काठमाडौं । ऐतिहासिक धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालनमा रहने भएको छ । साउन १ गतेबाट धरहराको समयावधि बढाउने निर्णय भएको सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिए ।
उनका अनुसार अब सार्वजनिक बिदाको दिन पनि धरहरा खुला रहनेछ । हाल धरहरा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्र खुला रहँदै आएको थियो । शनिबार साप्ताहिक बिदाका रूपमा बन्द गरिँदै आएको धरहरा अबदेखि बुधबार बन्द गरिनेछ ।
‘अब धरहरा दुई सिफ्टमा सञ्चालन हुनेछ,’ प्रवक्ता मैनालीले भने, ‘सार्वजनिक बिदाको दिन पनि आमनागरिकले अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।’
२०७२ सालको विनाशकारी भूकम्पले ढलेको धरहराको पुनर्निर्माणपछि गत असोज ३ गते परीक्षणका रूपमा धरहरा खुला गरिएको थियो भने मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि सशुल्क रूपमा अवलोकन खुला गरिएको हो ।
धरहरा चढ्ने समय छोटो भएको र सार्वजनिक बिदामा बन्द गरिँदा अवलोकन गर्न नपाइने भन्दै नागरिकले गुनासो गर्दै आएका थिए । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावको सम्मान गर्दै समय बढाउन निर्देशन दिएपछि धरहराको नयाँ सञ्चालन समय तय गरिएको हो ।
धरहरा सञ्चालनको सात महिनामा मात्रै २ लाख ३७ हजार ६५ जनाले अवलोकन गरिसकेको र सो अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९भवन तथा आवास० ले जनाएको छ ।
धरहरा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम सहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुँदै आएको छ ।