Logo

गर्मी बढेसँगै बिजुलीको माग उच्च, भारतमा अनुमति पाएको भन्दा बढी बिजुली निर्यात गर्दै प्राधिकरण

गर्मी बढेसँगै बिजुलीको माग उच्च, भारतमा अनुमति पाएको भन्दा बढी बिजुली निर्यात गर्दै प्राधिकरण



काठमाडौं । पछिल्लो समय गर्मी बढेसँगै नेपालमा विजुलीको माग उच्च वृद्धि भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्लो ३ महिनामा मात्रै नेपालमा विजुलीको माग ४ सय मेगावाटले बढेको हो ।

देशभर बढेको गर्मीसँगै सेवाग्राहीले एसी र पंखा चलाउनाले पनि विजुलीको माग बढेको विद्युत प्राधिकरणले जानकारी दिएको छ । यस्तै विजुलीको उत्पादन वृद्धि भएपछि नेपालमा संचालित उद्योग कलकारखानाहरु पनि फुल फ्लेजमा चल्न थालेसँगै विजुलीको माग बढेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन् ।

पछिल्लो समय विजुलीको उच्चतम माग (पिक आवर डिमान्ड) १ हजार ८ सय ६५ मेगावाट छ । यो गत चैतको तुलनामा ४ सय मेगावाटले बढी हो । गत चैतसम्म नेपालमा विजुलीको पिक डिमान्ड १४ सय मेगावाटको हाराहारीमा थियो । बिजुलीको अभाव भएको समयमा नेपाल विद्युत प्राधिकरणले भारतबाट विजुली आयात गरी उद्योग कलकारखानाहरुमा र घरायसी प्रयोगका लागि विजुलीको परिपुर्ति गरिरहेको थियो । पछिल्लो समय बर्खा लागेसँगै खोलानालाहरु बढेपछि नेपालको विजुली भारततर्फ निर्यात दिनप्रतिदिन बढ्दै छ ।

प्राधिकरणका अनुसार पछिल्लो समय नेपालको विद्युत प्रणालीमा नेपाल विद्युत प्राधिकरणसम्बद्ध कम्पनीहरुबाटको १० हजार १ सय ११ मेगावाट आवर, स्वतन्त्र उर्जा उत्पादकहरुबाट १६ हजार ४ सय ७० मेगावाट आवर र नेपाल विद्युत प्राधिकरणका सब्सीडरी कम्पनीबाट १२ हजार ८ सय १७ मेगावाट आवर विजुली जोडिएको छ । यस्तै भारतबाट पनि नेपालले १६ सय ५५ मेगावाट आवर विजुली आयात गरिरहेको छ । यसरी नेपालको कुल विद्युत माग ३२ हजार ५ सय ७२ मेगावाट आवर भएपनि हाल प्रणालीमा बढी भएको विजुली भारत निर्यात हुँदै आएको छ ।

भारतीय ईनर्जी एक्सचेन्जको मागअनुसार हाल नेपालबाट प्रतिदिन औषतमा ७ हजार देखि ८ हजार ७ सय मेगावाट आवरसम्म विजुली निर्यात भइरहेको छ । नेपालले यस्तो विजुली भारतमा औषतमा प्रतियुनिट ९ रुपैयाँ ८० पैसामा बेचिरहेको प्राधिकरणका प्रवक्ता भट्टराई बताउँछन् ।

नेपालका विभिन्न स्थानमा पछिल्लो समय भएको उच्च बर्षाका कारण खोलानाला बढेपछि नदी प्रवाहीमा आधारित जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बढेको छ । जसका कारण प्रणालीमा विजुली थपिएसँगै बढी भएको विजुली भारत निर्यात थालिएको हो । जसअन्तर्गत हालसम्म प्राधिकरणले सबैभन्दा बढी ८ हजार ८ सय मेगावाट आवर अर्थात ८८ लाख युनिट विजुली भारत निर्यात गरेको भट्टराईले बताए । भारतले नेपाललाई ३ सय २५ मेगावाट विजुली भारतमा बेच्ने अनुमति पाएको भएपनि कहिलेकाहीँ बढी विजुली पनि बेचिरहेको प्रवक्ता भट्टराईले बिजखबरलाई बताए । उनका अनुसार हाल नेपालले भारतमा अनुमति पाएको भन्दा ३० देखि ३५ मेगावाट विजुली बढी पनि पठाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL