Logo

सरकारलाई एफएनसीसीआईको पत्र : अहिले कर तिर्न सकिँदैन, असार मसान्तसम्म म्याद थप्नु

सरकारलाई एफएनसीसीआईको पत्र : अहिले कर तिर्न सकिँदैन, असार मसान्तसम्म म्याद थप्नु



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कर रकम बुझाउने म्याद अगामी असार मसान्तसम्म थप गर्न माग गरेको छ । सरकारले मंगलबार सूचना जारी गर्दै यही जेठ २५ गतेभित्र कर तिर्न उर्दी जारी गरे पछि महासंघले मंगलबार अर्थमन्त्रालयमा गई उक्त समयमा कर तिन नसक्ने भन्दै सरकारलाई पत्रमार्फत समय थप गर्न माग गरेको हो ।

laxmi

महासंघले उक्त पत्रमा भनेको छ, ‘कोभिड १९ का कारण २०७६ चैत्र ११ गतेदेखि मुलुक लगातार लकडाउनमा भएकोले अति आवश्यक केही उद्योग, व्यापार तथा व्यवसाय बाहेक अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय र निर्माण कार्यलगायत आर्थिक गतिविधि ठप्प प्रायः रहेको छ ।’

आर्थिक वर्षको बजेटले पनि मुलुकको समग्र अर्थतन्त्रले भोगिरहेको कठिन चुनौतिलाई स्वीकार गरिसकेको अवस्था रहेको स्मरण गराउँदै महासंघले यस्तो अवस्थामा आर्थिक कारोबार मात्र बन्द नभई उत्पादन, वितरणलगायत आपूर्ति प्रणाली समेत अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको पत्रमार्फत सरकारलाई जानकारी गराएको छ ।

महासंघले आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद २०७७ असार मसान्तसम्म थप गरी सबै उद्यमी व्यवसायीको मनोबल उच्च राख्न उपयुक्त औद्योगिक एवं व्यवसायिक वातावरण निर्माणमा सहयोग गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL