काठमाडौं । अर्थतन्त्रको पुनःनिर्माण र पुनरोत्थानका लागि निजीक्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि सरकारबाट आवश्यक सहयोग र सुरक्षाको अपेक्षा गरेको बताए ।
महासङ्घ र अन्तरराष्ट्रिय वित्त निगमले गरेको अध्ययनअनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छभने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ ।
साथै अध्यक्ष ढकालले व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता कायम गर्न पनि आग्रह गरेका छन् । उनले महासङ्घमार्फत देशैभरको क्षति विवरण सङ्कलन गरिरहेको र हालसम्म उपलब्ध तथ्याङ्कअनुसार करिब रु ८० अर्ब बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आकलन रहेको जानकारी गराए ।