Logo

कहिलेदेखि मिल्छ धरहरा चढेर काठमाडौं हेर्न ? उद्घाटन गरेको साढे १५ महिना बिते, अझै कति समय कुर्नुपर्छ ?

कहिलेदेखि मिल्छ धरहरा चढेर काठमाडौं हेर्न ? उद्घाटन गरेको साढे १५ महिना बिते, अझै कति समय कुर्नुपर्छ ?



काठमाडौं । उद्घाटन भएको साढे १५ महिना वितिसक्दा पनि धरहरा संचालनमा आउन सकेको छैन । धरहरा पुनर्निर्माण सम्पन्न भए पनि अन्य आवश्यक संरचना निर्माण भइनसकेकाले अझै संचालनमा नआएको हो । जीआईइटीसी रमन जेभी कन्स्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले धरहरा ठडिएपनि वरपरुका आवश्यक सम्पुर्ण संरचना पूर्णरुपमा बनाई संचालनमा आउन अझै १ बर्ष लाग्ने बताए । उनले तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्नुमा कोरोना माहामारीका कारण केही समय निर्माण कार्य प्रभावित हुनु र संरचनाको डिजाइन एकैपटक नआउनु भएको जानकारी दिए ।

विस २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पले भत्किएको धरहराको २०७५ असोजमा निर्माण ठेक्का सम्पन्न भई सोही वर्ष पुस महिनामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । धरहरा पुनर्निर्माणका लागि सुरुमा २ बर्षको सम्झौता भएको र उक्त समयमा निर्माण गर्न समस्या आएकोले त्यसयता पटक–पटक म्याद थप हुँदै आएको छ । पछिल्लो पटक थप भएको म्याद आगामी असौजमा सकिदैछ ।

कोरोना माहामारीका कारण केही समय लम्बिएको निर्माण कार्यमा फरक–फरक समयमा धरहरा परिसरमा निर्माण हुने संरचनाको डिजाइन थप हुनु र परिवर्तन हुनुले पनि समय लम्बिदै गएको प्रोजेक्ट म्यानेजर नकर्मीले बताए । उनले ५ रोपनी जग्गाबाट सुरु गरेको संरचना अहिले समय समयमा डिजाईन परिवर्तन हुदै ४२ रोपनीमा फैलने गरी निर्माण भइरहेको बताए ।

धरहरा परिसरमा आवश्यक संरचना निर्माणका लागि हुलाकको भवन ठेक्का सुरु भएको २ बर्ष पछि भत्काएर काम सुरु गरेको, यस्तै संचयकोष तर्फको भवन भत्काएर काम सुरु गरेको र टक्सारतर्फको २१ महिनापछि फरक–फरक समयमा भत्काउने गरी सहमति भएकाले पनि निर्माण कार्य लम्बिदै गएको कम्पनीले जानकारी दिएको छ । प्रोजेक्ट म्यानेजर नकर्मीले यसरी फरक–फरक समयमा काम थपिने र डिजाईन परिवर्तन हुदा तोकिएको समयमै काम सम्पन्न हुन नसकेको बताए । उनले भने डिजाईन एकै पटक नआउँदा काम थपिदै जानुले समयमै सम्पन्न गर्न नसकिएको हो ।

अहिलेसम्म धरहराको भौतिक प्रगतिका हिसावले ७५ प्रतिशत काम सकिएको र वित्तिय प्रगति ६६ प्रतिशत रहेको कम्पनीले जानकारी दिएको छ । विक्रम सम्वत १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएका थिए । त्यसवेला ११ तले रहेको उक्त धरहरा १९९० सालको भुकम्पले २ तला भत्काउदा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जंगबहादुर राणाले २ बर्षमा ९ तला नै रहने गरी पुनर्निर्माण गरेका थिए ।

विस २०७२ बैशाख १२ गतेको विनासकारी भूकम्पले भत्किएको धरहरा ६ बर्षमा पुनर्निर्माण गरि तत्कालीन प्रधानमन्त्री खडगप्रसाद ओलीले २०७८ बैशाख ११ गते लोकतान्त्रिक दिवसको अवसर पारेर उद्घाटन गरेका थिए । हाल धरहरा परिसरमा पार्क तथा बगैचा निर्माण र पार्किङलगायतका संरचना निर्माण भइरहेकाले संचालनका लागि थप केही समय लाग्ने कम्पनीले जानकारी दिएको छ । धरहरा चढ्दा आइपर्ने सम्पुर्ण सुरक्षाको आवश्यक प्रवन्ध मिलाएर बाँकी संरचना निर्माण भइरहेको कम्पनीले जानकारी दिएको छ ।

म्याद थपका लागि फेरि पहल

पछिल्लो पटक थप गरेको म्याद असोजमा सकिदै छ । असोजमा म्याद सकिने भए पनि उक्त समयसम्म निर्माणको कार्य भने नसकिने भएको छ । सो समयसम्म कार्य नसकिने भए पछि फेरी म्याद थपको लागि पहल गरिने कम्पनीका प्रोजेक्ट म्यानेजर नकर्मीले जानकारी दिएका छन । उनले अहिलेसम्म धरहरा निर्माणको मुख्य काम सकेर उद्घाटन भइसकेको भए पनि धरहरा परिसरमा चाहिने आवश्यक संरचना पार्किङस्थल, बगैंचा, सुरक्षाका आवश्यक पुर्वाधारसम्वन्धी काम भइरहेको छ ।

धरहरा परिसरमा चमेना गृह, पार्किङस्थल, बगैंचा, पुस्तकालयका साथै अन्य पसल पनि संचालन हुनेछन । निर्माणको कार्य यहि गतिमा अगाडि बढाउदा पनि कम्तिमा १ बर्षमा संचालनमा आउने कम्पनीले जानकारी दिएको छ । धरहरा चढ्न सिढिका साथै २ वटा लिफ्ट रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL