Logo

अस्वाभाविक वृद्धिले सेयर बजारमा खतराको घण्टी, के गर्छन चलाख लगानीकर्ता ?

अस्वाभाविक वृद्धिले सेयर बजारमा खतराको घण्टी, के गर्छन चलाख लगानीकर्ता ?


बिजखबर संवाददाता
0
Shares

बिजखबर विश्लेषण

हकप्रद र बोनस सेयर पाइने, त्यसपछि पनि मूल्य नघट्ने लोभले धेरै लगानीकर्ताहरुलाई आकर्षित गरेको छ । तर यो अस्थायी र अल्पकालिन प्रवृत्ति हो । विगतमा धेरै साना लगानीकर्ताहरु बजार बढेर उच्च चक्रमा पुगेको बेला फँसेका छन । बजारको विद्यमान प्रवृत्तिलाई नियाल्दा अहिले पनि ठीक त्यस्तै अवस्था आउँदैछ । चलाख लगानीकर्ताहरु त अनेक उपाय गरेर उम्किन्छन । तर सावधानीपूर्वक लगानी नगरेको खण्डमा अहिलेको तातेको बजारबाट साना लगानीकर्ताहरु फेरि झुक्किएर फँस्नेछन ।

कारोबार रकम र मूल्यमा अभूतपूर्व वृद्धि

नेपालको सेयर बजारको कारोबार मापक परिसूचक नेप्सेले दिन दिनै नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । कसैले पनि मूल्य घट्ला भन्ने अनुमान गरेको छैन र त्यस्तो कुरा सन्न पनि तयार छैनन् । तर एकैदिन बजार घट्दा मुटुको धड्कन एक्कासी बढ्ने गरेको लगानीकर्ताहरु बताउँछन । दैनिक २ सय अर्ब रुपैयाँ सम्मको सेयर कारोबार र दिनदिनै मूल्यवृद्धि भैरहेको प्रवृत्तिलाई हेर्दा विश्लेषकहरु पनि चकित परेका छन ।

मुलुकको आर्थिक अवस्था ठीकठाक अवस्थामा छैन । भूकम्प र त्यसपछिको नाकावन्दीका कारण अर्थतन्त्र खुम्चिएको छ । स्वदेशी तथा विदेशी लगानीको वातावरण बन्न सकेको छैन । लगानीकर्ताहरुका लागि एउटै सकारात्मक पक्ष भनेको बैंक तथा वित्तीय संस्थाहरु सेयरधनीहरुलाई लाभांश वितरण गर्न स्कीम प्रचार गरी सेयर लगानीलाई प्रोत्साहित गरिरहेका छन ।

दैनिक ठूलो रकमको कारोबार खुकुलो कर्जाको नतिजा हो । प्रतिफलका हिसावले हालको मूल्यलाई सेयर पूष्टि गरिरहेको छैन । सट्टेवाजीको उद्देश्य मात्र पूरा भैरहेको छ । चुक्ता पँुजी वृद्धिको दवावले हकप्रद सेयर वा स्टक डिभिडेण्ड वितरणको आशाले बजार बेजोडसँग तातेको देखिन्छ ।

बैंक वित्तीय संस्थाको हकमा पुँजी वृद्धिका लागि यो अन्तिम बर्ष हो भने वीमा क्षेत्रमा पनि पुँजी वृद्धिको दवाव छ । अर्को बर्षबाट प्राप्त हुने नगद लाभांशले मूल्यलाई धान्न सक्ने स्थिति छैन । सावधानीपूर्वक र तर्कसंगत ढंगले विवेकको प्रयोग गरी सेयरमा लगानी गर्न धितोपत्र बोर्ड सम्झाइरहेको छ, जुन सराहनीय कदम हो ।

पछिल्लो समय अर्थमन्त्रालयले पनि यसमा चासो देखाएर बोर्ड र बीमा समितिका पदाधिकारीहरुसँग छलफल गरिरहेको छ । आगामी बर्षका लागि मौद्रिक नीति तर्जुमा गरिहेको राष्ट्र बैंकभित्र पनि बजारलाई कतिसम्म उकालो लाग्ने नीति अवलम्वन गर्ने भन्नेमा छलफल भैरहेको बुझिएको छ ।

चलाख लगानीकर्ताहरु को हुन, के गर्छन ?

नेपालको सेयर बजारको प्रारम्भदेखि नै केही सीमित संख्याका लगानीकर्ताहरुले सेयर होल्ड गर्ने, बजारमा कम मात्र सक्रिय कारोबारमा राख्ने मूल्य उच्च बनाउने, विक्री गरेर कमाउने र अन्तमा मूल्य घटेपछि त्यही सेयर फेरि खरिद गर्ने प्रवृत्ति देखिएको छ ।

यस्ता लगानीकर्ताहरुमा सूचीकृत कम्पनीका संस्थापकहरु, राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, बीमा समितिका कर्मचारीहरु, केही सूचनामा प्रत्यक्ष पहुँच भएका सरकारी कर्मचारीहरु, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु यस अन्तर्गत पर्छन । यिनीहरु नीतिलाई परिवर्तन गरेर अथवा अनुकूलको नीति बनाएर सेयर बजारबाट लाभ लिने गर्छन । मूल्यलाई प्रभाव पार्ने संवेदनशील सूचनाहरु सेयरिङ हुन्छ । उनीहरु योजनावद्ध ढंगले सेयर खरिद विक्री गरी लाभ लिने गर्छन । दलालहरुसँग मिलेर यिनीहरुले लाभका लागि बजारलाई उतारचढाव गराइरहन्छन ।

नीतिको असर प्रभावकारी ढंगले विश्लेषण गर्न सक्छन र सर्वसाधारण लगानीकर्ताहरुले बाहिर निस्कन नपाउँदै आफू बाहिर निस्किहाल्छन । यसलाई नीतिगत भ्रष्टाचार भनिन्छ । नियमनकारी निकायहरु कमजोर भएका कारण यस्तो प्रवृत्ति मौलाएको छ । अन्य मुलुकमा भित्री सूचनाको आधारमा हुने सेयर कारोबारलाई अपराधको रुपमा लिएर कार्बाही गर्ने गरिन्छ ।

फँस्ने सर्वसाधारण लगानीकर्ताहरु

मूल्य घटेको बेला धेरैजसो सर्वसाधारण लगानीकर्ताहरु सेयर किन्न लालायित नहुने र बढेको बेला बजारमा झ्वाम्मै हामफाल्ने स्वाभावका हुन्छन । यो नै उनीहरुको ठूलो कमजोरी हो र फँस्ने कारण पनि यही हो । लगानी गरी लाभ लिने हो भने दीर्घकालिन सोच लिनुपर्छ, लामो समय होल्ड गर्न सक्नुपर्छ । बजार बढ्दा खरिद गरिहाल्ने र घट्दा अतालिएर विक्री गर्ने यिनीहरुको स्वाभाव हुन्छ । यिनीहरुको सूचनामा पहुँच छैन र थाहा पाउँदा ढिला भैसकेको हुन्छ ।

यसका साथै यिनीहरुले राम्रोसँग विश्लेषण पनि गर्न सक्दैनन् । बजार बढेका बेला सेयर खरिद गर्ने धेरै साना लगानीकर्ताहरु फँसेका छन । अहिले पनि ठीक यस्तै अवस्था धेरैले अनुमान गरिरहेका छन । खरिद नगरौ बढिहाल्यो भने नाफाबाट बञ्चित हुने, गरौं बजारको उचाईको आभाष नै हुँदैन, घट्यो भने छ्वाङ्गै तल सडकमा ।

बजार यथार्थतामा हिड्दैन तथापि झण्डै १२ सय अंक सम्मको उचाई दिगो हो । तर अहिले १६ सय नाघिसक्यो । चित्तबुझ्दो कारण केही छैन । बजार बढ्छ भन्ने हाल्ला मात्र फैलाइएको छ । १२ सय माथिको नेप्से कुनैपनि निहु पाएको खण्डमा घट्न तयार उचाई हो । लगानीकर्ताहरुले यसलाई सोही अनुसारको व्यवहार गर्नुपर्छ ।

जोखिम के के छन ?

बैंक तथा वित्तीय संस्थाहरुको हकप्रद र बोनसको आकर्षण आगामी भदौ सम्म हो । सो समयमा उनीहरुले प्रतिफलको घोषणा गर्छन । तर केहीको बाहेक अधिकांशको बोनस घोषणा पनि अहिले नै अनुमान गर्न सकिन्छ । धेरैलाई लागेको हुनसक्छ, भदौ उत्कर्ष समय हो । तर दुईबर्ष अघि बजारले घट्नलाई भदौ पर्खिएन ।

बढेको सेयर बजारले उचाईको एउटा चक्र पूरा गरेको छ । उच्चविन्दूतिर कति लामो समय अड्कनेछ भन्ने भेउ पाउन मात्र लगानीर्ताहरुलाई कठिन भैरहेको छ । खासमा बजारले दिग्गजहरुलाई पनि झुक्याउछ । यसो नहुने भए उनीहरु न्युनतम मूल्यमा किनेर अधिकतममा विक्री गर्न सफल हुन्थे । तरपनि चलाखहरुले आफ्नो पोको बलियो बनाइसकेका हुन्छन । यस्तो अवस्थमा सर्वसाधारणले भने केही आधारभूत पक्षमा ध्यान दिनैपर्छ ।

आर्थिक गतिविधिले सहयोग गरेन भने बैंक तथा वित्तीय संस्थाहरुलाई ठूलो पुँजीमा प्रतिफल दिन कठिन हुन्छ र पोर्टफोलियोले धान्न कम्तीमा अर्को दुईबर्ष पर्खिनुपर्ने हुन्छ । त्यो पनि नगद लाभांशका लागि । यिनीहरुको पुँजी पर्याप्तता अनुपात कायम गर्नका लागि पुँजी बढाउँदै जानुपर्ने हुन्छ । कारोबार विस्तारको संभावना भएमा केही बर्षपछि बोनस प्रतिफलको संभावना रहन्छ ।

अर्कोकुरा, अहिलेको हकप्रद र बोनस सेयर वितरणले पनि सेयरको समग्र आपूर्ति बढाउँछ । अझ खतरनाक पक्ष त के छ भने बैंक तथा वित्तीय सस्था संचालनमा आएको ७ वर्ष पछि नै संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्न पाउने संभावनामा केही लगाम लागेन भने अझ ह्वात्तै सेयरको आपूर्ति बढ्नेछ । यो व्यवस्था नभएर १० बर्ष हुँदा पनि धेरै बैंक तथा वित्तीय संस्थाहरु संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्न योग्य भैसकेका छन । सेयरको आपूर्ति बढ्नेमा कुनै शंका छैन । यसले गर्दा मूल्य घट्ने संभावना प्रशस्त छ ।

बजार उभो लाग्दा खरिदकर्ताहरु देखापर्छन तर ओरालो लाग्दा खरिदकर्ता गायव हुन्छन र थोरै सेयरको आपूर्ति पनि बजार तहसनहस गराउन काफी हुन्छ । पछिल्लो पुस्ताका बाहेक अन्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन अवधि ७ बर्ष पुगिसकेको छ । यसमा केही जोखिम पक्कै छ ।

विनाकारण बजार धेरै नै बढेकोले पनि घट्ने अवस्थामा पुगेको सेयरका विश्लेषकहरु बताउँछन । अर्थतन्त्रको अवस्थाले बजार बढ्नुपर्ने पूष्टि दिदैन । लगानीका अन्य क्षेत्रहरु नहुँदा सेयर बजारतर्फ लगानीकर्ताहरुको आकर्षण देखिएको त छ तर यो बाध्यात्मक अवस्था हो । एउटा क्षेत्रमा बढी लगानी भयो भनेर राष्ट्र बैंकले कर्जाको खुकुलो व्यवस्थामा कडाई गर्न सक्छ । त्यसपछि वास्तविक कारोबार फेरि दैनिक १५ देखि २० करोडमा झरिहाल्छ ।

यसका साथै सेयरबाट बाहिर निस्कने उपयुक्त समयको पर्खाइमा धेरै लगानीकर्ताहरु रहेका छन । उनीहरुले कुनैपनि समय आफूसँग भएको सेयर विक्रीमा ल्याउन सक्नेछन । यसले आफूर्ति बढाई मूल्य घट्न दवाव दिनेछ । पुँजीवृद्धिको चापले बैंक तथा वित्तीय संस्थाहरुले दिने प्रतिफल पनि घट्ने निश्चित छ भने सेयर बजारको उचाई चुम्ने एउटा अर्को चक्र पनि विस्तारै पूरा हुँदै गएको छ ।

त्यसैगरी प्रमुख सत्ता घटकबीच सरकार परिवर्तनको खेल भूसको आगो झै सल्किरहेको छ । यदि बजारको प्रतिकूल सरकार आयो भने कसैले पनि सेयर विक्री गर्न भ्याउँदैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकारको नेतृत्वको दाउपेचमा सक्रिय देखिएका छन ।

कसको नेतृत्वमा कस्तो सरकार बन्ला र त्यसले सेयर बजारप्रति कस्तो नीति लिनेछ भन्ने खतरा जोखिम पक्कै छ । यी सबै पक्षलाई विचार गरी होसियारीपूर्वक लगानी गर्नु र शान्त निद्राको व्यवस्था गर्नु नै उत्तम हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL