Logo

चालु आवमा १७५ ओटा पुल निर्माण सम्पन्न हुने, लकडाउन पछि १५० पुलको काम सकियो

चालु आवमा १७५ ओटा पुल निर्माण सम्पन्न हुने, लकडाउन पछि १५० पुलको काम सकियो



काठमाडौं । कोरोना भाईरस संक्रमणका कारण देश पूर्णरुपमा बन्दाबन्दी (लकडाउन) मा छ । लकडाउनकै अवधिमा विकास निर्माणले भने गति लिएको छ । हाल देशभर लकडाउन चलिरहेपनि केही विकासेकामले भने राम्रै गति लिएको छ । सडक विभागअन्तरगतका पुल महाशाखाले लकडाउनकै अवधिमा करिब १५० ओटा पुल निर्माण सम्पन्न गरेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार चालु आवमा लकडाउनपछि करिब ३ सय ओटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएपनि हाल उक्त लक्ष्य भने पुरा नहुने देखिएको छ । महाशाखाका प्रमुख (उपमहानिर्देशक) दिपक भट्टराईले चालु आवको बाँकी दिनमा करिब २५ ओटा पुल निर्माण सम्पन्न हुने बताउँछन् । यसअघि चैत ११ गतेदेखि सरकारले पूर्णरुपमा लकडाउन गरेपछि विकास निर्माणलगायतका सम्पूर्ण काम स्थगित भएको थियो ।

तर, सरकारले सामाजिक दूरी कायम गरि विश्व स्वास्थ्य संगठनको निर्देशिकाको पालना गरि कामलाई अघि बढाउन दिएको निर्देशनसँगै सुरु गरेको कामले भने प्रगति भएको भट्राईले जानकारी दिएका छन । उनले भने, ‘सरकारले काम गर्न नदिएको भए १५० ओटा पुलको काम सम्पन्न गर्न समस्या हुने थियो ।’ आव २०७६-७७ मा देशभरिमा १५ सय ६० ओटा पुल निर्माणाधीन अवस्थामा रहेको छ । जसमध्ये ३ सय ओटा पुल निर्माणको काम भने यसै आर्थिक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको महाशाखाले लकडाउनकै अवधिमा १५० ओटा पुल निर्माण सम्पन्न गरिसकेको छ ।

१५ सय ६० ओटा पुलमध्ये स्थानीय सडक पुल (एलआरएन) अन्तरगत ११ सय ३७ र रणनैतिक पुल (एसआरएन) अन्तरगत ३ सय ३० ओटा रहेको छ । बाँकी ९३ ओटा पुल भने मदनभण्डारी मार्ग, हुलाकी सडक, धरान चतरा सडक आयोजना, उत्तर दक्षिण लोकमार्ग र मध्यपहाडी मार्गमा रहेको भट्टराईले जानकारी दिएका छन । भट्टराईका अनुसार निर्माणाधीन पुल विगत २०६८-६९ देखि बनिरहेका पनि रहेका छन् ।

उक्त पुलको निर्माण सम्पन्न नहुनुमा भने प्राविधिक समस्या, प्रकृतिक प्रकोप, डिजाईनको समस्या, चाडपर्वलगायतले गर्दा समयमै सम्पन्न हुन नसकेको हो । गत बर्ष १ सय ४९ ओटा पुलको काम सम्पन्न गरेको महाशाखाले यस बर्ष ३ सय ओटा पुलको काम सम्पन्न गर्ने उद्देश्य लिए पनि १७५ ओटा पुलको मात्रै काम सम्पन्न हुनेगरि लकडाउनको समयमा पनि काम अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL