Logo

स्मार्ट कार्डमा ३ अर्ब लगानी गरेर १० अर्ब उठाउँदै विभाग, यस्तो छ योजना

स्मार्ट कार्डमा ३ अर्ब लगानी गरेर १० अर्ब उठाउँदै विभाग, यस्तो छ योजना


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनको ब्लु बुक र सवारी चालक अनुमति पत्रलाई कार्यान्वयनमा ल्याउन ३ अर्ब रुपैयाँ लाग्ने बताएको छ । हाल संचालनमा ल्याएको सवारी चालक अनुमतिपत्रको स्मार्टकार्ड व्यवस्थित र ब्लु बुकलाई स्मार्ट कार्डमा परिवर्तन गर्न सो रकम लाग्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार सवारी साधनको ब्लु बुक र लाइसेन्सलाई पूर्ण रुपमा स्मार्टकार्डमा बदल्न ३ अर्ब रुपैयाँ लाग्ने छ भने त्यसबाट सरकारलाई १० अर्ब रुपैयाँ राजस्व संकलन हुनेछ । हाल बजेट स्वीकृतिको लागि आवश्यक योजना सहित अर्थ मन्त्रालयमा पठाइएको उनले जानकारी दिए ।
अहिले देशमा २२ लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र तथा १९ लाख भन्दा बढी सवारीसाधन रहेका छन् । ती सवारीसाधनको ब्लु बुक र लाइसेन्सलाई स्मार्टकार्ड बनाएर वितरण गरेबापत सरकारले सो रकम बरावरको राजस्व संकलन गर्ने छ ।

विभागले लाइसेन्सलाई स्मार्ट कार्ड बनाए वापत २ पाङ्ग्रे सवारीको १ हजार ५ सय रुपैयाँ र ४ पाङ्ग्रेको २ हजार ५ सयभन्दा बढी लिँदै आएको छ । हाल विभागले बागमती अञ्चल यातायात कार्यालयबाट मात्रै लाइसेन्सको स्मार्टकार्ड वितरण गर्दै आएको छ । आगामी दिनमा वागमती वाहेकका अन्य अञ्चलमा जानका लागि थप पूर्वाधार चाहिने विभागले जानकारी दिएको छ ।

यसैगरी, ब्लु बुकलाई स्मार्टकार्डमा परिवर्तन गर्दा न्युनतम १ हजार रुपैयाँदेखि ४ हजारसम्म रुपैयाँ लाग्ने भएको छ । जस अनुसार २ पाङ्ग्रे सवारीको १ हजार, चारपाङ्ग्रे साना सवारीको २ हजार, मझौलाको ३ हजार र ठूला सवारीसाधनको ४ हजार रुपैयाँ निर्धारण गरिएको श्रेष्ठले जानकारी दिए ।

सरकारले यस अघि सो कामका लागि एसियाली विकास बैंक (एडीबी) को सूचना सञ्चार प्रविधि (आईसीटी) अन्तर्गतको कार्यक्रमबाट २३ लाख अमेरिकी डलर अनुदान प्राप्त गरेको थियो । सो रकमबाट लाइसेन्सको स्मार्टकार्ड कार्यान्वयनमा ल्याएको थियो । त्यतिबेला भारतको मद्रास प्रिन्टर्सले टेन्डरमार्फत स्मार्टकार्डको हार्डवेयर, सफ्टवेयर र १ लाख ६० हजार थान स्मार्टकार्ड उपलब्ध गराएको थियो । हाल सो स्मार्ट कार्ड सकिन लागेको र थप विस्तारका लागि ३ अर्ब रुपैयाँ लाग्ने श्रेष्ठले जानकारी दिए ।

स्मार्टकार्डको छपाई केन्द्रबाट मात्र

विभागले स्मार्ट कार्डको छपाई केन्द्रबाट मात्र गर्ने भएको छ । देशभरका अञ्चल यातायात कार्यालबाट लाइसेन्स र ब्लु बुकको स्मार्ट कार्ड वितरण गरिएपनि छाप्ने काम भने केन्द्रबाट मात्र गर्ने श्रेष्ठले जानकारी दिए । सुरक्षाका दृष्टिकोणले पनि केन्द्रबाट मात्र वितरण गर्न लागिएको हो ।

स्मार्टकार्डको लागि टेण्डर आब्हान गरिँदै

यातायात व्यवस्था विभागले स्मार्टकार्ड छपाइका लागि टेण्डर प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । हाल सम्पूर्ण कागजात तयार भएको र अर्थबाट सहमति आउने वित्तिकै बोलपत्र आब्हान गरिने श्रेष्ठले जानकारी दिए । यस अघि छापिएका स्मार्टकार्ड सकिन लागेको र ब्लु बुकको लागि चाहिने भएकाले टेण्डर आब्हान गर्न लागिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL