Logo

नयाँ गन्तव्यको खोजीमा निगम, गन्जाओ र दमानमा उडान भर्दै

नयाँ गन्तव्यको खोजीमा निगम, गन्जाओ र दमानमा उडान भर्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमले चीन र साउदी अरवमा नयाँ उडान भर्ने भएको छ । निगमले नयाँ–नयाँ रुटमा खोज्ने क्रममा आगामी दिनमा उक्त स्थानमा उडान भर्न लागेको हो । चीनको गन्जाओ र साउदी अरबको दमानमा नयाँ उडान भर्न लागिएको निगमका एक्स्टर्नल एण्ड पब्लिक अफियर्सका उपनिर्देशक सैलेश कंसाकारले बताए ।

उनका अनुसार गन्तव्य बढाउने क्रममा ती स्थानमा उडान भर्न लागिएको हो । ‘ती दुई स्थानबाट उडान भर्नका लागि प्रक्रिया अगाडी बढाएका छौं,’ उनले भने, ‘सोको लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट अपरेटिङ अथोराइजेशन लिन बाँकी छ ।’ मन्त्रालयबाट स्वीकृति आएलगत्त उडानका लागि थप प्रक्रिया शुरु गनेछौं ।

निगमले ती दुइ स्थानमा यही मार्चबाट उडान भर्ने लक्ष्य राखेको थियो । तर, नाकाबन्दीका कारण ढिलाई भएको उनले जानकारी दिए । त्यस्तै, चिनीयाँ नयाँ वर्ष लगायतका कारणले गर्दा पनि केही ढिलाई भएको उनले बताए ।

उडानका लागि चिनियाँ पक्षले सवै डकुमेन्ट प्रमाणीकरण गर्ने हुँदा प्रक्रिया लामो हुने भएको छ । ‘गन्जाओका लागि ग्लोवल सेल्स एजेन्ट (जिएसए) खोजी सकेका छौं,’ उनले भने, ‘यसैगरी, साउदी अरबको दमानका लागि पनि जिएसए नियुक्त गरिएको छ ।’ हाल गन्जाओ र दमानमा कम्तिमा हप्ताको २ ओटा उडान भरिने भएको छ । तर, अधिकतम कति गर्नेबारे छलफल भइरहेको छ ।

जहाजको प्रयोगलाई बढाउने उद्देश्यका साथ नयाँ गन्तव्य खोजी गरिएको कंसाकारले जानकारी दिए । ‘हाल हप्तामा ८ घण्टा अन्तरराष्ट्रिय उडान गरिरहेका छौं,’ उनले भने, ‘अव यसलाई बढाएर हप्ताको १३ देखि १४ घण्टा पुर्याउने लक्ष्य छ ।’

गन्जाओ र दमानसँगै निगमको अन्तरराष्ट्रिय उडानको गन्तव्य ९ पुग्नेछ । निगमले गन्तव्य बढाउने क्रममा हालै भारतको मुम्वइ र बैंगलोरमा उडान शुरु गरेको थियो । मुम्वइ र बैंगलोरको उडानबाट निगमलाई फाइदा भएको उनले जानकारी दिए । ‘निगमले उडान शुरु गर्नु पूर्व नाफा घाटालगायत बारे अध्ययन गर्छ,’ ‘तर, यो एकदमै सेन्सेटिभ क्षेत्र भएकोले नाफाको निश्चितता भने हुने छैन ।’

निगमको हाल अन्तरराष्ट्रिय उडानतर्फ ४, आन्तरिक उडानतर्फ ५ वटा विमान सञ्चालन गरिरहेको छ । नेपालले ३८ मुलुकसँग हवाई सम्झौता गरिसकेको भएतापनि अहिलेसम्म निगमले जम्मा पाँच मुलुकका सात सहरमा मात्र सेवा सञ्चालन गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL