Logo

बिद्युतीय हव बन्दै लमजुङ, ५ जलविद्युत आयोजनामा २३ अर्बभन्दा बढी लगानी

बिद्युतीय हव बन्दै लमजुङ, ५ जलविद्युत आयोजनामा २३ अर्बभन्दा बढी लगानी



काठमाडौं । लमजुङमा २३ अर्ब रुपैयाँभन्दा बढी लगानीमा ५ जलविद्युत आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न ५ जलविद्युतका आयोजना तिब्रगतीमा निर्माण भइरहेका हुन ।

पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको आयोजना निर्माणाधीन छन् । त्यस्तै दोर्दीखोला जलविद्युत कम्पनीले १२ दशमलब १ मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको ४ मेगावाट क्षमताको जलविद्युत् आयोजना दोर्दी करिडोरमा निर्माणाधीन अवस्थामा रहेका छन् ।

ती मध्ये अधिकांशको ५५ देखि ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यस्तै दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि २ मेगावाटको छ्याङ्दी जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेको छ । उक्त निर्माणाधीन आयोजना निजी क्षेत्र र स्थानीयको लगानीमा निर्माण भएको हो । यी आयोजना निर्माण सम्पन्नपश्चात् १ सय २५ मेवा बिजुली उत्पादन हुनेछ । यहाँ निर्माण भएका आयोजनाबाट एक वर्षदेखि पाँच वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।

दोर्दी खोलामा हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेवाको दोर्दी खोला र लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेवाको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको निर्माण अब एक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको छ । यी आयोजनाको निर्माण ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।

त्यस्तै दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा ४ मेवाको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । दोर्दी करिडोरकै सबैभन्दा ठूलो क्षमताको पिपुल्स हाइड्रोपावरले निर्माण गरेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’को ५५ प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनीद्वारा निर्माणाधीन १२.१ मेगावाटको दोर्दी–१ को निर्माणकार्य ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ ।

दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरले सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजना कूल ८ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान लगानीमा निर्माण भइरहेको छ । उक्त आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको मात्र २७ करोड रुपैयाँ लगानी रहेको छ ।
२७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना ३ अर्ब ८६ करोड लगानीमा निर्माण भइरहेको छ ।

यस आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएन) ३६ र स्थानीय सर्वसाधारणको ३० प्रतिशत र आइएमई गुप्रको ३४ प्रतिशत लगानी रहेको छ । त्यस्तै लिबर्टी इनर्जी कम्पनीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाटको कूल ४ अर्ब ६३ करोड लगानीमा निर्माण थालिएको हो । दोर्दी खोलामै लमजुङ विद्युत विकास कम्पनी (लेड्को) को सहायक कम्पनी दोर्दीखोला जलविद्युत कम्पनीले दोर्दी–१ (१२.१ मेगावाट) आयोजना निर्माण गरिरहेको छ ।

यस आयोजना करिब २ अर्ब ३९ करोडको लागतमा निर्माण भइरहेको आयोजनाले जानकारी दिएको छ । दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि दुई मेगावाटको छ्याङ्दी जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेका प्रवद्र्धक छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा ४ मेगावाटको जलविद्युत आयोजना ८० करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिरहेको आयोजनाले जानकारी दिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL