Logo

पुस ७ गते स्टार्टअफ फेष्ट २०२३ आयोजना हुँदै, मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन

पुस ७ गते स्टार्टअफ फेष्ट २०२३ आयोजना हुँदै, मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन



काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुस ७ गते काठमाडौंमा स्टार्टअप फेष्ट २०२३ आयोजना गर्ने भएको छ। स्टार्टअपहरुलाई लगानी जुटाउन सहयोग गर्ने यो कार्यक्रम मुलुकमै सबैभन्दा ठूलो आयोजना हुने जनाइएको छ।

laxmi

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोग र नबिल बैंकसँगको सहकार्यमा सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ को उद्देश्य मुलुकमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नवीन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउन सघाउने, मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन एवं नीतिगत बहस गर्ने भन्ने छ।

स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको छ। नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा स्थापित गराउन लगानी जुटाएर प्रोत्साहन गरिने आयोजकले जनाएका छन्। कार्यक्रममा नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवालाहरुबीच छलफल गरिने छ।

स्टार्टअप प्रवर्धनमा विदेशमा भइरहेका सफल अभ्यास तथा उपलब्धीहरुका विषयमा पनि विभिन्न सत्रमा छलफल हुनेछन्।

सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ मा २ सय ५० भन्दा बढी स्टार्टअप्सले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन्। त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप्सलाई फेष्टमा प्रस्तुतीकरणको अवसर दिइने। प्रस्तुतिका आधारमा लगानीकर्ता कम्पनीहरुले लगानीको प्रतिबद्धता जनाइ आसयपत्रमा हस्ताक्षर गर्नेछन्।

पुँजी लगानीका लागि टेलि भेन्चर, एनआइएमबी एस क्यापिटल, रिलायबल भेन्चर, लोटस होल्डिङ, अल्फा प्लस भेन्चर, हिमालयन क्यापिटल, टिम भेन्चर, ग्लोबल इक्वीटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेन्ट, नियोटेरिक नेपालले प्रतिबद्धतासमेत जनाइसकेका छन्।

स्वदेशी एवं विदेशी विज्ञहरुबाट स्टार्टअपको विषयमा प्रस्तुति हुने फेष्टमा विभिन्न विषयमा प्यानल छलफल हुनेछन्। यसैगरी मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध स्वदेशी कम्पनीहरुको प्रदर्शनी एवं स्टार्टअप्सले आफ्ना वस्तु तथा सेवाको प्रदर्शनी पनि गर्नेछन्।

सीएनआई वाईइएफ स्टार्टअप फेष्टको पहिलो संस्करण सन् २०२२ मा गरिएको थियो। उक्त फेष्टमा २४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी जुटेको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL