काठमाडौं । आज नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदैछ। शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ। हिमालयकी छोरी ९पार्वती० भएकीले शैल पुत्री भनिएको हो।
दुर्गा भवानीका नौ स्वरूपमध्ये शैलपुत्री पनि एक हो। दाहिने हातमा त्रिशुल र बाँया हातमा कमलको फूल लिएर बसाहको सवारी गर्ने शैलपुत्री स्वरूपा देवीको जाज्वल्यमान स्वरूपको ध्यान मात्र गर्नेले पनि संकट टर्ने विश्वास गरिन्छ। देवी दुर्गा माताका नौ रूपमध्ये पहिलो रूप शैलपुत्री हुन् । मार्कण्डेय पुराणअनुसार पर्वतराज हिमालयकी पुत्री भएकी कारण उनलाई हिमालयराजकी छोरी, पार्वती, सेती, हेमवती वा शैलपुत्री नामले चिनिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन शैलपुत्रीको पूजा तथा आराधना गर्ने प्रचलन छ ।
कथाअनुसार दक्ष प्रजापतिले आयोजना गरेको विशाल यज्ञमा भगवान् शंकर र शतिदेवीलाई निमन्त्रणा दिइएन । बाबुले गरेको यज्ञमा सहभागी हुन चाहकी शतिदेवीलाई श्रीमहादेवले रोके पनि उनी आफ्ना आमा र बहिनीहरूसँग भेट गर्न भन्दै यज्ञस्थल पुगेकी थिइन् । त्यहाँ उनलाई अपमान गरिएको र महादेवलाई नाना प्रकारले गाली गरिएको सहन नसकी शतिदेवीले यज्ञकुण्डमा आफैँलाई समर्पण गरिन् । यो घटनापछि क्रुद्ध महादेवले आफ्ना गणहरूलाई पठाई यज्ञ पूर्णतः ध्वस्त गरिदिए।
यज्ञकुण्डमा देह त्याग गरेकी शतिदेवीले पुनर्जन्म लिएर हिमालयराजकी छोरीका रूपमा शैलपुत्री नामले परिचित भइन् । नवरात्रको पहिलो दिन स्नानादि नित्यकर्मपछि गंगाजल वा गाईको गहुँतले शुद्ध गरी रातो वस्त्र ओछ्याएर शैलपुत्रीको तस्बिर स्थापना गरिन्छ । शुद्ध मन, वचन र कर्मले पूजन सामग्री तयार गरी धान, चामल, जौँ, तिल, कुश, पञ्चामृत, अबिर, केशरी, सिन्दूर, फलफूल, पकवान्न, धूप, बत्ति, कपूर, फूलमाला आदि अर्पण गर्ने प्रचलन छ ।
पूर्व, उत्तर वा पश्चिम फर्केर शुद्ध आसनमा बसेर दियो प्रज्वलन गरी सङ्कल्प उच्चारणसहित ॐ देवी शैलपुत्र्यै नमः मन्त्र ११, २१ वा १०८ पटक जप गर्नुपर्ने शास्त्रीय उल्लेख छ । सङ्कल्पपछि गणेश पूजा गरी वरुण कलशमा ब्रह्माण्डका सम्पूर्ण देवी–देवताहरूको आवाहन गरी कलश पूजन सम्पन्न गरिन्छ । शास्त्रअनुसार शैलपुत्रीको पूजा गर्दा मानसिक शान्ति, पारिवारिक सुख, आध्यात्मिक उन्नति र शक्ति जागृत हुने विश्वास गरिएको छ ।