Logo

नेपाल टेलिकमको फोरजी ग्राहक संख्या ५८ लाख पुग्यो, अलटाईम प्रयोगकर्ताको संख्या साढे १६ लाख

नेपाल टेलिकमको फोरजी ग्राहक संख्या ५८ लाख पुग्यो, अलटाईम प्रयोगकर्ताको संख्या साढे १६ लाख



काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाको ग्राहकसंख्या ५८ लाख बढी पुगेको छ । टेलिकमका अनुसार पछिल्लो २ महिनाको अवधिमा फोरजी चलाउने सेवाग्राहीको संख्या ५८ लाख बढी पुगेको हो ।

laxmi

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार नेपाल दूरसंचार प्राधिकरणको एमआईएस रिपोर्टमा गत जेठ महिनासम्म ८ लाख भनिएपनि हाल अलटाईम फोरजी ग्राहकको संख्या मात्र ६ लाख ६० हजार पुगिसकेको छ ।

टेलिकमले सबैभन्दा पहिले अर्थात विस २०७३ सालमा काठमाडौं र पोखराबाट सुरुवात गरिएको फोरजी सेवा अब नेपालका सातै प्रदेशका विभिन्न भागमा पुगिसकेको छ । टेलिकमले गत बर्षको असोजमा मात्रै विभिन्न ६० शहरमा फोरजी सेवा विस्तार भएको घोषणा गरेको थियो । यस्तै आफ्नो बार्षिकोत्सवमा सबै जिल्लामा फोरजी सेवा पुगेको घोषणा गरेको थियो ।

हाल कम्पनीले विभिन्न स्थानमा फोरजी सेवा पुर्याएसँगै फोरजीमा जोडिनसक्ने ग्राहकको संख्या भने ६८ लाख रहेको प्रबन्ध निर्देशक अधिकारीले बिजखबरलाई जानकारी दिए । ‘हामीले ६८ लाख ग्राहकसम्म पुग्नेगरी फोरजी सेवाको विस्तार गरिसकेका छौं,’ उनले भने ‘तर पछिल्लो २ महिनापछिको तथ्यांक हेर्ने हो भने विभिन्न समयमा गरी फोरजी सेवाको उपयोग गर्ने ग्राहकको संख्या ५८ लाख पुगेको छ ।’

नेपाल टेलिकमले सबैभन्दा पहिले नै नेपालमा फोरजी सेवाको सुरुवात गरेको भएपनि हालसम्म पनि नेपालभर फोरजी सेवा पुर्याउन नसकेको आरोप लाग्दै आएको थियो । तर विभिन्न सरकारी अड्चन, अख्तीयारलगायतका कारणले फोरजी सेवाको विस्तारमा समस्या भईरहेको थियो । २०७५ साल माघमा टेलिकमले देशभर फोरजी सेवा विस्तार गर्नका लागि विभिन्न ३ ओटा सम्झौता गरेको थियो ।

यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएका थिए । कम्पनीले सम्झौताको एक वर्षभित्रै देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्य लिएको थियो । तर भनेबमोजिम काम हुन नसक्दा हाल अझै फोरजी विस्तारको ३५ प्रतिशत काम सम्पन्न गर्न बाँकी रहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

उनका अनुसार पछिल्लो पटल विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण निम्तिएको लकडाउन, निशेधाज्ञाका कारण काममा बाधा आईरहेको छ । टेलिकमले तराई र पहाडका विभिन्न क्षेत्रमा फोरजी सेवा विस्तार गरिसकेको भएपनि उच्च हिमाली भेगमा भने अझै फोरजी विस्तार गर्न सकिएको छैन ।

हाल हिमाली भेगका प्राय स्थानहरुमा काम गर्नका लागि स्थानीय पालिकाहरुकै कारण रोकावट भईरहेको छ । तर पनि टेलिकमले विस्तार गर्न बाँकी रहेका स्थानहरुमा फोरजी विस्तारको काम सकेसम्म गरिरहेको प्रबन्ध निर्देशक अधिकारी बताउँछन् ।

तर नेपाल दूरसंचार प्राधिकरणको एमआईएस रिपोर्टमा गत जेठसम्म फोरजी ग्राहकको संख्या भने ७ लाख ८१ हजार ७ सय ७७ जना छ । यस्तै टेलिकमको थ्रीजी सेवा चलाउनेको संख्या पनि रिपोर्टमा ७० लाख ९२ हजार ८५४ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL