Logo

विश्वास गर्न नसकिने सरकारी सेवा : सेवाग्राही र नियामक झुक्याउँदै ‘नमस्ते पे’, अनुगमन गर्दै राष्ट्र बैंक

विश्वास गर्न नसकिने सरकारी सेवा : सेवाग्राही र नियामक झुक्याउँदै ‘नमस्ते पे’, अनुगमन गर्दै राष्ट्र बैंक



काठमाडौं । संचालनमा ल्याएको २ हप्ता वितिसक्दा पनि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रर्वद्धित डिजिटल भुक्तानी सेवा ‘नमस्ते पे’ सहज रुपमा कार्यान्वयनमा आउन सकेको छैन । गत भदौ २९ गतेखि संचानलनमा ल्याईएको उक्त एपमा समस्या नै समस्या देखिएको सम्बद्ध सेवाग्राहीहरुले बताएका छन् । जसका कारण सेवाग्राही त झुक्किन्छन् नै नियामक निकाय नेपाल राष्ट्र बैंकसमेत झुक्किन पुगेको छ ।

laxmi

भुक्तानी तथा फर्स्यौट ऐन २०७५ अनुसार भुक्तानी सेवाप्रदायकले अनुमति पाएको ६ महिनाभित्र सेवा संचालनमा ल्याइसक्नुपर्छ । सोही ऐनका आधारमा नमस्ते पे सेवा संचालनमा ल्याएर एप्स सार्वजनिक गरिएपनि उक्त एप्प नचलेको गुनासो दैनिक बढ्दो छ ।

राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा नेपाल टेलिकमले सहायक कम्पनी खडा गरी नमस्ते पे संचालनमा ल्याएको थियो । आजभन्दा ६ महिना अघि नै अनुमति पाएको कम्पनीले कोरोनाका कारण सेवा संचालनमा केहि ढिलाई भएको बताउँदै आएको थियो । तर भुक्तानी तथा फर्स्यौट ऐन अनुसार ६ महिनाभित्र पुर्ण तयारी र परिक्षण विना नै सेवा संचालन गर्न खोज्दा सेवाग्राही र स्वयं नियामक निकाय नेपाल राष्ट्र बैंक नै झुक्किएको हो ।

एन्ड्रोइड अपरेपरेटिङ सिस्टममा सार्वजनिक भएको नमस्ते पे एप प्रति शतप्रतिशत नै नकारात्मक टिप्पणी छन् । जसमा एप नखुलेको, एप खुलेपनि इमेल भेरिफाई नभएको, फोन नम्बरसमेत भेरिफाई नभएकोलगायतका गुनासो सयौं पुगिसकेका छन् । साथै समाचार लेख्ने क्रममा हामीले पनि गुनासो भेरिफाई गर्नकै लागि एप डाउनलोड गरी खोल्ने प्रयास गर्दा सेतो पर्दा आउने र क्र्यास हुने समस्या देखियो ।

यसैगरी सेवा संचालनमा ल्याउने नेपाल टेलिकम सेवा संचालनमा आएको करिव १५ दिनपछि नयाँ भर्सनमा एप आउने बताउँछ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार हालसम्म उक्त एप एन्ड्रोइडका केही भर्सनमा मात्रै चल्ने र चलेका भर्सनमा पनि त्रुटी देखाउने समस्या छ । तर उक्त समस्या आज बेलुकासम्म सहजीकरण हुने अधिकारीको दावी छ । ‘एन्ड्रोइडका केही भर्सनमा एप चलेन, चलेका भर्सनमा पनि धेरै समस्या देखिएका छन,’ बिजखबरसँगको कुराकानीमा अधिकारीले भने, ‘हामी यसको समाधान खोजिरहेका छौं, सम्भवतः बेलुकासम्म नयाँ भर्सनमा एप आउँछ र सबै एन्ड्रोइड फोनमा चल्ला ।’ एपको नयाँ भर्सन आए सेवाग्राहीले पुरानो भर्सनको एप डिलेट गरेर नयाँ भर्सनको एप डाउनलोड गर्नुपर्ने उनले बताए ।

राष्ट्र बैंकको भुक्तानी तथा फर्स्यौट ऐन २०७५ अनुसार भुक्तानी सेवाप्रदायकले अनुमति लिएको ६ महिनाभित्र सेवा संचालनमा ल्याउनुपर्ने हुन्छ । जस अनुसार नमस्ते पे एप भदौभित्रमै संचालनमा आउनुपर्ने थियो । सोही नियममा आधारित भएर नमस्ते पे हतार हतारमा सार्वजनिक गरियो । टेलिकम र राष्ट्रिय वाणिज्य बैंकले एप सार्वजनिक गरेपनि उक्त एप नखुलेर सेवाग्राही हैरान हुँदै आएका छन् । यता यसको नियामक निकाय नेपाल राष्ट्र बैंक भने सेवा कागजमा मात्रै संचालनमा नआई उसले संचालनमा ल्याएको एप, अन्य उपकरणहरु तोकिएको समयभित्रै चलेको हुनुपर्ने बताउँछन् । बैंकका प्रवक्ता देवकुमार ढकाल भुक्तानी सेवाप्रदायकले ६ महिनाभित्र संचालनमा ल्याएको सेवा सेवाग्राहीमुखी र सरल पनि हुनुपर्छ ।

तर नेपाल टेलिकमले संचालनमा ल्याई सार्वजनिक गरेको बेटा भर्सन एप नखुल्दा आफुहरु मर्कामा परेको सम्बद्ध सेवाग्राहीहरु बताउँछन् । तर यसरी सेवा संचालनमा नआएको गुनासो आए अनुगमन गरेर सोही अनुसार कारबाही प्रक्रिया अघि बढाउनुपर्ने राष्ट्र बैंकका प्रवक्ता ढकालले जानकारी दिए ।
उनका अनुसार ऐनमा आधारित रहेर सेवा संचालन गर्न नसक्ने देखिएमा ३ महिनाको थप समय दिने व्यवस्था पनि छ । ‘कि समयमै सेवा संचालन गर्न सकिएन भनेर उचित निवेदन दिई थप ३ महिनाको समय लिनुपर्यो नभए सेवा संचालनमा ल्याउनुर्यो,’ उनले भने, ‘सेवा संचालन कागजमा मात्रै सिमित गरेको रहेछ भने हामी निरन्तर अनुगमन गर्छौँ ।’

तर, नमस्ते पेले पुर्वतयारी र परिक्षण विनै ३ महिनाको थप समय पनि नलिईकनै एप सार्वजनिक गरेको थियो । जसका कारण सेवाग्राहीले दुखः भोग्नुपरेको छ । एप्पलको अपरेटिङ सिस्टममा हालसम्म सार्वजनिक नभएपनि उक्त एप एन्ड्रोईड भर्सनमा भने १० हजार बढिपटक डाउनलोड भईसकेको छ ।
ऐन अनुसार दूरसंचार कम्पनीलेसमेत भुक्तानी सेवाप्रदायकको सेवा दिन पाईने व्यवस्था अनुरुप नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको सहायक कम्पनी खडा गरी उक्त सेवा संचालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंकले गत चैत ४ गते नमस्ते पे लाई अनुमति पत्र प्रदान गरेको थियो ।

४० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको नेपाल टेलिकमको २५ करोड अर्थात ६३ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १५ करोड रुपैयाँ अर्थात ३७ प्रतिशत लगानी रहेको छ । डिजिटल पेमेन्ट कम्पनी सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया पूरा गरी टेलिकम र वाणिज्य बैंकले २०७७ कात्तिकमा राष्ट्र बैंकका आवदेन दिएका थिए । आवेदन पेश गरेको करिब ४ महिनापछि डिजिटल पेमेन्ट कारोबारका लागि स्वीकृती प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL