पार्क बनाउने घोषणा गरे । त्यसपश्चात आएका विद्यासुन्दर शाक्यले यसलाई बुद्धपार्क बनाउने घोषणा गरेका थिए । हाल बालेन शाह आएपछि यसलाई अन्तरराष्ट्रियस्तरको पार्क बनाउने कुरा उठेको छ । यसअघिका मेयरले विभिन्न नामाकरण त गरे तर, सोहीअनुसारको काम भने गर्न सकेका थिएनन् । बेलाबेलामा दातृराष्ट्रका पाहुना आउँदा सरकारलाई नै घाँडो बन्ने यो खाली ठाउँ अझै व्यवस्थित गर्न नसक्दा पुनः पुरानै समस्या दोहोरिने निश्चित छ ।

तर, यसका लागि नयाँ मेयर आएसँगै उनको प्रमुख एजेन्डाभित्र तिनकुनेको खाली ठाउँ पनि रहेकाले यसमा काम भइरहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर बताउँछन् । ‘मेयरज्युको प्रमुख एजेन्डामा तीनकुनेको खाली क्षेत्र पनि परेको छ,’ उनले भने, ‘हाल यसमा देखिएको विवाद समाधानका लागि मेयरज्यु लागिपर्नुभएको छ ।’ त्यसैका लागि भन्दै महानगरपालिकाले चालु आर्थिक बर्षको बजेटमे तिनकुनेको खाली क्षेत्रको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बनाउनका लागि ५० लाख रुपैयाँ छुट्याएको पनि छ । हुन त हरेक बर्ष यसका लागि भन्दै लाखौं बजेट छुट्याईन्छ । तर, बजेट छुट्याएबमोजिम काम भने नभएपछि त्यो बजेट प्राय बर्ष फ्रिज हुँदै आएको छ ।

खासगरी तिनकुनेको खाली क्षेत्रमा जग्गा मुआब्जाको विवाद कायमै भएपछि महानगरपालिकाले आफुले सोचेअनुसार काम गर्न पाईरहेको छैन । विसं २०३१ सालमै तत्कालीन सरकारले एयरपोर्टको नजिकै र ३ सडकले घेरिएको भन्दै उक्त क्षेत्रमा पार्क बनाउने गरी जग्गा अधिग्रहणको काम अघि बढाएको थियो । त्यतिबेला केहि जग्गाधनीलाई मुआब्जा दिएर त्यो जग्गा सार्वजनिकिकरण गरिएको थियो । बाँकी रहेकालाई पुनः २० बर्षअघि केही रकम मुआब्जा वितरण गरिएको थियो । त्यसबेला पनि ३ जनाको जग्गा रहेको दावी आएपछि त्यसको टुंगो भने हालसम्म लाग्न बाँकी नै छ ।

उक्त क्षेत्रमा रहेको निजी जग्गाको मुल्यांकनसमेत ३ पटकसम्म भइसकेको छ । केही जग्गाधनीले भनेबमोजिमको मुल्यांकन नभएको भन्दै जग्गाको मुआब्जा लिन नमानेपनि हालसम्म महानगरपालिकाले उक्त क्षेत्रको जग्गा अधिग्रहणकै लागि १० करोड ८० लाख रुपैयाँ वितरण गरिसकेको छ । अब भने उक्त क्षेत्रमा मर्का परिरहेको भनिएका जग्गाधनीको समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयसँगै महानगरले समन्वय गरेर जग्गा सार्वजनिकीकरण गरि पार्क बनाउने योजना बनाएको छ । त्यसका लागि मेयर बालेन स्वयं विभिन्न मन्त्रालयसँग हाल छलफल गरिरहेको प्रवक्ता मानन्धरले बिजखबरलाई बताए । उनका अनुसार उक्त क्षेत्रका जग्गा धनीलाई मर्का नपर्नेगरी जग्गाको मुआव् व्यवस्थापन गर्नका लागि विभिन्न मन्त्रालयहरुसँग समन्वय भइरहेको छ । मेयर हुनेवित्तिकै विभिन्न कामले चर्चा बटुलिरहेका बालेनले तिनकुनेको जग्गामा पार्कको जगमात्रै बसाल्न सकेपनि उनको चर्चा झन धेरै चुलिनेछ । तर, यो काम गर्न सक्लान या नसक्लान त्यसको जवाफ समयले दिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL