Logo

पेट्रोलियम उत्खनन गर्न चिनियाँ टोली बैशाखभित्रै नेपालमा, ३ बर्षसम्म अन्वेषण गर्ने

पेट्रोलियम उत्खनन गर्न चिनियाँ टोली बैशाखभित्रै नेपालमा, ३ बर्षसम्म अन्वेषण गर्ने



काठमाडौं । पेट्रोलियम उत्खननका लागि चिनियाँ टोली बैशाख महिनाभित्रै नेपाल आउने भएको छ । दैलेखको पादुकामा पेट्रोलियम पदार्थको सम्भाव्यता देखिएपछि चिनियाँ सरकारकै सहयोगमा उक्त स्थानमा पेट्रोलियम पदार्थको अध्ययन तथा अन्वेषणका लागि चिनियाँ टोली नेपाल आउन लागेको हो ।

हालसम्म नेपालका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको सम्भाव्यता भएको पत्ता लगाइएपनि सोही अनुसार अनुसन्धान भने गर्न सकिएको थिएन । अबका सल दिनमा दैलेखको पादुकामा रहेको खनिज तेलको खानीको बारेमा विस्तृत अध्ययन गर्नका लागि चिनियाँ टोली बैशाखको अन्त्यसम्ममा आउने खानी तथा भुगर्भ विभागका पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाका उपमहानिर्देशक सुधिर रजौरेले जानकारी दिए ।

उनका अनुसार २०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषणसम्बन्धी द्विपक्षीय सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीमा हस्ताक्षर भएपछि उक्त खानीको अन्वेषण गर्ने बाटो खुलेको हो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा उक्त समझदारी भएको थियो ।

यस्तै गत फागुन १६ गते खानी तथा भूगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेबीच चीनमा खानी अन्वेषण कार्यान्वयन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । बैशाखको अन्त्यसम्ममा नेपाल आउने चिनियाँ टोलीले दैलेखको उक्त क्षेत्रमा पेट्रोलियम खानीको विस्तृत अन्वेषण, अध्ययन तथा ड्रिलिङको काम गर्ने उपमहानिर्देशक रजौरेले बिजखबरलाई जानकारी दिए ।

उनका अनुसार उक्त टोलीले आगामी ३ बर्षसम्म उक्त क्षेत्रमा विभिन्न ड्रिलिङ गर्नुका साथै सोही अनुसार आर्थिक रुपमा सम्भाव्य छ छैन यसको भण्डार कती छ भनेर पत्ता लगाउने छ । सरकारले गत पुसमा खानी अन्वेषण तथा अध्ययनको सम्झौताका लागि स्वीकृति दिएको थियो ।

मोरङको बाहुनी भन्ने स्थानमा २०४२ नेपाल, इटाली, स्विटजरल्याण्ड र नेदरल्याण्ड्सका प्रतिनिधिको सहभागितामा गरिएको अध्ययनले पेट्रोल रहेको पत्ता लगाएको थियो । इटालीको साइपम नामक कम्पनीले ३ हजार ५ सय मिटर बराबरको ड्रिलिङ गरी पेट्रोलियम पदार्थ रहेको पत्ता लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL