Logo

४ महिनामै टेलिकमको फोरजी ग्राहक ३२ लाखले बढे, उच्च हिमाली क्षेत्रमा हिउँका कारण विस्तारमा कठिनाई

४ महिनामै टेलिकमको फोरजी ग्राहक ३२ लाखले बढे, उच्च हिमाली क्षेत्रमा हिउँका कारण विस्तारमा कठिनाई



काठमाडौं । नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या ४१ लाख पुगेको छ । नेपालमा पहिलोपटक फोरजी सेवा संचालन गरेको टेलिकमले पछिल्लो ४ महिनामा नै उक्त संख्यामा आफ्ना फोरजी ग्राहक पुर्याएको हो ।

पहिलो पटक फोरजी संचालनमा ल्याएर पनि सेवा विस्तार गर्न नसकेको आरोप लागेको नेपाल टेलिकमले पछिल्लो समय फोरजी विस्तारको कामलाई तिव्रता दिँदा ग्राहकको संख्या बढेको टेलिकमले जानकारी दिएको छ । गत बर्ष माघमा २ कम्पनीसँग देशभर फोरजी विस्तारका लागि सम्झौता गरेको टेलिकमले हाल सेवा विस्तारलाई एग्रेशिभ बनाउँदै ६६ जिल्लाका ३ हजार २ सयभन्दा बढी स्थानमा फोरजी सेवा पुर्याएको छ ।

काठमाडौं र पोखरामा मात्रै फोरजी सेवा सिमित गरेको टेलिकमले हाल देशका लगभग सबै जिल्लामा फोरजी सेवा पुर्याईसकेको छ । यो बर्षको असोज १५ गतेदेखि एकैचोटी ३६ जिल्लाबाट फोरजी सेवा सुरु गरेको टेलिकमले हाल ६६ जिल्लाका १ हजार ८ सय ओटा विटिएस टावरबाट फोरजी सेवा संचालन गरेको टेलिकमको सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

गत असोजमा टेलिकमले विभिन्न ३६ जिल्लामा एकैपटक सेवा संचालनमा ल्याउदा फोरजी ग्राहकको संख्या जम्मा ८ लाख ३८ हजार थियो । तर असोजदेखि माघको पहिलो हप्तासम्म ४ महिनाको अवधिमा कम्पनीका फोरजी ग्राहकको संख्या ३२ लाखले बढेको छ ।

कम्पनीले आफ्ना फोरजी ग्राहकको संख्या बढाउन नयाँ सिम लिनेलाई फोरजी सब्सक्राईब गरिदिने, नयाँ तर फोरजी सेवा सब्स्क्राईब नभएको सिममा फोरजी सब्स्क्राईब गर्ने र पुराना सिमलाई नयाँ सिममार्फत निःशुल्क प्रतिस्थापन गर्ने अभियान चलाएको छ । टेलिकमका ग्राहकले पुरानो सिममा फोरजी चलाउन चाहेमा निःशुल्क नयाँ सिम दिने अभियान समेत टेलिकमले थालेको छ ।
गत बर्षको माघ १९ गते २ कम्पनीसँग देशभरका सबै स्थानमा फोरजी सेवा पुर्याउन सम्झौता गरेको टेलिकम छोटो समयमै धेरै स्थानमा फोरजी सेवा संचालनमा ल्याउन सफल भएको हो ।

टेलिकमले हङकङको सिसीएसआई र चीनको जेडटीईसँग फोरजी सेवा विस्तारका लागि सम्झौता गरेको थियो । हाल नेपालभर फोरजी सेवा विस्तार गर्न उक्त २ कम्पनीले विभिन्न टीम बनाएर काम गरेका कारण प्रतिदिन ४० देखि ५० ओटा नयाँ टावरमा फोरजीको नेटवर्क जडान गरिँदै आएको छ ।

नेपालका हरेक जिल्लालाई फोरजीसँग जोड्ने उद्देश्य लिएको टेलिकमले केही दिनमा फोरजी परियोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । तराई र पहाडी क्षेत्रका प्रायजसो काम सम्पन्न भएपनि उच्च हिमाली क्षेत्रमा भने कामको गति न्युन छ । उच्च हिमाली क्षेत्रमा पानी र बाक्लो हिउँ परेका कारण काम गर्न कठिनाई भईरहेको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनका अनुसार सोही अनुसार परियोजना सम्पन्न गर्ने माघ २० गतेसम्मको टाईमलाईनमा भने परियोजना सम्पन्न हुनेमा अन्यौलता देखिएको हो ।

फाईभजी परीक्षण

कम्पनीले नेपालभर फोरजी परीक्षणलगत्तै फाईभजी समेत परीक्षण गर्ने बताएको छ । कम्पनीका अनुसार फाईभजी परीक्षणका लागि तोकिएका ४ स्थानमा परीक्षण गर्नका लागि परीक्षण उपकरण ल्याउने कार्यको सुरुवात गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL