काठमाडौं । नेपाल बैंकर्स संघले भिसासँग सहकार्यका लागि सम्झौता गरेको छ । विश्वकै अग्रणी डिजिटल भुक्तानी सेवाप्रदायक भिसासँग नेपालमा साइबर सुरक्षा सम्बन्धी जनचेतना र क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम तथा क्रियाकलाप सञ्चालन गर्ने गरी सम्झौता भएको हो ।
डिजिटल भुक्तानी प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल बैंकर्स संघ र भिसाले यसपटक रणनीतिक रूपमा साइबर सुरक्षामा केन्द्रित गर्दै कार्यक्रम अघि बढाउन लागेका हुन् । यस अन्तर्गत सबै प्रदेशहरूमा साइबर सुरक्षा सम्बन्धी कार्यक्रम आयोजना गरिनेछ । साथै, सम्बन्धित सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन हुनेछ ।
प्रदेशगत गतिविधिलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न निकायका प्रतिनिधि र नियामक संस्थाका अधिकारीहरू सहभागी हुने एक व्यापक कार्यक्रम पनि आयोजना गरिनेछ । यस्तै, भिसाका अधिकारी र विभिन्न बैंकका अधिकारीबीच विशेष अन्तरक्रिया सत्र पनि गरिनेछ ।
नेपाल बैंकर्स संघ र भिसाले यो साझेदारीले नेपालको भुक्तानी प्रणाली सुदृढ गर्न, साइबर सुरक्षा सम्बन्धी चेतना अभिवृद्धि गर्न, क्षमता निर्माण गर्न तथा अन्तर्राष्ट्रिय अनुभवबाट सिक्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् ।