Logo

निर्यात व्यवसायीका दुःख : सरकारले व्यवसायीका कुरा नसुन्दा नेपाली उत्पादनको बजार धराशायी

निर्यात व्यवसायीका दुःख : सरकारले व्यवसायीका कुरा नसुन्दा नेपाली उत्पादनको बजार धराशायी



काठमाडौं । निर्यात व्यवसायीहरुले सरकारले आफ्नै मनोमानीमा नीतिनिर्माण गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको ‘निर्यातजन्य उद्योगहरुद्वारा विदेशी मुद्रा आर्जनमा हुने भूमिका’ बिषयक संवाद कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

laxmi

पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा संचितिका कारण देशमा संकट निम्तिएको बताईँदै आएको छ । यस्तो संकटबाट मुक्ति पाउनका लागि विदेशी मुद्रा आर्जनमा निर्यातको पनि भुमिका हुने भएपनि सरकारले साथ नदिँदा यो भनाईले सार्थकता नपाएको निर्यातकर्ताहरुले बताएका छन् ।

पछिल्लो समय निर्यातको खुब चर्चा चलेपनि निर्यातकर्तामुखी कार्यहरु हालसम्म भनेबमोजिम नभएको नेपाल निर्यात परिषदका अध्यक्ष रेशम पोख्रेल बताउँछन् । उनका अनुसार अहिले देखिएको संकटबाट बाहिर निस्कनुमा निर्यातकर्ताहरुको पनि योगदान हुने भएपनि विभिन्न समस्याका कारण यस्तो हुन सकेको छैन । नेपाल सरकारले अन्य देशहरुबाट हेरेर निर्यात प्रवद्र्धन, वस्तु उत्पादनलगायतका बिषयमा विशेष छलफल प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाई छ ।

यस्तै संवाद कार्यक्रममा बोल्दै तयारी पोशाक संघका अध्यक्ष चण्डी प्रसाद ढकालले सरकारले निर्यात नीति नै बनाएर अघि बढेमात्रै नेपालको निर्यात फस्टाउने बताए । पछिल्लो समय भन्सारबाटै विदेशी वस्तुहरुको न्युन विजकीकरणसहित आयात हुँदा नेपाली उत्पादनकर्ता मर्कामा परेको उनले बताए । विदेशी कुनै वस्तु न्युन विजकीकरणमा आयात हुँदा स्वदेशी उत्पादन त्यससँग प्रतिश्पर्धा गर्न नसक्ने र त्यस्तै अवस्था अन्तरराष्ट्रिय बजारमा पनि देखिने उनले बताए । यसैका कारण वरु सरकारले प्रत्येक बस्तुको भन्सार शुल्क तोकिदिनुपर्ने उनको माग छ ।

यस्तै नेपाल धागो उद्योग संघका अध्यक्ष पवन गोल्यानले नेपाली उत्पादनको फिनिसिङ विदेशीको जस्तो नभएकाले निर्यात र स्वदेशमै स्वदेशी उत्पादनको बजार विस्तार गर्न नसकिएको बताए । कार्यक्रममा बोल्दै उनले नेपालको निर्यात प्रवद्र्धन गर्न उत्पादनकर्ताले उत्पादनको गुणस्तर बढाउने र सरकारले बजार खोजिदिने काम गर्नुपर्ने बताए ।

यस्तै उनले नेपालमा उत्पादन हुने अल्लो, गाँजाको लोक्तालगायतका फाईबरलाई प्रचारप्रसार गरी विदेश निर्यात गर्न सकिने भएपनि सरकारले यसमा ध्यान नदिएको बताए । नेपालमा आउने धेरैजसो टेक्सटायल न्युन विजकीकरणमा आउँदाप नेपाली उत्पादनले बजारमा प्रतिश्पर्धा गर्न कठिन भएको र नेपाल उत्पादन सुक्दै गएको उनको भनाई छ । नेपालमा उत्पादन हुने वस्तुको आयातमा कडाईलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । यस्तो हुँदा नेपालमा उत्पादन हुने वस्तुले उचित मूल्य र बजार पाउने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै पूर्व उद्योग सचिव चन्द्र घिमिरेले सरकारले निर्यात प्रवद्र्धनका नीति बनाउँदा आफ्नै मनोमानीले बनाउने गरेकाले नेपालको निर्यात भनेबमोजिम प्रवद्र्धन हुन नसकेको बताए । उनले व्यवसायी आयातमुखी अर्थतन्त्रमा रमाएपछि सरकार पनि व्यवसायीसँगै रमाउन लागेको आरोपसमेत लगाएका छन् । उनका अनुसार सरकारले नै पछिल्लो समय निर्यातको तुलनामा आयातित व्यापारलाई बढवा दिईरहेको छ । धेरैजसो मन्त्रालयले नै निर्यातमुखी र नेपालमा उत्पादन गर्नतिर जोड नदिएको जस्तो देखिने उनको भनाई छ ।

पूर्व वाणिज्य सहसचिव रविसंकर सैँजु भने नेपालको निर्यात प्रवद्र्धनका लागि निर्यातमा अनुदान, फ्रेट सुविधामा बढवालगायतका बिषयहरुलाई विशेष ध्यान दिनुपर्ने बताउँछन् । उनका अनुसार नेपालले वस्तु आयात गर्दा खासगरी भ्यालु एड हुने वस्तु ल्याउँदा आयात कम हुने र निर्यातमा पनि केही राहत हुन्छ । छ । ‘नेपालको पछिल्लो ट्रेन्ड हेर्दा खानेतेल पनि आयात गरेको छ र दाना बनाउने पीना पनि आयात भएको छ,’ उनले भने, ‘एकैचोटी सोयाविन नै ल्याएर यतै पेलेर तेल निकालियो भने त पीना ल्याउने पैसा त बच्छ नी ?’

उनी नेपाली निर्यातकर्तालाई सक्दो सहयोग गर्न सरकारनै लागिपर्नुपर्नेमा जोड दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL