Logo

डिपिआर चिनियाँ भाषामा आउँदा लम्बियो चक्रपथ विस्तार म्याद, बुझिने भाषामा बनाउन आग्रह

डिपिआर चिनियाँ भाषामा आउँदा लम्बियो चक्रपथ विस्तार म्याद, बुझिने भाषामा बनाउन आग्रह



काठमाडौं । चक्रपथ विस्तार दोस्रो खण्ड विस्तारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने र निर्माण गर्ने जिम्मा पाएको चिनियाँ कम्पनीले चिनियाँ भाषामा डिपिआर बनाउँदा निर्माणम्याद लम्बिएको छ । साईट क्लियरलगत्तै निर्माण प्रक्रिया सुरु गर्ने तयारीसँगै डिपिआर निर्माण गरिरहेको चिनियाँ टोलीले साईट क्लियर भएपनि काम सुरु गर्न सकेको छैन ।

३ बर्षअघि नै पहिलो खण्डको विस्तार सकेलगत्तै दोस्रो खण्डको विस्तार सुरु गर्ने बताएको चिनियाँ पक्षले साईट क्लियर गर्न नेपाल पक्षलाई आग्रह गरेको थियो । तर, उक्त क्षेत्रको साईट क्लियरमै नेपाली पक्षले ३ बर्षबढिको समय लगाईदिएपछि निर्माणकार्य यसै पनि धकेलिएको थियो । दशैं अघि मात्रै नेपाली पक्षले साईट क्लियर सम्पन्न भएको जानकारी चिनियाँ पक्षलाई दिएसँगै नेपालमा चिनियाँ पक्षले तयार पारेको डिपिआर नेपाल पक्षलाई बुझायो तर, चिनियाँ भाषामा ।

चिनियाँ भाषाको डिपिआर नबुझिने भन्दै पुनः चिनियाँ पक्षलाई बुझिने भाषामा बनाउन आग्रह गरिएको चक्रपथ विस्तार आयोजना प्रमुख कुबेर नेपालीले बताए । उनका अनुसार चिनियाँ पक्षले बनाएको प्रतिवेदन पुरै चिनियाँ भाषामा भएकाले यो डिपीआर हो या होईन पनि छुट्याउन अप्ठ्यारो भएकाले पुनः बनाउन दिईएको हो । ‘हामीले कलंकीदेखि महाराजगंज चोकसम्म सडक फराकिलो पार्नेगरी साईट क्लियरको काम सकेलगत्तै चिनियाँ पक्षलाई जानकारी दिएका थियौं,’ उनले भने, ‘उसले पनि साईट क्लियर हुनेवित्तिकै काम सुरु गर्ने भनेकाले हालसम्म काम सुरु भईसक्नुपर्ने भएपनि डिपिआर नबुझिने भाषामा भएपछि समस्या आएको हो ।’

सडक विभागले कलंकीदेखि बसुन्धारासम्म सडक क्षेत्रमा पर्ने घरटहरा, रुख, विजुलीका पोल, तार, खानेपानीका पाईप, ढललगायत हटाईसकेको छ । यसअघि पहिलो खण्डको चक्रपथ विस्तारमा साईट क्लियर नभएकाले काममा बेलाबेलामा अवरोध खेपेको चिनियाँ पक्षले यसपाली भने साईट क्लियर नगरी काम सुरु नगर्ने सर्त राखेको थियो । उसले साईट क्लियर हुँदासम्म डिपिआर निर्माण गर्ने र साईट क्लियर हुनेवित्तिकै काम सुरु गर्ने जानकारी यसअघि गराईसकेको थियो ।

उक्त सडकखण्ड महाराजगंजसम्मै विस्तार गर्नुपर्ने भएपनि महाराजगंज चोकका २ सय ४९ घरमा किचलो भएकाले विस्तार केहि छोट्याई कलंकीदेखि बसुन्धारासम्म पुर्याइएको आयोजना प्रमुख नेपाली बताउँछन् । महाराजगंज चोकमा रहेको घरधनीहरुको समस्या समाधान नभएकाले चिनियाँ पक्षलाई उक्त क्षेत्रबाहेक अन्य क्षेत्रमा काम सुरु गर्न आग्रह गरिएको छ ।

सोही अनुसार चिनियाँ पक्षले सडक विस्तारको काम गर्दैगर्दा महाराजगंजको समस्या सल्टिए त्यहाँ पनि चिनियाँ पक्षलाई नै काम अघि बढाउन लगाउने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । उनका अनुसार चिनियाँ पक्षले २ बर्षसम्म काम गर्ने र त्यसपछि मात्रै उक्त क्षेत्रको किचलो सल्टिए नेपाली पक्षले नै उक्त क्षेत्रमा सडक विस्तार गर्नेछ । यस्तै चिनियाँ पक्षले धोबीखोलासम्मैको डिपिआर बनाए । धोबिखोलासम्मै सडक विस्तार गर्ने विभागको तयारी छ ।

चिनियाँ अनुदानमा निर्माण हुने उक्त सडक ८ लेन चौडाईको हुनेछ भने दुबैतिर २ २ लेनको सर्भिस ट्र्याक पनि हुने बताईएको छ । चिनियाँ पक्षले डिपिआर निर्माण गर्दैगर्दा नेपाल पक्षले भने चाँडो गर्न ताकेता गरिरहेको सडक विभागले जानकारी दिएको छ । विभागका एक अधिकारीका अनुसार आगामी हिउँदको सदुपयोग हुनेगरी चक्रपथ विस्तारको काम अघि बढाउने उद्धेष्यले चिनियाँ पक्षलाई विभिन्न माध्यमबाट ताकेता गर्ने गरिएको छ ।

सर्भिर ट्र्याकका लागि टेण्डर आह्वान

चिनियाँ पक्षले सडक निर्माणको काम गर्दैगर्दा सर्भिस ट्र्याकको काम पनि सँगै हुने भएको छ । चिनियाँ पक्षसँगै सर्भिस ट्र्याकका काम गर्नका लागि नेपाली पक्षले टेण्डर आह्वान गरिसकेको आयोजना प्रमुख नेपालीले बिजखबरलाई बताए । उनका अनुसार हालैमात्रै कलंकीदेखि महाराजगंजसम्मको सडकको दायाँबायाँ सर्भिस ट्र्याक बनाउनका लागि टेण्डर आह्वान भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL