Logo

विदेशबाट नेपाली कामदार ल्याउन सरकारले थाल्यो पहल, होटल र रिसोर्टलाई क्वारेन्टिन बनाईदै

विदेशबाट नेपाली कामदार ल्याउन सरकारले थाल्यो पहल, होटल र रिसोर्टलाई क्वारेन्टिन बनाईदै



काठमाडौं । नेपाल सरकारले विदेशबाट नेपाली कामदार ल्याउन पहल शुरु गरेको छ । सरकारले विदेशबाट फर्किएका नागरिकहरुलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्टहरु प्रयोगमा ल्याउने तयारी थालेको हो ।

बिहीबार सहरी विकास मन्त्रालयमा भएको छलफलमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थित रुपमा चलेका होटल तथा रिसोर्टहरुलाई क्वारेन्टिन स्थल बनाउनेबारे आवश्यक परामर्श थालिएको बताए ।

देशभरका क्वारेन्टिनको अनुगमन र सहजिकरणको जिम्मेवारीमा रहेत रहेका मन्त्री मानन्धरले मुलुक र जनता संकटमा परेको बेला सरोकारवाला सबैले सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताए । मन्त्री मानन्धरले देश नै संकटमा परेका बेला ठुला होटलहरुलाई क्वारेन्टिन स्थलका रुपमा व्यवस्थापन गर्न सरकारले पहल थालिरहेको बताउँदै व्यावसायीबाट आवश्यक सहयोगको अपेक्षा समेत गरे ।

राज्यमन्त्री मानन्धरले हाल खाली रहेका होटलहरुलाई निश्चित रकम तिरेर सरकारले जनताको जिवन रक्षाका लागि प्रयोग गर्न सक्ने बताएका हुन् । विदेशमा विपद्मा परेका नागरिकहरुलाई सरकारले उद्दार गरि ल्याएको अवस्थामा उपत्यकामा आवश्यक क्वारेन्टिनका लागि पुर्व तयारी गरिएको बताउँदै मन्त्री मानन्धरले हाल उपत्यकामा ५ सय १८ वटा बेड तयारी अवस्थामा रहेको बताए ।

विदेशबाट फर्किने मजदुर बर्गका सर्वसाधारण र अन्य प्रयोजनमा विदेश गएर फर्कन लागेकाहरुबीच वर्गिकरण गरिने बताउँदै श्रमका लागि खाडी लगायतका मुलुकमा पुगेर विपद्मा फसेका कामदारलाई सरकारले प्राथमिकता दिने मन्त्री मानन्धरले बताए ।

खाडी मुलुकमा श्रमका लागि गएका सर्वसाधारणलाई सरकारले क्वारेन्टिन लगायतका व्यवस्थापनमा प्राथमिकतामा राख्ने बताउँदै मन्त्री मानन्धरले विपद्मा फसेका नेपालीबारे सरकार चिन्तित रहेको बताए ।

हवाई मार्ग भएर फर्कनेहरुका लागि उपत्यकामा अस्थायी क्वारेन्टिन बनाउने र सम्बन्धित स्थानिय तहमार्फत् व्यवस्थापन गर्नेबारे सरकारले छलफल गरिरहेको मन्त्री मानन्धरले बताए ।

देशभर करिब ६५ हजार क्वारेन्टिन बेड तयारी अवस्थामा रहेको प्रतिवेदन आफुकहाँ आइपुगेको बताउँदै मन्त्री मानन्धरले २५ हजार सर्वसाधारण क्वारेन्टिनमा रहेको जानकारी समेत दिए । केही स्थानमा क्वारेन्टिन व्यवस्थापनमा कमजोरी देखिएको बताउँदै राज्यमन्त्री मानन्धरले तत्काल सुधारका लागि सरकारले आवश्यक समन्वय गरिसकेको बताए ।

क्वारेन्टिन व्यवस्थापनको खर्च संघीय सरकारले व्यहोर्ने बताउँदै राज्यमन्त्री मानन्धरले निर्धक्क भएर व्यवस्थापनमा लाग्न देशभरका स्थानिय सरकारहरुलाई आग्रह समेत गरे । भारतमा काम गर्दैआएका हजारौं सर्वसाधारण नेपाल भित्रन खोजिरहेको बताउँदै मन्त्री मानन्धरले उनीहरुको आवश्यक व्यवस्थापनका लागि सम्बन्धीत क्षेत्रका स्थानिय तह तगायत सरोकारवाला निकायलाई आग्रह समेत गरे ।

कार्यक्रममा अनुगमन तथा सहजिकरणको जिम्मेवारीमै रहेका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सरकारले बनाएको मापदण्ड अनिवार्य रुपमा पालना गर्न स्थानिय सरकारलाई आग्रह गरे । मन्त्री रावतले क्वारेन्टिनमा आवश्यक खर्चबारे चिन्ता नलिन स्थानिय सरकारलाई आग्रह पनि गरे । दार्चुला, बाँके, बर्दिया,जुम्ला, बाजुरा, पर्सा, कैलाली,कञ्चनपुर लगायतका जिल्लामा भारतबाट आउने सर्वसाधारणको व्यवस्थापनमा समस्या देखिएको बताउँदै मन्त्री रावतले व्यवस्थापनमा कमजोरी हुन नदिने बताए ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले क्वारेन्टिन व्यवस्थापन कार्यविधि पालना गरिए समस्या नआउने बताउँदै बजेट व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि अर्थ मन्त्रालयलाई आग्रह गरे ।

सचिव अधिकारीले ठुला होटलहरुलाई आवश्यक समयमा सरकारले प्रयोग गर्ने बताए । गृहमन्त्रालयकी उपसचिव गोमादेवी चेमजोङले बसाइएकाहरुको अनुसासन लगायतका समस्या देखिएकाले क्वारेन्टिनको भित्री व्यवस्थापन नेपाली सेना मार्फत् गरिए सहज हुने बताइन् । अन्तर मन्त्रालय समन्वयमा जोड दिदै चेमजोङले विदेशबाट आउने सम्भावित सर्वसाधारणको डाटा तयार पारेर सबै तहमा पुर्याउन्पर्ने बताइन् ।

रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक सबै आर्थिक व्यवस्थापन संघीय सरकारले प्रवन्ध गराउने बताए । छलफलमा गृह, रक्षा, सामान्य प्रशासन, स्वास्थ्य र सहरी विकासका उच्च अधिकारीहरु सहभागी थिए

प्रतिक्रिया दिनुहोस्
MBL