काठमाडौं । जेन जी युवाहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पनि यो प्रस्तावको समर्थन गरेका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलनका क्रममा जेन जीले कानुन र विधिको रक्षा गर्न सक्ने इमान्दार नेतृत्वको खोजीमा कार्कीको नाम प्रस्ताव गरेको हो।
बुधबार दिउँसो जेन जी प्रतिनिधिहरूले प्रधानसेनापति अशोक सिग्देलसमक्ष यो प्रस्ताव राखेका थिए। तर, जंगीअड्डा बाहिर केही युवाहरूले कार्कीको नाममा नाराबाजी गरेका छन्। डिस्कर्डमा भएको छलफलमा कार्कीको पक्षमा बलियो समर्थन देखिए पनि बालेनको नाम पनि केही युवाले प्रस्ताव गरेका छन्। बालेनले मंगलबार जेन जीलाई सेनासँग वार्ता गर्न तयार रहन आग्रह गरेका थिए।
बुधबार बिहान जंगीअड्डामा भएको वार्तामा १५ जनाभन्दा बढी सहभागी भएपछि सिग्देलले संयोजक तोकेर सहमति बनाउन सुझाए। छलफलमा गणतान्त्रिक व्यवस्थाविरुद्ध पनि केही प्रस्ताव आए, जसका कारण रक्षा बमसहितको समूह बाहिरिएको थियो। अन्ततः, कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने सहमति भएको छ।