Logo

विश्वभर एक करोड ५० लाख बालिका विद्यालयबाहिर, केहि क्षेत्रमा आधा बालिकाले पढ्नै पाउँदैनन्

विश्वभर एक करोड ५० लाख बालिका विद्यालयबाहिर, केहि क्षेत्रमा आधा बालिकाले पढ्नै पाउँदैनन्



काठमाडौं । प्रणालीगत लैङ्गिक भेदभावले विश्वव्यापी रूपमा बालिका र युवा महिलाहरूको शिक्षामा समान पहुँचमा बाधा पुर्‍याइरहेकाले विश्वभरका एक करोड ५० लाख प्राथमिक उमेरका बालिकाहरू हाल विद्यालय बाहिर रहेको युएन वुमनको नयाँ प्रतिवेदनले सार्वजनिक गरेको छ ।

प्रतिवेदन अनुसार हालका दशकहरूमा प्राथमिक र माध्यमिक विद्यालय भर्ना दरमा औसतमा लैङ्गिक समानता भए पनि धेरै क्षेत्रमा असमानता उल्लेखनीय रहेको छ । केही क्षेत्रमा ४८ दशमलव एक प्रतिशत बालिका विद्यालय बाहिर छन् ।

केटाहरूको तुलनामा स्थिति विशेष गरी स्पष्ट छ– प्राथमिक विद्यालयबाट बाहिर एक करोड ५० लाख बालिका र एक करोड केटाहरू रहेको प्रतिवेदले खुलासा गरेको छ ।

पहिलेभन्दा धेरै बालिका विद्यालय गइरहेको र प्राथमिक तहपछिका प्रत्येक अतिरिक्त वर्षको शिक्षाले बालिकालाई बाल विवाहबाट बच्न, रोजगारी पाउन र राम्रो स्वास्थ्य र समग्र कल्याण हासिल गर्ने सम्भावनालाई ठूलो मात्रामा सुधार गरेको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि, किशोरी बालिकाहरूले शिक्षामा बाधाहरूको सामना गरिरहेका छन्, धेरै बाल गर्भावस्था र घरेलु जिम्मेवारीहरूमा सहयोग गर्ने अपेक्षाका कारण माध्यमिक विद्यालय छोडिरहेका छन् ।

‘पहिलेभन्दा धेरै बालिकाहरू विद्यालय गइरहेका छन् । तिनीहरूले पढ्न र लेख्न सिक्ने मात्र नभई प्राथमिक तहपछि विद्यालयमा रहने प्रत्येक वर्षले तिनीहरूको धेरै कम उमेरमा विवाह हुने सम्भावनालाई कम गर्छ । यसले तिनीहरूको रोजगारी, स्वास्थ्य र समग्र कल्याणको सम्भावनालाई बढाउँछ । बालिका र महिलाहरूको आफ्नो जीवनका सबै चरणमा गुणस्तरीय शिक्षा र सिकाइको समान अधिकार छ’, प्रतिवेदनमा भनिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्