Logo

४ महिनामा पौने ५ खर्ब रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट

४ महिनामा पौने ५ खर्ब रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट



काठमाडौं । चालु आर्थिक बर्षको कार्तिक मसान्तसम्म नेपालमा पौने ५ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ४ महिना (कात्तिक मसान्त) सम्म आउँदा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

laxmi

यस्तो रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो ।

गत वर्षको तुलनामा चालु आवको पहिलो ४ महिनामा वैदेशिक रोजगारीको लागि विदेसिने नेपालीको संख्यामा भने कमी आएको छ । राष्ट्र बैंकको त्यथ्यांक अनुसार चालु आर्थिक वर्षको ४ महिनासम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४ सय ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८ सय४१ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७ सय ३५ र ८७ हजार ४ सय २८ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा खुद ट्रान्सफर २४।९ प्रतिशतले वृद्धि भई ५ खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL